जीवन खत्री चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित मेयर हुन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले एमालेका तर्फबाट उम्मेदवार विणा बास्तोलाभन्दा ३९० मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनी नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् । 

क्षेत्रफलका आधारमा भक्तपुरकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चाँगुनारायण नयाँ बस्ती विकास तथा कृषि, उद्योग तथा पर्यटनका लागि उपयुक्त क्षेत्रको रुपमा लिने गरिन्छ । यी क्षेत्रको समग्र विकास, सुशासन र जनचासोका विषयलाई सम्बोधन गर्न अब नगरपालिका के गर्छ ? प्रस्तुत छ, मेयर खत्रीसँग गरिएको कुराकानी । 

चाँगुनारायण नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको छ, कस्तो महशुस गर्दै हुनुहुन्छ ? 

चाँगुनारायण नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भइसकेपछि चाँगुनगरवासीले जुन भरोसा गरेर मतदान गर्नुभएको छ, त्यसले मेरो काँधमा कार्यभार थपिएको महशुस भएको छ ।  हाम्रो नगरमा विजयी भएका सम्पुर्ण साथीहरुको काँधमा त्याे जिम्मेवारी आएकाे छ । त्यसलाई पुरा गर्ने अभिभारा, जिम्मेवारी र उत्तरदायित्वको अनुभुति मैले गरेको छु ।

नगरपालिकाको मेयरको हैसियतमा तपाइँका प्राथमिकताहरु के के हुनेछन् ? 

चाँगुनारायण नगरपालिका नयाँ नगरपालिका हो । यहाँ सामान्य जनजीवनका कुराहरु पनि धेरै असहज, व्यथिति तथा विसङ्गति पनि त्यतिकै छन् । सर्वप्रथम यहाँका नागरिकको जीवनशैली सहज बनाउने सामान्य कुराहरुबाट मेरो कामहरु सुरु हुनेछ ।

विगतको नेतृत्वमा एमाले थियो अहिले काँग्रेस आयो । अब तपाइँहरुले जनतालाई राहत दिने कामहरु के के छन् ?

जनतालाई जनजिविकाको सवालमा पहिलो कदम चाल्ले छु । त्यसपछि नगरपालिकाले चाँगुवासीलाई दिने सेवा सुविधा एकदम सरल सहज बनाउनेछु । बिना भेदभाव नगरपालिका स्थानीय तहमा जनताको सेवकको रुपमा काम गर्ने छु ।

विगतमा भएका वेतिथी, विसङ्गति, भेदभाव र भष्टाचारलाई नागरिक सामु ल्याएर त्यसलाई रोकथाम गरेर हाम्राे नगरपालिका राम्रो नगरपालिका, शान्त नगरपालिका बनाउने अभियानमा कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले नगरपालिकालाई समृद्धि विकास र उन्नतिमा लानको लागि हामी निरन्तर रुपमा हामी दिनरात नभनि लाग्नेछौं ।

तपाइँ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभयो, उपमेयर एमालेबाट हुनुहुन्छ । अब कसरी सहकार्य गरेर अगाडि बढ्नुहुन्छ ?

हामी जनताको अभिमत लिनको लागि पार्टीको प्रतिनिधित्व पात्र मात्र हो । जनताले हामीलाई अनुमोदन गरिसकेपछि हामी चाँगु नगरवासी सबैका प्रतिनिधिका पात्र भएका कारणले गर्दा यहाँ काँग्रेस, एमाले, राप्रपा केही पनि हुँदैन । हामी सबै निर्वाचित जनप्रतिनिधि जनताका सेवक हौँ ।

संविधान कार्यन्वयन गर्ने कुराको  विगतमा भएका कमी कमजोरीलाई सुल्झ्याएर हामीले साच्चिकै सिंहदरबारको अधिकार स्थानीय तहमा ल्याउन जनप्रतिनिधिहरु चाहिँ भेदभाव रहित हुनुपर्दछ भनेर देखाउनका लागि पनि हामी यो दल र स्वार्थ भन्दा एक स्टेप माथि उठेर जनताको सेवामा लाग्नेछौं ।

चाँगुनारायण नगरपालिकाको मुख्य समस्या र तपाइँले दिने प्राथमिकताहरु के के हुन् ?

हाम्रो यो नगरपालिका भनेको नयाँ नगरपलिका हो । यहाँ धेरै कुराहरु प्राथामिकिकरण गरेर योजनाबद्ध रुपमा विकास गर्नेगरि यहाँको नागरिकका जनजीविकामा प्रत्यक्ष सरोकार गर्ने विषयहरुलाई पहिले हामी समाधान गर्छाै । ती वातावरण सहज बनाइसकेपछि हामी भौतिक पुर्वाधार विकास, समृद्धिका कुराहरुलाई योजनावद्ध रुपमा अगाडि बढाउँदै लैजान्छौं ।

पहिला १, २, ३ भन्नुभन्दा पनि हाम्रो घोषणापत्रमा जुन कुराहरु उल्लेख गरेको छ, त्यसलाई कार्यान्वयन पनि गर्दै जान्छौं । त्योभन्दा पनि अझ साना साना कुरा तर नागरिकले जैलेपनि दु:ख भोग्न परेका सामान्य कुराहरुलाई पनि व्यवस्थित तरिकाले नागरिकले महशुस गर्नेगरी काम गर्नेछौं । र हामीलाई मतदान दिएर जुन भरोसा हामीलाई दिनुभएको छ, त्यसलाई परिपुर्ति गर्नु नै हाम्रो पहिलो प्राथामिकता हो ।

चाँगुवासीलाई तपाइँको सन्देश के छ ?

चाँगुवासीलाई म मुरीमुरी धन्यवाद दिन चाहन्छु । जुन भरोसा, विश्वासले हामीलाई विजयी गराउनु भएको छ, त्यो भरोसा र विश्वासलाई हामी टुट्न दिने छैनौं । हाम्रो चाँगु भनेको एउटा घर हो । यो घरभित्र रहेका हामी चाँगु नगरवासी एउटा परिवारको रुपमा रहने छौं । कसैलाई पनि भेदभाव नगरी हामी लिएर जानेछौं ।

यो भन्दै लोकतान्त्रिक पद्धतिबाट हामीले जुन स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक प्रतिस्पर्धा गर्यौ भाइचाराको हिसाबले हामीले प्रतिस्पर्धा गर्यौ । यसमा कसैको हार जित भन्दा पनि प्रजातान्त्रिक पद्धतीलाई हामीले संथागत गर्ने अभ्यास अत्यन्त उत्कृष्ठ तरिकाले चाँगुनारायण नगरपालिकामा भएको छ ।

तमाम राजनीतिक दल, कर्मचारी, सुरक्षकर्मी, पत्रकार, वुद्धिजीवि, चाँगुवासी, युवा, दाजुभाइ, दिदी बहिनी, विद्याथीलाई हाम्रो लोकतान्त्रिक अभ्यासमा भातृत्वको तरिकाले यो निर्वाचन हामीले सम्पन्न गरेका छौं । यो नै हाम्रो पहिलो जित हो । अब हामी समृद्धी, विकास र चाँगुको सुखको यात्रामा लाग्छौं । यो नै उहाँहरुलाई अनुरोध गर्न चाहान्छु ।

तपाईको प्रतिक्रिया