काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा नमिठो हार बेहोर्दै दोस्रो पार्टी भएको नेपाली कांग्रेसमा पछिल्लो समय किचलै किचलो देखिएको छ । विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बहस कांग्रेसमा उठेको छ । कांग्रेसका आठजना युवा नेताले विशेष महाधिवेशन बोलाउन प्रेश विज्ञप्ति नै जारी गरेका छन् ।
विशेष महाधिवेशन मार्फत नेतृत्वमा नै परिवर्तन नगरे कांग्रेस अगाडि जान नसक्ने कांग्रेसका युवापुस्ताले सार्वजनिक रुपमा नै भन्दै आएका छन् । कांग्रेसको नेतृत्व पक्ष भने विशेष महाधिवेशन आह्वान गर्न नसकिने बताउँदै आएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस हार्नुको कारण वाम गठबन्धन र आन्तरिक अन्तर्घात प्रमुख रहेको बताउँदै गर्दा त्यही अवसरमा पोखरामा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइरालले पनि सभापति देउवासँगै स्वर मिलाउँदै हारको जिम्मेवार नेतृत्व पक्षले मात्र नभई समग्र कांग्रेसले लिने बेला आएको बताउनुभएको थियो ।
कांग्रेसको नेतृत्वमा रहेका यी दुई नेताले विभिन्न कार्यक्रममा यस्तो बताइरहँदा युवा नेता गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गिरी, प्रदीप पौडेल लगायतले हस्ताक्षर गरी विज्ञप्ति नै निकालेर नेतृत्वलाई विशेष महाधिवेशन बोलाउन आग्रह गरेका छन् ।
नेतृत्व पक्षले महासमिति बैठक बोलाएर थामथुम गर्ने प्रयास गरीरहेका बेला कांग्रेसमा देखिएको यस्तो विवादलाई धेरैले विशेष चासोका साथ हेरेका छन् । कांग्रेस भित्र रहेका विभिन्न खेमाले युवा नेताले माग गरेको विशेष महाधिवेशनलाई मौन सर्मथन गरेको स्पष्ट देखिएको छ । कांग्रेस पार्टीभित्र विशेष महत्व राख्ने नेताहरु रामचन्द्र पौडेलले त कांग्रेसले नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्नुपर्ने भनेर बोल्नुभएकै छ । नेता कृष्णप्रसाद सिटौला पनि विशेष महाधिवेशनकै पक्षमा देखिनुभएको छ तर खुल्नुभएको भने छैन् ।
२०६४ सालमा पनि नेपाली कांग्रेस हारेकै थियो त्यो बेलामा विशेष महाधिवेशन किन बोलाइएन ? भन्ने प्रश्न कांग्रेसको हालको नेतृत्व पक्षले गर्दै आएको छ । आइतबार आयोजित एक कार्यक्रममा सभापति देउवाले पनि नेपाली कांग्रेस २०६४ सालको चुनावमा पनि हारेको तर अहिलेको अवस्थामा भने त्यो समयमा हारेजस्तो गरी नहारेको बताउनुभएको थियो । समानुपातिकमा एमालेको हाराहारीमा मत ल्याएको कांग्रेस प्रत्यक्षमा वाम गठबन्धनका कारण हारेको बताएका थिए ।
सभापति देउवाको कुरालाई कांग्रेसका युवानेता मान्न तयार छैनन् । वाम गठबन्धन कायमै रहिरहे कांग्रेस यही अवस्थामा रहने की, संगठन सुधार र विस्तार मार्फत जनतामा गएर मन जित्ने ? कांग्रेसका युवा नेताको भनाई यही नै हो । कांग्रेसको संगठन विस्तारमा ठूलो परिवर्तनको खाँचो देखेका युवा नेताहरु अहिलेको नेतृत्वबाट त्यो सम्भव नभएको भन्दै विशेष महाधिवेशनको आह्वानका लागि दबाब दिएका हुन् ।
२०७० सालको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेस नेपालमा संविधान जारी भएपछि पहिलोपटक भएको संघीय व्यवस्थाको चुनावमा कमजोर देखिएको छ । स्थानीय तह चुनावमा पनि कमजोर देखिएको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावबाट निकै खस्किएको आभाष कांग्रेसका शुभेच्छुकले गरेका छन् । सात प्रदेशमा एकै ठाउँमा पनि प्रदेश सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले जितेन भने प्रतिनिधिसभा प्रत्यक्ष चुनावमा पनि नराम्रो हार बेहोर्न बाध्य भयो ।
कांग्रेसका शीर्ष नेता आफ्नो गढ मान्दै आएको ठाउँबाट हार्दा कांग्रेसका कार्यकर्तामा निराशा छाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला बाहेक कांग्रेसका अधिकांश नेता यो चुनावमा हारेका छन् । चुनाव सकिएको लामो समयसम्म पनि कांग्रेसमा हारको समीक्षा समेत हुन सकेको छैन् । पार्टी भित्रको अन्तर्घातका कारण पनि कांग्रेसले हारेको भनेर पार्टीकै जिम्मेवार नेताले बोल्दै हिँडेको अवस्थामा हारको समिक्षा गरेर अन्तर्घात गर्नेमाथि कांग्रेसले कारवाही गर्न पर्ने हो की हैन ? कुरा मात्रै गरेर एकअर्का माथि आरोप प्रत्यारोप र दोषारोपणले कांग्रेस फेरि पुरानै पार्टी बन्न सक्छ त ? आम कांग्रेसका शुभेच्छुक र कांग्रेसमा असन्तुष्ट बनेका नेताको भनाई यही हो ।
प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेसको यस्ता कुरामा ध्यान जान जरुरी छ । पार्टीभित्र अस्तव्यस्त र असन्तुष्टिका बिच कांग्रेसले पुनर्विचार गर्नुपर्ने समय आएको छ । प्रजातान्त्रिक पद्धतिको धज्जी उडाउँदै प्रजातन्त्रकै वकालत गर्न कांग्रेसलाई नैतिकताले दिन्छ कि दिँदैन ? कांग्रेस पार्टी भित्र अहिले पूर्ण प्रजातान्त्रिक पद्धति अनुसार काम भएका छन त ? आम नागरिकले नेपालको पुरानो प्रजातनन्त्रिक पार्टीलाई यस्तै प्रश्न तेर्स्याएका छन् ।
लामो इतिहास बोकेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले जटिल अवस्थामा छ । पार्टी भित्र र पार्टी बाहिर नेतृतवको तिखो आलोचना भैरहेको यो अवस्थामा कांग्रेसको नेतृत्व पक्षले कसरी विवादलाई सल्याउछ हेर्न बाँकी नै छ । तर एउटा सत्य चाहिँ के हो भने कांग्रेसले पार्टीमा उत्पन्न विवादलाई समयमा नै सुल्झाउन सकेन भने आगामी कांग्रेसको भविष्यमा नै प्रश्न चिन्ह खडा हुनेछ ।
कार्यकर्ताको र पार्टीभित्रैका नेताको असन्तुष्टलाई सम्बोधनका लागि कांग्रेसले प्रजातान्त्रिक पद्धति र आम कार्यकर्ताको मनोभावना अनुसार कार्य गर्न जरुर छ । पार्टीमा विशेष महत्व राख्ने र भविष्यमा कांग्रेसलाई हाक्ने पार्टीका युवा नेता एक ठाउँमा उभिएर विशेष महाधिवेशनको माग गर्दै गर्दा र पार्टीका जिम्मेवार नेताले त्यसलाई समर्थन गर्दा नेतृत्वले लत्याएर अगाडि बढन खोजे कांग्रेसका लागि घातक हुन सक्छ ।