हाम्रा भावी सन्तान कस्ता होलान्? के उनीहरुका अंगहरु पुनः परिवर्तन गर्न मिल्ने वा आफैं पलाउन सक्ने हुनेछन्? कि अत्याधुनिक मेसिनहरुले बनेका, आँखामा क्यामेरा, प्रोजेक्टर-जडित साइबोर्ग हुनेछन्? के मानव जैविक र कृतिम प्रविधीको समिश्रण हुनेछ? अथवा अझ अग्ला वा होचा, दुब्ला-पातला वा विशाल, छुट्टै मुहारका विशेषता र छालाको रंग भएका हुनेछन्?

भविष्यबारे उत्सुकता सुल्झाउन हाम्रो इतिहासको पाना पल्टाउनु पर्नेहुन्छ। सुरुवातका लागि, त्यस समयमा जाऔँ, जति बेला होमोसेपिन्स (अहिलेको मानव प्रजाती) नै थिएनन्। १० लाख वर्षअघि मानवका केही भिन्‍न प्रजातीहरु थिए। त्यतिबेलाका होमो हाइडेलबर्जेन्सिस  अलि-अलि होमोइरेक्टस र आधुनिक मानवसँग मिल्दाजुल्दा थिए तर नियान्डरथलभन्दा प्राचिन पनि।

बदलिँदो पृथ्वीसँगै अन्तिम १० हजार वर्षमा मानव प्रजातीमा पनि द्रुत गतिमा बदलाव देखिएको छ। कृषि-उत्पादनको उपलब्धता र बदलिँदो जीवनशैलीले स्वास्थ्य जटिलता पनि सिर्जना गरेको छ, जसलाई विज्ञानले निको पनि पारेको छ।

‘लुक्स’का आधारमा मानव पहिलेभन्दा अलि मोटो र अग्लो भएको छ। तर भविष्यमा तीव्र जनसंख्या वृद्धि र खाद्यान्‍नको अभावका कारण मानव साना हुनसक्ने अनुमान थोमस मेलन्डको छ। थोमस आर्हस विश्वविद्यालय डेनमार्कमा बायो-इन्फरम्याटिक्सका एसोसिएट प्रोफेसर हुन्।

जनसंख्या बढेसँगै मानिसले आफैंलाई धेरै मान्छेहरुका वरिपरि बस्‍न सक्षम बनाउनेछ। पहिलेको सिकारी युगमा दिनहुँ आधा मुट्ठी मान्छेसँग अन्तर्क्रिया हुन्थ्यो, जुन अहिले बदलिएको छ। मेलन्डका अनुसार भविष्यका मानव जातिका लागि मान्छेको नाम याद गर्नु पनि अति आवश्यक अनि चुनौतिपूर्ण कार्य बन्‍नेछ।

यहि चुनौतीको सामना गर्न प्रविधीको उपयोग अपरिहार्य हुनेछ। ‘दिमागमा प्रत्यारोपण गरिएको ‘चिप’ले नाम याद गराउनेछ,’ थोमस भन्छन्, ‘हामीलाई थाहा छ कस्ता वंशाणुले बनेको दिमाग नाम याद गर्न अब्बल हुन्छ। त्यसैलाई अलिकति थपिदिए पुगिहाल्यो। यो सब सुन्दा कुनै वैज्ञानिक उपन्यासभन्दा कम नसुनिएला तर अहिले पनि सम्भव छ। अहिले नै प्रत्यारोपण गरिहाल्न मिल्दैन किनभने यो अझै परीक्षण अवधिमै छ। तर कसरी के-के गर्ने भन्ने ज्ञान हाम्रा वैज्ञानिकसँग नि:सन्देह छ।’

‘जैविक सम्भाव्यतामा होइन अब प्राविधिक सम्भाव्यतामा प्रश्न गर्नुपर्छ। हाल ‘पेसमेसकर’ जस्ता प्रत्यारोपणले मानव शरीरका अशक्त अंगहरुलाई टेवा पुर्‍याएका छन्। भविष्यमा त्यस्ता प्रत्यारोपणले व्यक्तिगत विकासमै समेत मद्दत पुर्‍याउनेछन्। शरीरभित्रका अत्यावश्यक अंगहरुका अतिरिक्त बाहिरबाट प्रस्टै देखिने अंगहरुको प्रत्यारोपण पनि हुनेछन्। जस्तै कृतिम क्यामेरा जडित आँखा जसले विभिन्‍न रंगहरुका तरंग पढ्न सक्नेछन्।

हामी सबैले ‘डिजाइनर बच्चा’का बारेमा त सुनेका छौँ। ‘डिजाइनर बच्चा’ भनेका वैज्ञानिकद्वारा नियन्त्रित वातावरणमा हुर्काइएका मानवबच्चा हुन्, जसमा कुनै वंशाणुगत दोष हुँदैन।

हाल ‘पेसमेसकर’ जस्ता प्रत्यारोपणले मानव शरीरका अशक्त अंगहरुलाई टेवा पुर्‍याएजस्तै भविष्यमा त्यस्ता प्रत्यारोपणले व्यक्तिगत विकासमै समेत मद्दत पुर्‍याउनेछन्। शरीरभित्रका अत्यावश्यक अंगहरुका अतिरिक्त बाहिरबाट प्रस्टै देखिने अंगहरुको प्रत्यारोपण पनि हुनेछन्। जस्तै कृतिम क्यामेरा जडित आँखा जसले विभिन्‍न रंगहरुका तरंग पढ्न सक्नेछन्।

वैज्ञानिकहरुसँग यो प्रविधी अहिले नै उपलब्ध छ, तर यसको प्रयोग भने विवादास्पद छ। ठ्याक्कै के होला त भन्ने प्रश्नको उतर नभएका कारण विवादास्पद यो प्रक्रिया भविष्यमा अपनाउनु गलत नहुने मेलन्डको तर्क छ। यो प्रविधि प्रयोग हुन थालेको खण्डमा बुवाआमासँग आफ्नो बच्चा कस्तो बनाउने भन्‍ने कुराको पूर्ण नियन्त्रण हुनेछ।

‘अहिले कुकुरका बच्चामा प्रयोग गरिने प्रजनन विधि पछि मान्छेमा गरिनेछ,’ मेलन्ड भन्छन्। अहिलेका लागि यी सब काल्पनिक कथा बराबर छन्। तर, के जनसांख्यिक प्रवृत्तिहरुले हाम्रो भविष्यको ‘लूक्स’मा कस्तो परिवर्तन देखापर्ला भन्ने कुनै अन्दाज देला त?

‘लाखौँ वर्षपछि के होला भनेर भविष्यवाणी गर्नु विशुद्ध अनुमानमात्र हुन्छ, तर निकट भविष्यमा देखिन सक्ने भिन्‍नता भने हामी इन्फरम्याटिक्स प्रयोग गरेर बताउन सक्छौ,’ बायोइनफरम्याटिक्स तथा बिग डेटाका प्राध्यापक डाक्टर जेसन ए हड्सनले भने।

वैज्ञानिकहरुसँग विश्वभरका मानिसका जिनोम (वंशाणुको पूरा सेट)का नमुना छन्। जसका सहयोगले अनुवांशिकविदहरुले वंशाणुगत भिन्नता र जनसांख्यिक संरचनाबारे अझ गहिरो अध्ययन गर्ने मौका पाएका छन्। ठ्याक्कै कस्तो वंशाणुगत भिन्नता देखापर्ला भनेर भन्‍न नसके पनि बायोइन्फरम्याटिक्समा कार्यरत वैज्ञानिकहरु केही ‘आईडिया’ प्राप्तिको औचित्यका साथ जनसांख्यिक ट्रेन्ड (प्रवृत्ति)हरुको अध्ययन गरिरहेका छन्।

हड्सन सहरी र ग्रामीण भेगका मानिसहरुमा उल्लेख्य वंशाणुगत भिन्‍नता देखा पर्ने अनुमान लगाउँछन्। ‘सबैजसो बसाईँ-सराई गाउँबाट सहरतिर हुन्छ। त्यसैले तपाईँले ग्रामिण क्षेत्रमाभन्दा सहरमा बढि जेनेटिक विविधता देख्नसक्नुहुनेछ,’ उनी भन्छन्।

यस्ता विविधता सबैतिर एकनास हुनेछन् भनेर दाबा गर्न भने मिल्दैन। उदाहरणका लागि, बेलायतका ग्रामीण क्षेत्रहरुमा जनसांख्यिक विविधता एकदमै कम छ। त्यहाँ धेरैजसो लामो समयदेखि बसोबास गर्दै आएका ‘पुर्ख्यौली’ बेलायती बस्छन्। तर सहरी क्षेत्रमा भने आप्रवासीहरुको घुइँचो छ।

कुनै समुदायको जनसंख्या वृद्धिदर धेरै छ, कुनैको कम छ। जस्तै अफ्रिकाको जनसंख्या वृद्धिदर उच्च छ। त्यसैले उनीहरुमा बाहिरी विश्वको दाँजोमा जेनेटिक परिवर्तन उच्च आवृत्तिमा हुन्छ। गोरा छाला भएका मानिसहरुको जनसंख्या वृद्धिदर न्युन छ। सोही आधारमा हड्सनका अनुसार भविष्यमा कालो छाला भएका मानिसहरुको जनसंख्या धेरै हुनेछ।

यी सब भविष्यवाणी तथा अनुमानहरुले छुटाएको कुरो भनेको मानव जातीले पृथ्वीभन्दा बाहिर उपनिवेश बनाए के होला त भन्‍ने हो। मान्छेले पृथ्वी छाडेर मंगल ग्रहमा बस्‍न थाले हाम्रो इभोलुसन कस्तो होला? कम गुरुत्वाकर्षण भएका कारण हाम्रा मांशपेशीले आकार बदल्लान्। हाम्रा हात-खुट्टा लम्बिएलान्। चिसोका कारण हाम्रो आकार बढ्ला, शरीर रौँले ढाकिएला।

यसको कुनै जवाफ वैज्ञानिकसँग पनि छैन। थाहा भएको कुरा भनेको वंशाणुगत भिन्‍नता बढिरहेको छ। ‘विश्वभर प्रत्येक वर्ष साढे ३ अर्ब जोडीमध्ये हरेकमा लगभग दुईवटा म्युटेशन (उत्परिवर्तन) देखापरिरहेका छन्, हड्सन भन्छन्, ‘र यस अचम्मको उत्परिवर्तनले १० लाख वर्षपछि पनि हामी अहिलेकै जस्तो देखिन्छौँ भन्ने कुरालाई असम्भव सावित गरेको छ।’

(बीबीसी अर्थमा प्रकाशित सामग्रीको नेपाली भावानुवाद।)

तपाईको प्रतिक्रिया