मंगिता नेपाली, 

विद्यमान सामाजिक परिवेशमा पुरुषलाई हेर्ने पितृसतात्मक सामाजिक दुष्टिकोण भिन्नै छ । हाम्रो समाजमा पुरुषलाई शक्तिशाली, बहादुर, पौरखी, रक्षक, त्यागी, बुद्दिमान जस्ता अनेक पर्यायवाची शब्दबाट चिनाइएको छ । यहाँ प्रश्न आउँछ, वास्तवमै पुरुषमाथि उल्लेखित सम्मानित शब्दावालीको लायक छन त ? पक्कै छन् ।

यो जगतका सम्पूर्ण कर्मशिल तथा आदर्श पुरुष जातीलाई तिनका असलपन, सर्वोपक्षिय पारिवारिक जिम्मेवारी तथा समाजोउपयोगी कार्यको लागी उचित श्रेय सम्मान र आदर गर्न हामी नारी तयार छौँ । जो हाम्रै माया, प्रेम, संरक्षण, भौतिक सुख सुविधा र जतनका लागि जिवनभर निरन्तर रुपमा भौतारिरहेका हुन्छन् ।

कैयौँ पुरुष देशको विकास र समृद्धिका खातिर जन्मथलो, कर्मथलो हुँदैै पराई भुमिमा गई काम गर्ने क्रममा विभिन्न शारिरिक, मानसिक सास्ती, यातना खेप्नसमेत बाध्य छन् । यतिमात्र नभई मरुभुमिमा विभिन्न खनिज, विशाक्त रासायनिक पर्दाथ, आणविक भट्टीमा समेत तापिएर जलेका छन् । घामपानी नभनी असाधारण तापक्रममासमेत निरन्तर खटिएका छन् । केवल घरपरिवारको सुखमय, समृद्धिमय र सम्मानित जिवनको निम्ति । पुरुष कहिले बाबु, दाजुभाई श्रीमान, मित्र एवम् अन्य कुनै न कुनै नातामा उपस्थित भई जिम्मेवारीका प्रत्येक तहमा आदर्श सावित भएका छन् ।

पुरुष देखावटी कामको नाटकीय शिलशिलामा मात्र होइन, भावनात्मकतामा पनि उतिकै निपूर्ण हुन्छन् । तसर्थ बुबाको स्थानलाई कोहीसँग तुलना गर्न मिल्दैन र अर्को कुरा छोरा वा जेठो छोरा हुँदा विना अपेक्षा आमाबाबु भाइवहिनीको अभिभावकत्व निर्वाह गर्ने मौका पाउनु पनि साधारण कुरा होइन । अपेक्षा विनाको अभिभावकिय भुमिकाले धेरै हदसम्म पुरुषमा आत्मसन्तुष्टी पनि प्रदान गर्दछ । के यस्ता उदार मानिसलाई तिनमा असल प्रशंसनीय कार्यका लागि कदर गर्नु हाम्रो पनि कर्तव्य होइन र ? हामी सदैव पुरुषबाट माया, प्रेम, सुख सुविधा भोग्ने मात्र बन्ने ? पुरुष सधैँ वितरक मात्र हुने ? हामी एकोहोरो प्रदान गरेका वस्तु तथा सुख सुविधाको भोग चलन गर्ने स्वार्थी र र्निदयी बनेका हौँ त ? हो भने यो प्रवृत्ति त्याग्न आवश्यक छैन र ?

यसो भनिरहँदा नारी पनि पुरुषको तुलनामा बौद्धिक, वैचारिक विर्मश, पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक हिसावले पछि भने छैनन् । नारीहरू पनि पुरुष सँगसंगै उभिएर पुरुषको दाँजोमा कर्म र मेहनत गर्न कम छैनन् । नारी पनि पुरुषजत्तिकै सक्षम छन् । पुरुषोचित बहादुरी पुर्ण कर्म गरेर स्त्री जाति पनि पुरुषसरह अनि कोमल भावनायुक्त पुरुष सोहि अनुरुप कर्म गरेर स्त्री जस्तै हुन सक्छन् ।

विद्यमान सामाजिक संरचनाले पुरुषलाई नै सर्वेसर्वा मानेर पुरुषप्रधान समाजको नाम त दिएको छ । तर, साँच्चै भन्नुपर्दा पुरुषलाई पनि पितृसत्ताले महिलालाई जस्तै समान अप्ठ्यारोमा राख्दै आएको छ । यसले गर्दा पुरुषप्रति नारी दृष्टिकोण संकुचित हुन गई पुरुषलाई समेत असहज परिस्थित सृजना भएको छ । पुरुषको परिभाषा नारी मष्तिष्कमा एक हठी स्वभाव, कामवासनायुक्त, व्यभिचारी एवम् अहंकारी हुन्छन् भन्ने छाप बसिसकेको छ । सायद यो भ्रम निकाल्न भने पुरुषलाई गाह्रै पर्ला ।

घर परिवारमा हामीले सहजै भन्ने सुन्ने गरेको पाउँछौँ । छोरा मान्छे भएपछि नाथे यति काम गर्न नसक्ने । परिवारको पालनपोषण भरणको काम के नै ठूलो भयो र ? लोग्ने मानिस हुनु पनि सोचे जति सहज र सरल भने छैन । कुनै पनि पुरुषलाई पारिवारिक जिम्मेवारी बहन गर्न आर्थिक उपार्जन गर्न, सामाजिक जीवनमा उत्तरदायित्व निर्वाह गर्न र देशकै जिम्मेवारी पूर्णदायित्व निवार्ह गर्न निरन्तर रुपका लागि परिरहेका हुन्छन् प्रत्येक असल पुरुष ।

पितृसत्ताले पुरुषत्वको मापदण्ड तयार पारिदिएको छ, जसलाई वर्णन गर्दा पुरुष अन्य व्यक्तिभन्दा माथि हुनुपर्दछ । प्रशस्त भौतिक सम्पत्ति आर्जन गर्ने, सधै अरुको लागि वितरक बनिराख्नुपर्ने ? ऊ भित्र पनि भावना, संवेग हतपत प्रष्फुटन गर्न नपाउने, सबैको जिम्मेवारी उठाउनुपर्ने जस्ता आडम्वरी सोचको निर्माण गरिदिएको छ । तर सबै पुरुष त्यस्तो चाहँदा पनि चाहदैन्न र उनीहरुमा त्यस्तो इच्छा पनि हुदैनन् र सबै पुरुष सामाजिक, आर्थिक, राजनितिक र मानसिक पक्षबाट बलिया पनि हुदैनन् ।

समाजमा तिमी छोरा मान्छे हौ, रुनु हुदैन, कस्तो केटी जस्तो गरेर रोएको भन्ने सुन्नुपर्ने र स्त्रीभन्दा शक्तिशाली देखिनुपर्ने हुँदा रुन मन लाग्दा–लाग्दै पनि स्त्रीभन्दा सानो देखिने भयले आफ्ना आँसु दबाएर राख्न बाध्य छन् पुरुषहरु । यसरी नै पुरुषलाई कतिपय प्रशंगमा बन्देज लगाई उसको इच्छा चाहना हुँदा-हुँदै पनि महिला जस्तो देखिने डरले रोक्छ र रोकिन्छ । पुरुषले आफ्नो पुरुषार्थ वा प्रतिउत्तरमा हिंसा तथा झै-झगडा गर्नुपर्छ, मौन बस्नुहुदैन भनेर समाजले नै उक्साउने, पुरुष भएपछि बहुविवाह गर्नुपर्ने जस्ता हेय सोचको विकास गरिदिएको छ ।

नारीले पनि आफ्ना श्रीमान, बाबु दाजुभाईलाई फलानोले कति उन्नति प्रगति गरिसके तपाई, हजुर, तिमीले के नै ग¥यौ ? केही गर्न सकेनौँ ? यति सानो उपलब्धी के नै हो र ? भन्ने र हतोत्साहित गरी सोझै आत्मसम्मान र हृदयमा ठेस पुर्‍याइदिन्छौँ । यसैको फलस्वरुप पुरुष भष्ट्रचारी, अपराधी ठग बनी अनैतिक कार्य गर्न पुग्छन् । तत् प्रश्चात् पनि नारी उहि कर्मलाई हेला गर्दै हिड्छौँ ।

सानै उमेरदेखि परिवार समाजले पुरुषलाई गाह्रो र अप्ठ्यारो काम सुम्पन्ने प्रविधि, हातहतियार, गाडी खैलौना दिने यहाँसम्म कि आर्शिवाद दिँदा पनि अग्रज व्यक्तिले ठुलो मान्छे हुनु, प्रशस्त धन कमाउनु, सवैलाई जित्नु जस्ता आशीर्वाद दिई त्यस्तै संस्कार, वातावरण र परिवेशमा हुर्काउदै लगिरहेको हुन्छ । किशोरावस्था सँगै छोराको संसार फराकिलो हुँदै गएको छ । तर, उनीहरूको स्वेच्छा र भावनालाई सर्वोपक्षिय घरायसी, सामाजिक, आर्थिक हैसियत र जिम्मेवारीको बोझले थिचेर साँघुरो बनाउँदै लागेको छ । तर पनि नगन्य मात्रामा मात्र पुरुषको सामथ्र्यताको वर्णन गरिएको पाइन्छ ।

पुरुषलाई बहादुर, बुद्दिमान, शतिशाली भन्नु उनीहरुमा एक किसिमको भ्रम सिर्जना गराई मानसिक हिसाबबाट ग्रसित पार्नु हो । यहाँसम्म कि उक्त पुरुषले नमरुञ्जेलसम्म पनि आफ्ना व्यक्तिगत इच्छा आकांक्षालाई थाती राखी घर परिवारको चिन्तामा जीवन समर्पण गर्नसमेत पछि पर्दैनन् । कैयौँ पुरुषले त एक्लै आफ्ना सन्तानको हेरविचार पनि गर्दै आइरहेका हुन्छन् । पुरुषले यति धेरै हिंसाको परकाष्ठा नाघ्ने गर्छन् कि तिनमा पापकर्म कल्पना गर्नसमेत सकिन्नँ ।

त्यस्ता पुरुषले अनैतिक र व्यभिचारी कार्यमा संलग्न भई सिङ्गो समाजमा नै नकारात्मक छाप छोडेका कारण आज अन्य असल, सद्चरित्र, अनुशासित कर्तव्यपरायण पुरुषलाई नै असहज परिस्तिथि सिर्जना भएको छ । यसकै उपज स्वरुप आज विभिन्न सार्वजनिक स्थल, कार्यस्थल, यातायात आदी क्षेत्रमा महिला पुरुषबाट कुनै हिंस्रक एवम् गलत दुव्र्यवहार हुन्छ कि भनी सहयोगको अपेक्षा राख्न समेत हिचकिचाउँछन् । तसर्थ स–साना कमजोरी भेटिए पनि महिलाले पुरुषमाथि अनेकौँ प्रहार गरिहाल्न पनि आवश्यक हँुदैन । बरु उसका असलकर्ममा साथ सहयोग, हौसला प्रदान गरी र पुरुषले सम्मान गर्ने नारी बनेकोमा गौरव महसुस गरौँ ।

पुरुषवादको कुरा गरिरहँदा हामी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुरुष–पुरुषबीच पनि आपसमा अनेकौँ मतभेद पाउँछौँ । पुरुषमाथि पनि विभेद, दमन, शोषण र अन्याय भइरहेको हुन्छ । यसर्थ पुरुषको अवस्था पनि दयनीय छ । सबै पुरुष उच्च तह र तप्कामा हुँदैनन्, सवैमा त्यस्तो किसिमको विशेषाधिकार, स्रोतसाधन माथि पहुँच र नियन्त्रण पनि प्रयाप्त हुदैँन ।

उदाहरणको रुपमा वाइट कलर जबको व्यक्तिले ब्लु–कलरको जागिर गर्ने व्यक्तिलाई हेप्ने, निच सम्झने, सम्मान आदर सम्मान नगर्ने, एक अर्काको कार्य पेसाप्रति उचित सम्मान नगर्नु पनि पुरुष विभेदका उदाहरण हुन् । र यस्ता उदाहरण प्रशस्त पाइन्छन् । विशेषगरी यस्तो किसिमको विभेद प्रताडित सिमान्तकृत निम्न वर्गीय जीवनस्तर भएका पुरुष भिन्न किसिमले सक्षम, जनजाति, दलित, मधेशी, समुदायका पुरुषमा भएको प्रत्यक्ष देख्न सकिन्छ । यी तहका पुरुष कतिपय अवस्थामा उच्च जातका महिलाभन्दा झन् झन् वहिस्करणमा परेका छन् ।

एकाइसौँ शताब्दीमा जहाँ महिला एकल जीवन बाँच्नका लागि उत्प्रेरित छन्, त्यहाँ पुरुषमा दिनानु दिन नैरास्यता, मानसिक तनाव वृद्धि हुँदैै गएको देखिन्छ । चाहेको समयमा शारिरिक सम्बन्ध राख्न नपाउने, सामाजिक हैसियतको अप्राप्ति, विवाह गरेर संचित गरिएको सम्पत्ति, छोरा नभएर वंश हस्तान्तरण गर्न नपाउने एवम् कर्मकाण्ड गर्ने सन्तान नभएपछि पुरुष शक्ति गुमेको महसुससम्म गरेका छन् । यो बाहिरबाट नदेखिने मानसिक द्धन्द्ध हो । जसले गर्दा महिलाको दाँजोमा पुरुषमा हृदयाघात, डिप्रेसन तथा आत्माहत्या गर्ने दर उच्च हुदैँ गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार विश्वमा वर्षेनी आठ लाख मानिसले आत्माहत्या गर्छन् । जसमा चार देश बाहेक अन्य सबै देशमा आत्माहत्या गर्ने पुरुषको सङख्या अत्याधिक भएको उक्त प्रतिवेदनमा उल्लेख छ । समय सापेक्ष पितृसत्तात्मक सामाजिक परिवेशमा पुरुषको छवी विस्तारै परिवर्तन आइरहेको महसुस गर्न सकिन्छ । उनीहरु नारीप्रति उदार दृष्टिकोण र सहयोगी प्रवृत्ति सकारात्मक सामाजिक परिर्वतनको एउटा सुचक हो ।

पुरुषमा पनि लैङ्गिक विभेदको पर्दा विस्तारै हट्न थालेको छ । नारीप्रतिको हिंसा असह्य भएजस्तै पुरुषप्रतिको हिंसा सराहनीय बनेको हाम्रो समाजमा पुरुषलाई पनि अन्यलाई जस्तै समान पिडा हुन्छ भनी बुझी उनीहरुप्रति त्यस्तो हेय भावकदापी राख्नुहुँदैन । तसर्थ पित्तृवंशीय व्यवस्था बमोजिम छोरा मान्छे बलियो र छोरी मान्छे राम्री हुन् भन्ने धारणामा परिवर्तन ल्याइ सकारात्मक एवम् प्रगतिशिल विचारबाट लैङगिक हिंसा र विभेद अन्त्य गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ ।

– नेपाली पृथ्वी नारायण क्याम्पस कास्कीमा अध्ययनरत छिन् ।

तपाईको प्रतिक्रिया