
काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यहाँ २ दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।
सबै दल र तिनका उम्मेदवारले आ–आफ्नो सिद्धान्त, विचार र संकल्पकासाथ जनतामाझ गएकाले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित एवं पारदर्शी हुने कुरामा प्रहरी, प्रशासन, रानजीतिक दल र निर्वाचन कार्यालय विश्वस्त देखिएका छन् । यस प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारी गरी ५४ हजार ५ सय ५० जनशक्ति परिचालित भएको प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगरका डीआइजी अरुणकुमार विसीले जानकारी दिए ।
अप्रिय घटना हुन नदिन प्रदेशमा ८४९ स्थान संवेदनशील र ३२१ स्थान अतिसंवेदनशील तथा ७०७ स्थान सामान्य स्थान पहिचान गरी सुरक्षाको प्रबन्ध मिलाएको उनले बताए । मतदानको अवधिमा अराजक गतिविधि भएमा तुरुन्तै त्यसको नियन्त्रण, निराकरण एवं व्यवस्थापनमा हवाई गस्तीसहितको सुरक्षा निकाय परिचालन हुने छन् । उनले विगतको अभ्यासलाई नियाल्दा अहिले निर्वाचन विरोधी गतिविधि नभएको, सबै दलहरु सौहार्दपूर्ण वातावरणमा निर्वाचनमा सहभागी भएकाले अप्रिय घटना हुने सम्भावना कम रहेको प्रतिक्रिया दिए । प्रदेश अन्तर्गत गाउँपालिका ८८, नगरपालिका ४६, उपमहानगरपालिका दुई र महानगरपालिका एक गरी कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् ।
प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, १६ लाख ४५ हजार ५६१ महिला र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाता छन् । १४ जिल्ला रहेको प्रदेशमा मतदानस्थल १ हजार ८७७ र मतदान केन्द्र चार हजार ५१ छन् ।