काठमाडौं । गत शुक्रबार भारतीय सञ्‍चार माध्यममा प्रकाशित समाचारका कारण नेपालमा सनसनी मच्चियो। पञ्‍जाबका गायक तथा नेता सिद्धु मुसेवालाको हत्यामा संलग्‍न व्यक्तिहरू नेपालमा लुकेर बसेको र उनीहरूलाई खोज्‍न भारतीय प्रहरीको विशेष टोली काठमाडौं पुगेको समाचार थियो त्यो।

स्रोतको हवाला दिँदै भारतीय सञ्‍चार माध्यमले गरेको दाबीमा आधारित रहेर नेपाली सञ्‍चार माध्यममा पनि समाचार प्रकाशित भयो। तर, भारतीय प्रहरीको टोली काठमाडौं आए-नआएकोबारेमा नेपाल प्रहरीले पनि केही बताएको छैन। पञ्‍जाब प्रहरीले मुसेवालाको हत्यामा संलग्‍न दुई व्यक्तिलाई पक्राउ गरेको केही घण्टापछि भारतीय विशेष टोलीलाई नेपाल पठाइएको भारतीय सञ्‍चार माध्यमले दाबी गरेका थिए।

भारतमा कुनै ठूला अपराध हुँदा नेपालको नाम जोडिनु नयाँ विषय होइन। यसअघिका ठूला घटनामा नेपाल जोडिएका प्रशस्त उदाहरण छन्। सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध विष्फोटपछि अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगीहरूले नेपालमा आश्रय लिएको खुलासा भएयता निरन्तर भारतमा कुनै ठूला घटना भएमा नेपाली भूमि प्रयोग भएको हुन सक्ने आशंका अद्यापि कायम छ।

मुम्बई विष्फोटपछि नेपाल पसेको अन्डरवर्ल्ड समूहले यहाँ पनि आफ्नो जालो विस्तार गरेको सत्य हो। तर, पछिल्ला वर्षमा अन्डरवर्ल्डको जालो नेपालमा कमजोर बनेको पाइएको थियो। खासगरी, भारतीय नक्कली नोटको कारोबार, लागू औषध ओसारपसार, हुण्डी, सुन तस्करीलगायत अपराधमा अन्डरवर्ल्ड कनेक्सन देखिँदै आएको पनि छ।

डिसेम्बर १९९९ मा काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा आतंकवादी संगठन जैस-ए-मोहम्मदको संलग्‍नता खुलेको थियो। त्यो संगठनसँग अन्तर्राष्ट्रिय आतंकवादी सञ्‍जाल अलकायदा जोडिएको थियो। सन् २००१ मा जैस-ए-मोहम्मदले दिल्लीस्थित भारतीय संसद भवनमा आक्रमण गरेपछि त्यसका लागि उक्त आतंकवादी संगठनले नेपाली भूमि पनि प्रयोग गरेको आरोप लागेको थियो।

१५ असार ०५५ मा काठमाडौं सिफलमा मारिएका मिर्जा दिलसाद वेग त्यसरी अन्डरवर्ल्डमा जोडिएका राप्रपाका नेता थिए। उनीपछि नेपालमा हत्याका शृंखला नै चले। २४ भदौ ०६३ मा नयाँ बानेश्‍वरमा कमलसिंह नेपाली, १९ असोज ०६४ मा नेपालगञ्‍जमा अब्दुल माजिद मनिहार, १० पुस ०६६ मा रुपन्देहीमा सौकत अली वेग, २४ माघ ०६६ मा लाजिम्पाटमा जमिम शाह, ९ असोज ०६८ मा काठमाडौं घण्टाघरमा फैजान अहमद, १८ असोज ०७० मा बारमा मोहम्मद आलमको हत्यामा अन्डरवर्ल्ड कनेक्सन देखिएको थियो। र, २६ फागुन ०६७ मा केन्द्रीय कारागारमै छिरेर युनुश अन्सारीमाथि गरिएको गोली प्रहारमा पनि अन्डरवर्ल्ड कनेक्सन खुलेको थियो।

त्यसयता हत्याका शृंखला त कम भए तर नेपाल सधैँ भारतको शंकाको घेरामा छँदैछ। त्यही शंकाको उपज हो, पञ्‍जाबी गायक मुसेवालाको हत्यामा संलग्‍नहरू नेपाल आएर छिपेको भारतीय सञ्‍चार माध्यमको दाबी।

कतिसम्म भने भारतमा मिर्गौला तस्करीमा संलग्‍न डा. अमित कुमार सन् २००८ मा नेपालको चितवनबाट पक्राउ परेपछि भारतीय अपराधीहरूले नेपाललाई आश्रय स्थल बनाउने गरेको खुलासा भएको थियो।

सन् २०१३ मा भारतमा शृंखलाबद्ध बम विष्फोट गराएपछि पोखरामा आएर लुकेका आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनका प्रमुख यासिन भटकल र उनका सहयोगी असदुल्लाह अख्तर पक्राउ परेका थिए।

नेपालमा अपराध गरी भारतमा लुक्दै आएका सुनिल जयसवाललाई पनि भारतीय प्रहरीले पक्राउ गरी नेपाल पठाएको थियो। यस्तै, भारतका बब्लु दुबेलाई पनि काठमाडौंबाट नेपाल प्रहरीले पक्राउ गरी भारतलाई सुम्पेको थियो। यस्तै, अब्दुल करिम टुण्डा, याकुब मेननलगायत आतंकवादी गतिविधिमा संलग्‍न व्यक्तिहरूलाई पनि नेपाल प्रहरीको सहयोगमा भारतले नेपाली भूमिबाट पक्राउ गरेका उदाहरण छन्।

खुला सीमाका कारण जो कोही पनि सहजै आउजाउ गर्न सक्ने भएकाले नेपाली भूमि भारतीयहरूको शंकामा रहिरहेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। ‘यताका अपराधी भारत गएर बस्ने र उताका अपराधी यता आएर बस्ने पहिलेदेखिको चलन हो,’ उनी भन्छन्, ‘यसका साथै चिनजान, नातागोता र वैवाहिक सम्बन्धका कारण पनि अपराधीहरू दुवै मुलुकमा गएर लुक्ने गरेका छन्।’

तथापि, दुवैतर्फका सुरक्षा निकायबीच समन्वय र सहकार्य उच्चस्तरको छ। दुई मुलुकबीच सम्बन्धको न्यानो या चिसोपनाले कुनै फरक पार्ने गरेको छैन। जस्तो- ३ असोज ०७२ मा नेपालले नयाँ संविधान जारी गरेपछि भारतले तराई मधेशमा आन्दोलनको बहाना बनाएर नेपालमाथि नाकाबन्दी लगायो। त्यतिबेला पनि दुवै मुलुकका सुरक्षा निकायले एकअर्को मुलुकमा छिपेर बसेका अपराधीहरू आदानप्रदान गरिरहेकै थिए। त्यसैले दुवै मुलुकका अपराधीलाई एकअर्को देशमा पुगेर लुक्न सजिलो छैन।

तपाईको प्रतिक्रिया