तेह्रथुम । जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुमानसिंह इस्बो चयन भएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट समाजवादीका इस्वो प्रमुखमा निर्वाचित भएका हुन् । यहाँ समाजवादीले कुनै पालिकामा प्रमुख वा उपप्रमुख पदमा जितेको छैन ।

जिल्ला समन्वय समिति जिल्ला सभाबाट गठन हुन्छ । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्ला सभाका सदस्य हुन्छन् । १२ सदस्यीय जिल्ला सभामा एमाले ५, कांग्रेस ५ र माओवादी केन्द्र २ छन् ।

कांग्रेस र माओवादी केन्द्र मिलेर गठबन्धनको सहमति अनुसार समाजवादीका इस्वोलाई प्रमुखमा निर्वाचित गरेका हुन् ।

इस्वो आठराई गाउँपालिका-२ बाट वडा सदस्य निर्वाचित भएका थिए । यसअघि आठराई गाउँपालिका पुर्वअध्यक्ष रहेका मानबहादुर लिम्बुलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने गठबन्धनमा सहमति भएपनि उनी वडामै पराजित भएपछि समाजवादीले इस्वोलाई अगाडि सारेको हो ।

जिल्लामा २ नगरपालिका र ४ गाउँपालिका छन् । पालिकामा निल खाएको समाजवादीले गठबन्धनकै कारण जिल्ला समन्वय समितिको नेतृत्व पाएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद कार्की निर्वाचित भएका छन् ।

सदस्यहरुमा नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रबाट ४ जना छन् । जसमा शान्ता तामाङ, कल्पना बिक, डिकबहादुर बिक, हर्कप्रसाद लिम्बू , फुर्वा शेर्पा, दिल प्रसाद लिम्बु र निस्मा मगर चयन भएका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले यहाँका ५ पालिकामा प्रमुख पदमा जितेको थियो ।

कांग्रेसले लालीगुराँस नगरपालिकामा मात्रै जितेको थियो । कांग्रेसले यसपटक पनि लालीगुराँस नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद एक्लै जितेको छ भने गठबन्धनबाट आठराई गाउँपालिका र फेदाप गाउँपालिकामा प्रमुख पदमा जितेको छ ।

पहिले पाँच स्थानीय तह जितेको एमाले यसपटक तीन वटामा खुम्चिएको छ । एमालेले म्याङलुङ, छथर र मेन्छ्यायेममा मात्रै जित निकालेको थियो ।

यसअघि जिल्लामा एमालेले एकलौटीरुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो । एमालेका शिवप्रसाद ढुंगाना जिल्ला समन्वय समितिको प्रमुख थिए भने एमालेकै प्रेमलता गौतम उपप्रमुख थिइन् ।

गठबन्धनबाट जिससको प्रमुख बनेका इस्वो र उपप्रमुख बनेका कार्कीलाई कांग्रेसकी केन्द्रीय सदस्य एवम् पुर्वराज्यमन्त्री सीता गुरुङले बधाई ज्ञापन गरेकी छिन् ।

तेह्रथुम नेकपा एकीकृत समाजवादीका नेता एवम् स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङको गृहजिल्ला हो । स्थानीय चुनावमा खापुङ महिनाैँसम्म जिल्ला बसेर खटेका थिए । तर, जिल्लामा समाजवादीले कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुख भने जितेनँ ।

तपाईको प्रतिक्रिया