पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

सन् १९९७ मा आमाले छोरोसँग दन्त चिकित्सक अध्ययनका लागि खर्च लगाउनु पूर्व पढेर कमाइ गर्ने भएपछि आम्दानीको ६० प्रतिशत आफूलाई दिनु पर्ने करार गरेकी थिइन् । त्यसबेला छोराको उमेर २० वर्षको थियो । तर पछि कमाउने भएपछि छोराले करार अनुसार पैसा नदिएको भन्दै आमाले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

छोराले सन्तान हुर्काएको तथा उसलाई पढाएको खर्च फिर्ता माग्नु गलत भएको दाबी गरेका थिए । तर अदालतले करार मान्य भएकाले जरिवाना बुझाउनु पर्ने फैसला गरेको हो । अब ति व्यक्तिले करारमा भने अनुसार आफ्नो आम्दानीको ६० प्रतिशत व्याजसहित आमालाई फिर्ता गर्नुपर्ने भएको छ ।

लुओ थर भएकी महिलाले आफ्ना दुवै छोरालाई श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि एक्लै हुर्काएकी थिइन् । आफूले दुवै छोरालाई हुर्काउन तथा उनीहरुको पढाइमा करौडौँ रकम खर्चिएको तर उनीहरु आफूलाई बृद्ध अवस्थामा स्याहार गर्ने पक्षमा नदेखिएको लुओले बताएकी छन् । उनले दुवै छोरासँग करार गरेकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जेठो छोराले उनीसँग सहमति गरेर सानो रकममा कुरा मिलाएका थिए । तर कान्छो छोरा जो अहिले दन्त चिकित्सक छन्, उनले नमानेपछि अदालती प्रक्रिया सुरु भएको हो ।

लुओले कान्छो छोराको पढाइमा १७ लाख अमेरिकी डलर खर्च भएको दाबी गरेकाले त्यसको ६० प्रतिशत व्याजसहित बुझाउनु पर्ने भएको हो ।

कान्छो छोरा चुले करार गर्दा आफ्नो उमेर सानो रहेकाले त्यसलाई अमान्य घोषित गर्न माग गरेका थिए । अदालतले भने उमेर पुगेर करार भएकाले अमान्य घोषित गर्न नमिल्ने भन्दै आमाको पक्षमा फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया