तेह्रथुम । आठराई गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले गाउँपालिका कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा प्राप्त गर्न सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क स्थापना गर्ने र सोही डेस्कमार्फत् सेवालाई प्रभावकारी र छिटोछरितो बनाउन पहल गर्ने निर्णय भएको हो । यहाँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिलकुमार पाहिम र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बलिराज इङनाम निर्वाचित भएका थिए।

बैठकले गाउँपालिकाको प्रवक्तामा कृष्णप्रसाद बाँस्कोटालाई नियुक्त गरेको छ । उनी वडा नं. ६ का अध्यक्ष हुन् । बैठकले आठराई गाउँपालिकाको विषयगत समिति कार्यविधि, २०७९ सर्वसम्मतले पारित गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजारमा मेडिकल अधिकृत नियुक्त गर्ने र त्यसकालागि प्रक्रिया अघि बढाउन पदपुर्ति समितिलाई निर्देशन गरेको छ ।
गाउँपालिकाले सक्रान्तिबजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटको पहिचान र व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसकालागि वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद ओलीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र हुने दुर्घटनामा घाइतको उपचारकालागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, उपाध्यक्ष बलिराज इङनामको संयोजकत्वमा योजना सुरपरिक्षण तथा अनुगमन समिति गठन भएको छ । प्रवक्ता बाँस्कोटाका अनुसार विभिन्न विषयगत समितिहरू समेत गठन भएका छन् ।

वडा नं. २ का अध्यक्ष भीमबहादुर लिम्बुको अध्यक्षतामा सामाजिक विकास समिति, वडा नं. ४ का अध्यक्ष खगेन्द्र गुरुङको संयोजकत्वमा पुर्वाधार विकास समिति, वडा नं. १ का अध्यक्ष प्रेमराज लिम्बुको संयोजकत्वमा आर्थिक विकास समिति र वडा नं. ३ का अध्यक्ष बुद्धिमान गुरुङको संयोजकत्वमा बन, बातावरण तथा विपद् व्यवस्थापन समिति गठन भएको छ ।

त्यस्तै, वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद ओलीको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया