काठमाडौं । यसवर्षको अन्तर्राष्ट्रिय दर्नाल अवार्ड कर्णाली कला केन्द्र, मुगु र इक्वेलिटी ल्याब अमेरिकालाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

यी दुई संस्थाले सामाजिक न्यायको क्षेत्रमा पु¥याएका योगदानलाई कदर गर्दै सरिता परियार ट्रष्टले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सामाजिक न्यायकालागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड–२०२२ प्रदान गरेको हो ।

दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति संघर्ष गरेका सामाजिक अभियन्ता स्वर्गीय सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशी ५ लाख रुपैयाँ छ ।

पुरस्कृत कर्णाली कला केन्द्र मुगुले कर्णालीका गाउँ गाउँमा नाटक प्रदर्शन गर्ने गरेको छ भने इक्विलिटी ल्याबले अमेरिकामा रहेका नेपालहरुमाझ दलित न्यायकालागि काम गर्दै आएको छ ।

त्यस्तै, अवार्डले यसवर्ष पत्रकार ध्रुबसत्य परियार र मानव बेचबिखनविरुद्वका अभियन्ता करुणा त्रिखतीलाई सम्मानसमेत गरेको छ ।

दर्नालको अमेरिकामा सडक दुर्घटनामा परी २०६८ साउन ३० गते असामयिक निधन भएको थियो । उनको सम्झनामा श्रीमती सरिता नेतृत्वको ट्रष्टले ०७३ देखि दर्नाल अवार्ड वितरण गर्दै आएको छ ।

लेखक एवम् ट्रष्टकी संस्थापक परियारले दर्नाल अवार्ड आमसामाजिक न्यायप्रेमीहरुको सम्मान र आत्मसम्मानको अभियान भएको बताइन् । ‘यो सुभाष दर्नाललाई देवत्वकरण गर्न खोजिएको होइन । यो सबै दलित र सामाजिक न्याय चाहने व्यक्ति र संस्थाहरुको आत्मासम्मानको अभियान हो,’ उनले भनिन् ।

उनले नेपालदेखि अमेरिकासम्म जात व्यवस्थाकाविरुद्व लडिरहेका व्यक्ति र संस्थाहरु दर्नाल अवार्डको अङ्ग बन्न सक्ने बताइन् । ‘चाहे नेपाल होस् वा अमेरिका, जहाँ सुकैका व्यक्ति र संस्थाले जात व्यवस्थाको विरोधी अभियानको अंग बन्नुहुन्छ भने हामी उहाँहरुसँग सहकार्य गर्न चाहान्छौँ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया