काठमाडौं । स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै दलसँग गठबन्धन या तालमेल गरेर अघि बढ्ने नीति बनाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा लोसपाले १६ र जनमत पार्टीले २ सिटमात्र जितेका थिए । २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको थियो । जबकि त्यसबेला राजपा मधेस प्रदेशमामात्र सहभागी थियो । त्योबेला राजपामा रहेका अधिकांश नेताहरू अहिले लोसपामा आबद्ध छन् । तर यसपटक लोसपाले सोचे जस्तो परिणाम ल्याउन सकेन ।

लोसपाको आइतबार सम्पन्न कार्यकारिणी समितिको बैठकले विचार मिल्ने दलसँग र लोसपाले उठाएका माग मुद्दाप्रति प्रतिबद्ध जनाउने दलसँग गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । कार्यकारिणी समितिका सदस्य केशव झाले संसदीय निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा पार्टीले सैद्धान्तिक निर्णय गरेको बताए ।

‘हामीले उठाएका माग मुद्दासँग प्रतिबद्ध हुने र विचार मिल्ने दलसँग गठबन्धन गरेर अघि बढ्ने पार्टीले निर्णय गरेको छ’ झाले भने, ‘अहिले नै यही पार्टीसँग गठबन्धन हुन्छ भनेर भन्न सकिन्न । तर गठबन्धन गरेर अघि बढ्ने हाम्रो नीति भएको छ ।’

शनिबारमात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपाका अध्यक्ष महन्थ ठाकुरले कुराकानी गरेका थिए । उक्त भेटमा ठाकुरले प्रधानमन्त्रीसँग आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूले गठबन्धन या तालमेल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

तपाईको प्रतिक्रिया