बाँके । सोह्र बर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा  बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन्।

पक्राउ परेका हेमराज थारु र पीडित किशोरीबीच सामाजिक सञ्जालमार्फत चिनजान रहेको र उनीहरुबीच प्रेमसम्बन्ध समेत रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाकै बयानका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए।

आफ्नो जन्मदिन मनाउन हेमराजले नै पीडित किशोरीलाई बोलाएको र किशोरी आएपछि हेमराज लगायत ७ जनाले सामूहिक बलात्कार गरेको डिएसपी न्यौपानेले बताए।उनका अनुसार हेमराजले बोलाएपछि पीडित किशोरी नेपालगञ्जबाट बस चढेर शुक्रबार साँझ बाँके–बर्दिया सिमानामा पर्ने मानखोला पुगेकी थिइन् । त्यहाँ हेमराज र उनका साथी बिक्रान्तले किशोरीलाई भेटेका थिए ।

बिक्रान्तकै मोटरसाइकल चढेर हेमराज र पीडित किशोरीसहित तीन जना बढैया ताल पुगेर घुमफिर गरी मानखोलाकै फुलबारी आएर जन्मदिनको भोज गरेको किशोरीले बयानमा बताएकी छन्।

बयानमा हेमराजले जन्मदिन मनाउन निराजन थारु, प्रविण थारु, प्रविण थारु र राजकुमार थारुलाई पनि बोलाएको र साँझ ६ बजेदेखि राति १२ बजेसम्म फुलबारीमै जन्मदिनको भोज गरेको बताएकी छन्।

जन्मदिन मनाउने क्रममा हेमराजका सबै साथीले घरेलु मदिरा सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुले किशोरीलाई पनि मदिरा पिलाएको र लठ्ठिएपछि पालैपालो बलात्कार गरेको डिएसपी न्यौपानेले बताए।

वैजनाथ–८ पिपरामा बिक्रान्तले बंगुर पालेका छन्। फुलबारीमा बलात्कार गरेपछि हेमराज र बिक्रान्तले किशोरीलाई सोही बंगुर फारम पुर्याएका थिए। बंगुर फारममा पनि थप दुई जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीसँगको वयानमा भनेको डिएसपी न्यौपानेले बताए।

बंगुर फाराममा बलात्कृत किशोरी अर्धचेत भइसकेकी थिइन् । अर्धचेत अवस्थामै किशोरीलाई बिक्रान्तको मोटरसाइकलमा राखेर तीनजना नेपालगञ्ज हानिए । नेपालगञ्जको गुलरिया सडकको उढरापुरमा चेकिङमा रहेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए।

किशोरी अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई तीनै जनालाई चौकीमा ल्याएर सोधपुछ गरेको र किशोरीको होस आएपछि उनैले सबै बताएको डिएसपी न्यौपानले बताए । पीडित किशोरीको वयानपछि थप पाँच जनालाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया