बैतडी । पत्ताल भूमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवा जुटेका छन् । रोजगारीको सिलसिलामा देशबाहिर रहेका युवाहरुले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पत्ताल भूमेश्वर क्षेत्रको विकासका लागि सामाजिक सञ्जालमार्फत १ लाख रुपैयाँ बढी संकलन गरेका छन् ।

सुर्नया गाँउपालिका २ मा रहेको नेपालकैै गहिरो पत्ताल भुमेश्वर गुफाकासंरक्षण तथा प्रसारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गएको मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर रकम संकलन गरेका हुन् ।

अभियानका सहकोषाध्यक्ष बीरवहादुर विष्टका अनुसार अहिलेसम्म १ लाख १ हजार ६१७ रुपैंया संकलन भएको छ । संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मुलगेट र अन्य विकासका लागि खर्च गरिने छ । प्रवेशद्वार मुलगेट निर्माण पुस २० गतेदेखि थालिने भएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागी फेसबुकमार्फत अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् ।

तपाईको प्रतिक्रिया