काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर बनेका छन् । अघिल्लो निर्वाचनमा निकटतम प्रत्यासी बनेका हमालले यसपटक भने फराकिलो मतान्तरसहित जितेका हुन् ।

हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका निवर्तमान मेयर नृपबहादुर वडले १४ हजार ८१७ मत मात्रै पाए । हमालले १२ हजारभन्दा धेरै मतान्तरले जितेका छन् ।

उनी ०७४ को निर्वाचनमा वडसँग २ हजार ७ सय मतान्तरले पराजित भएका थिए । त्यो बेला वडले १४ हजार ३ सय २४ मत प्राप्त गरेका थिए भने हमालले ११ हजार ५ सय २७ मत । यसपटक हमालले अघिल्लो पटक आफूले पाएको मतभन्दा ठूलो मतान्तरले जित निकालेका छन् ।

२०७४ को निर्वाचनपछि हमाल विवेकशील साझा पार्टीसँग जोडिएका थिए । उनले पार्टीको सुदूरपश्चिम संयोजक भएर काम गरे । पार्टीको उम्मेदवार बन्दा अन्य पार्टीका मतदाता प्रभावित नहुने देखेपनि उनले गत फागुन दोस्रो साता पार्टीबाट राजीनामा दिएर उपमहानगरको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय हुँदै मेयर निर्वाचित भएका हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरेका छन् ।

०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाकालागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरुको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए । त्यसयता हमालले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त, कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए ।

कैलाली उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा हमालले सर्वोत्कृष्ट शाखाको पुरस्कार पाएका थिए, त्यसपछि धनगढीका व्यवसायीमाझ उनको प्रभाव बढेको थियो । पछि प्रधानमन्त्री शेरबहादुर देउवादेखि पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई २१ बुँदे माग, २१ किलो माला अभियान चलाएका उनले धनगढी विमानस्थल कालोपत्रे गर्न गरेको ‘एक रुपैयाँ’ अभियानको समेत नेतृत्व गरे, र प्रशंसा कमाए ।

सामाजिक क्षेत्रको त्यही लोकप्रियतालाई उनले स्थानीय चुनावमा उपयोग गरेका हुन् ।

हमालको जितले देउवा र आरजुलाई धक्का

धनगढीमा हमालको जितले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई धक्का लागेको छ । यो प्रधानमन्त्री पत्नी आरजु राणाको चुनाव क्षेत्र हो । विगतका निर्वाचनको परिणाम हेर्दा यो कांग्रेसको गढ नै मानिन्छ । पूर्वमेयर एवम् कांग्रेसको केन्द्रीय सदस्य रहेका नृपबहादुर वड प्रधानमन्त्री पत्नी राणाका प्रिय पात्र भएकै कारण उनी त्यहाँ दोहोरिएका थिए ।

मेयरमा वड दोहोरिए आफूलाई चुनाव जित्न सहज हुने प्रधानमन्त्री पत्नी राणाको विश्लेषण थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवाले यही क्षेत्रबाट चुनाव जितेका थिए । संघीय पुनर्संचरनापछि उपमहानगरबाहेक कैलारी गाउँपालिकाका दुई वडा मात्रै समेटिएको कैलाली क्षेत्र नं. ५ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री पत्नी राणा उम्मेदवार थिइन् ।

वाम गठबन्धनका कारण एमाले उम्मेदवार नारदमुनि राणाले चुनाव जिते । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि प्रधानमन्त्री पत्नी राणा यही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छिन् ।

तपाईको प्रतिक्रिया