पाँचथर, पुस १९ – लिम्बू जातिको बाहुल्य रहेको जिल्ला पाँचथरमा मौलिक गरगहना र पहिरनमा लिम्बू युवतीको मोह बढ्दै गएको छ ।

शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन ढाकाको मेख्ली माथि गलामा कन्ठा, छातिको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा पाही र पाउँमा कल्ली, यी गहनाहरु लिम्बूका मौलिक गरगहनाहरु हुन् ।

जिल्लामा विशेष गरेर किराँत याक्थुङ चुम्लुङसँगै लिम्बूजन्य संघ–संस्था सँगै अन्य जातीय संस्थाले पनि विभिन्न महोत्सव, उत्सव र कार्यक्रमको आयोजना गरिरहन्छन् । ती कार्यक्रममा लिम्बूनी युवती परम्परागत गरगहना र मौलिक पहिरनमा सजिएर रमाइरहेका भेटिन्छन् ।

मौलिक पहिरन र गरगहनामा सजिँदा आफूलाई गर्व र आत्मसम्मानको अनभूति हुने किराँत याक्थुङ चुम्लुङकी केन्द्रीय सचिव निरन्ती तुम्वापो बताउनुभयो । मौलिक पहिरन र गरगहनाले आफ्नो सुन्दरतामा बेग्लै किसिमको चमक ल्याउने मोडल तथा कोरियोग्राफर बबिता फोम्बाको अनुभव छ । बढी समय राजधानीमा रहने फोम्बो मौलिक पहिरनको प्रबर्द्धनका लागि जिल्लामा आयोजना हुने फेशन सोहरुमा अक्सर गृहजिल्ला आइपुग्छिन् ।

जिल्लामा हुने मौलिक फेशन सो र र्‍याम्पहरुमा उनैले कोरियोग्राफ गर्छिन् । यस्तै मिस लिम्बू–२०१६ मा वेष्ट स्माइलको टाइटल जितेकी सुक्मिता केरुङ पनि मौलिक पहिरन र गरहगनाले सुन्दरतामा बेग्लै चमक आउने बताउनुहुन्छ । उधौली–उभौली, सिसेक्पा तङ्नाम, कक्फेक्वा तङ्नाम, वलिहाङ तङ्नाम जस्ता मौलिक चाडपर्वमा मात्र होइन अन्य मेला, पर्व र उत्सवमा समेत मौलिक पहिरन र गरगहनामा सजिएर हिँड्ने युवतीको संख्या जिल्लामा बढ्दो छ ।

विशेष गरी पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यी पहिरन र गरगहनाको उत्पतिको विषयमा यकिङ साल समय कसै सँग छैन । तर यसको उत्पतिको शन्दर्भ भने लिम्बू जातीले मूल देउताको रुपमा पुज्ने युमासँग जोडिने भाषा तथा सँस्कृतिविद दीलेन्द्र कुरुम्बाङले बताउनुभयो ।

उज्यालाे अनलाइनबाट ।

तपाईको प्रतिक्रिया