गोरखा । नगरपालिका बनेको २० वर्षपछि गोरखा नगरपालिकाले सरसफाई शुल्क लिन थालेको छ । नगरपालिका स्थापना भएपछिका धेरैजसो परिषदले सरसफाई शुल्क लिने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

स्थानीय सरकारको रुपमा परिणत भएसँगै नगरपालिकाले सरसफाई शुल्क लिन थालेको हो । नगरक्षेत्रका घर, व्यवसायलाई विभिन्न वर्गमा विभाजन गरेर शुल्क लिन थालिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपराज अधिकारीले बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर ८ नयाँबस्ती टोल सुधार समिति अन्तर्गतका घरहरुमै पुगेर सरसफाई शुल्क लिन थालिएको उहाँको भनाई छ । नगरपालिकाले मासिक रुपमा न्यूनतम १ सयदेखि अधिकतम १ हजार रुपैयाँसम्म सरसफाई शुल्क लिनेछ । सदरमुकाम क्षेत्रका ठूला होटललाई मासिक १ हजार, लजसहितको होटललाई मासिक ५ सय, रेष्टुरेन्टलाई मासिक ३ सय र चिया पसल तथा सामान्य होटललाई मासिक १ सय ५० रुपैयाँ सरसफाई शुल्क तोकिएको छ ।

यस्तै कपाल काट्ने पसल र मासु तरकारी तथा फलफूल पसललाई मासिक ३/३ सय रुपैयाँ शुल्क तोकिएको नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले बताउनुभयो । यस्तै व्यावसायिक प्रयोजनको प्रति सटर र व्यक्तिगत प्रयोजनको एउटा घरलाई मासिक १ सय रुपैयाँ सरसफाई शुल्क तोकिएको छ । वित्तिय संघसंस्थाले २ सय, निजी अस्पताल तथा नर्सिङ होमले ५ सय तथा ग्यारेजहरुले मासिक १ हजार रुपैयाँ सरसफाई शुल्क तिर्नुपर्ने उपाध्यायको भनाई छ ।

पहिलो चरणमा नगर बासिन्दाको घरघरै पुगेर शुल्क लिइने र त्यसपछि वडा कार्यालयहरु मार्फत ब्यवस्थित गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ । अहिले नगरपालिकाले फोहर संकलन गरिरहेका ठाउँमा मात्रै सरसफाई शुल्क लिइने छ ।

तपाईको प्रतिक्रिया