प्रकाश धाैलाकाेटी

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको उच्च लेकाली तथा हिमाली क्षेत्रका चौँरी र गाईभैँसी गोठहरु न्यानो खोज्दै तलतिर झारिएका छन् । यी जिल्लाको संगम स्थलको रुपमा रहेको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका विभिन्न स्थानमा रहेका गोठहरु अहिले मानव बस्ती नजिकका खर्क र बेसीतिर झारिएका हुन् ।

हिउँद लागेसँगै तुषारो र हिउँ पर्ने, चिसो बढ्ने भएकाले यहाँका गोठमा पालिएका चौँरी र गाईभैँसीहरु आफै ओरालो झर्छन् । चौपाया नै मानव बस्ती नजिक झर्न थालेपछि गोठ सञ्चालकहरुले पनि खर्क हेरेर तलतिरै गोठ सार्ने र गाईभैँसी तथा चौरीको रेखदेख गर्ने गर्दछन् ।

उच्च लेकाली क्षेत्रमा चार हजार मिटर उचाईसम्म चौँरीका गोठ राख्ने चलन छ । मानव बस्तीभन्दा नजिकै पर्याप्त खर्क भएका क्षेत्रमा गाउँलेले मिलेर गाईभैँसीलाई पनि गोठको रुपमा राख्ने चलन छ ।

चिसो बढेपछि गाईभैँसी गोठहरु मानव बस्ती र बेसीतिर झारिएका छन् भने चौँरी गोठहरु मानव बस्ती नजिकका लेकाली जंगलमा सारिएका छन् । टिएमजे क्षेत्रका गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे, पाँचपोखरी लगायत क्षेत्रका चाैँरी गोठहरु तल झरेका छन् ।

माथिबाट झरेका गोठहरु अहिले अधिकांश तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकीका जंगलमा छन् ।

मानव बस्ती नजिक गोठ राख्दा गोठ हेर्ने सञ्चालकलाई पनि सहज हुने र चौँरीले पनि माथि भन्दा न्यानो बातावरण पाउने भएकाले गोठ सार्ने गरिएको गोठ सञ्चालक प्रेम भारतीले बताउनुभयो । ‘हिउँदमा चौँरी आफै तल झर्छन्, अनि गोठ लिएर आफू पनि झर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘गाईभैँसीका गोठ चाहिँ अहिले बेसीतिर झारिएका छन् ।’

सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा चौँरी आफै सर्ने गरेका उहाँले बताउनुभयो । अहिले यो सिजनमा उच्च क्षेत्रका झण्डै दुई दर्जन बढी गोठहरु चिसोबाट न्यानो स्थानतर्फ सरेका छन् ।

उज्यालाे अनलाइनबाट ।

तपाईको प्रतिक्रिया