काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति टुंगो नलागे पनि उम्मेदवारी दिने घोषणा लहर चलेको छ। विशेषगरी काठमाडौं जिल्लामा उम्मदेवारी दिने सोच बनाएकाहरूले उम्मेदवारी घोषणा गर्न थालेका हुन्।

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि छन्।

रञ्जु दर्शना
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलकी काठमाडौं महानगरकी मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचित नभएपनि विजेता उम्मेदवारलाई टक्कर दिएकी थिइन्। त्यसबेला २३ हजार ४ सय ३९ मत ल्याएकी रञ्जुले यसपालि प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेकी छन्।

तत्कालीन विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासँगै उनले २०७० बाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। पार्टीको नाम मात्र सुनेकी दर्शनाले फेसबुकबाटै नेपाल बन्दविरुद्धको अभियान ‘नेपाल खुल्ला छ’ सहभागी हुन नारायण गोपालचोक पुगेकी थिइन्। अभियानमा सहभागी हुन पुगेका उनका पाइला उतैबाट आयोजक पार्टीको राजनीतितर्फ मोडिए।

नेपाल समय

दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार थिए। उज्वललाई जिताउन उनी चुनाव प्रचारप्रसारमा मजाले खटेकी थिइन्।

२०७४ को स्थानीय चुनावपछि रवीन्द्र मिश्रले खोलेको साझा पार्टी र उज्वल थापा अध्यक्ष बनेको पार्टी विवेकशील मिलेर विवेकशील साझा पार्टी बन्यो। तर यो एकता लामो समय रहेन। दल विभाजन भएपछि रञ्जु पूर्वविवेकशीलसँगै नजिकिइन्। कोभिडसँग जुध्दाजुध्दै उज्वलको मृत्यु भयो।

उज्वलको लिगेसी थाम्ने जिम्मेवारी मिलन पाण्डेलगायतको काँधमा आएको छ। रञ्जुले पनि त्यसैमा साथ दिएकी छन्। उज्वलले चुनाव लडेकै काठमाडौं ५ बाट उम्मेदवारी दिने तयारी रञ्जुको छ।

‘मैले पार्टीबाट राजीनामा दिएको ६ महिना भइसक्यो। हो म यसबाट प्रतिनिधिसभाको सदस्यमा स्वतन्त्रतर्फ उम्मेदवारी दिँदैछु। यसबारे मेरो टिममा छलफल भइरहेको छ,’ दर्शनाले बताइन्। तर उनले टिममा कोको छन् भन्ने खुलाएकी छैनन्। काठमाडौंका मेयर बालेन्द्र शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको टिमसँग दर्शना निकट भएको भनिएपनि यसलाई उनले खुलाएकी छैनन्।

गत प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए। यसअघि नेपाली कांग्रेसका डा प्रकाशशरण महत पोखरेलका निकटतम प्रतिस्पर्धी बनेका थिए।

पुकार बम 
जेठ २० गते ल फेसबुकमा पुकार बमले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरे। ‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ। अब संसदमा पुगरे नागरिकको आवाज बोल्छु,’ उम्मेदवारी घोषणासँगै उनले लेखेका छन्।

नेपाल समय

अहिले उनले फेसबुक प्रोफाइलको परिचयमा नै आफूलार्ई प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नं १’ लेखेर चिनाइरहेका छन्। लामो समयदेखि सामाजिक अभियन्ताको छवि बनाएका बम युवापिँढीमाझ ‘पपुलर’ छन्।

डा गोविन्द केसीको अभियानदेखि ‘इनफ इज इनफ’ अभियानमा पनि उनी सक्रिय थिए। उनको अभियान सामाजिक सञ्जामा ट्रेन्डिङमा परेको थियो।

बमका अनुसार उनी २०६९ सालदेखि नै सामाजिक अभियानमा संलग्न छन्। ‘अकुपाई बालुवाटार’ अभियानदेखि डाक्टर गोविन्द केसीको सत्याग्रहमा नेतृत्वदायी भूमिकाबारे उनी आफैँले फेसबुकमा लेखेका छन्।

समाज तथा मानवशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका बम पेशाले लेक्चरर हुन्। उनलाई पनि मेयरमा बालेनलाई जिताउने टिमले अघि सारेको आशंका गरिएको छ।

सुमन सायमी
प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि चर्चामा रहेको अर्को नाम हो सुमन सायमी। स्थानीय तहको निर्वाचन सकिए तगत्तै कुरा गर्दै सायमीले आफू प्रतिनिधि सभा सदस्यका लागि उठ्ने खुलासा गरेका थिए।

मेयर बालेनसहितको नयाँ पार्टी गठनको तयारी भइरहेको र आफू क्षेत्र नम्बर ८ बाट  चुनाव लड्ने सायमीको भनाइ थियो। ‘प्रतिनिधि सभा सदस्यका लागि उठ्ने मात्र होइन, जित्ने गरी उठनेछु,’ सायमीले भनेका छन्।

काठमाडौं मेयरका लागि भएको चुनावी प्रतिस्पर्धामा उनले १३ हजार ७७० मत प्राप्त गरेका छन्। यही मतलाई विस्तार गरेर प्रतिनिधिसभा चुनावमा प्रथम हुने विश्वास उनले बोकेका छन्।

सायमी काठमाडौंको भूमि, भाषा, सम्पदा र संस्कृति बचाउन विगत १० वर्षदेखि निरन्तर आन्दोलनमा छन्। प्रतिस्पर्धी मेयर बालेन शाहका मुद्दामा समर्थन गर्ने उनलाई प्रतिनिधिसभाको चुनावमा शाह समर्थन प्राप्त हुने बताइएको छ।

मानुषी यमी भट्टराई 

स्वतन्त्र भएरै चुनाव जित्ने विश्वासले उम्मेदवार दिने घोषणा गर्नहरुको चर्चाबीच जसपाकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई फरक राजनैतिक विचारका साथ चर्चामा छिन्।

‘म संगठनमा विश्वास गर्छु। एक्लाएक्लै सबै काम सम्भव हुँदैन जस्तो लाग्छ,’ उनले भनेकी छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईले काठमाडौंबाट प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट आफूले उम्मेदवारी दिने उनको घोषणा छ।

 

नेपाल समय

राजनैतिक पृष्ठभूमिमा जन्मिएर राजनीतिमा सक्रिय मानुषीलाई सत्तारुढ गठबन्धनमा जसपा पनि रहेकाले वर्तमान सत्ता  गठबन्धनभित्र कायम रहे आफूलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ। गठबन्धनको समर्थन नपाएपनि आफू दलबाट उम्मेदवार बन्ने दृढता उनले संकेत गरेकी छन्।

०७० सालमा संविधानसभामा क्षेत्र ७ बाट पराजित भएकी आमा हिसिला यमीले ०६४ मा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएकी थिइन्। लामो समय माओवादी राजनीति गरेका उनका बाबु डा बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका व्यक्तित्व हुन्।

 

सञ्जय श्रेष्ठ
सामाजिक सञ्जालबाटै आफ्नो उम्मेदवारी दिने घोषणा गर्न अर्को नाम हो सञ्जय श्रेष्ठ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफनो तस्बिरसहित उनले आफूलाई राप्रपाले टिकट नदिएपनि स्वतन्त्र उम्मेदवारी दिने लेखेका छन्।
नेपाल समय
‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिएपनि मैले आउदो मङ्सिर ताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरेँ। अब बाँकी तपाईंहरुको साथ र विश्वास,’ उनको पोस्टमा उल्लेख छ।

२०७० सालमा दोस्रो संविधान सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। आफू विगत १२ वर्षदेखि राजनीतिमा सक्रिय भएको बताउने उनलाई धेरैले गायकका रुपमा चिन्छन्।

मुकुन्द घिमिरे 
रत्नपार्कको रुखबाट गरेको भाषणले धेरैसम्म पुगेका मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ अहिले सामाजिक सञ्जालमा उसैगरी आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्। युट्युबदेखि फेसबुकमा हरेक राजनैतिक विषयमा टिप्पणी गरिहालन्ने मुकुन्देको बोल्ने र लेख्ने शैलीलाई धेरैले रुचाएका पनि छन्। यद्यपि मनोरञ्जनका लागि मात्र उनका कुरा रुचाइएको विश्लेषण पनि गरिन्छ।

नेपाल समय

मुकुन्देले झण्डै एक महिना अघि प्रतिनिधि सभाको सदस्यका लागि आफ्नो उम्मेदवारी हुने घोषणा गरिसकेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने घोषणा मात्र गरेनन् सूर्य चिह्नबाट उम्मेदवारी दिनसक्ने बताएका थिए। सूर्यबाट टिकट नपाए आफू अर्का ठूला दल खोज्ने र त्यो पनि नभए स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ।

मदन भण्डारीको विरासत थाम्न आफूले काठमाडौं क्षेत्र नम्बर ४ रोजेको उनले उल्लेख गरेका छन्। गत प्रतिनिधि सभा चुनावमा काठमाडौं-४ बाट नेपाली कांग्रेसका गगन थापा विजयी भएका थिए।

तपाईको प्रतिक्रिया