गोविन्द नेपाली,

नेपालमा विश्वविद्यालयको संख्या नभएको पनि होइन। राणाकालदेखि स्कुल कलेजहरू खुल्दै आएका छन्। त्यसका लागि राज्यको ठूलै लगानी भएको छ। शैक्षिक जनशक्ति उत्पादन भइराखेका छन्। यो राष्ट्रका लागि राम्रो पक्ष हो। तर, हालसम्म कुनै रैथाने सीपमा आधारित विश्वविद्यालयको स्थापना हुन सकेको छैन। त्यो दूर्भाग्य हो। सीप, कला, संस्कृतिको जति जर्गेना हुनुपर्नेमा त्यो हुन सकेको अवस्था छैन। नेपालमा भएका आदिवासी, दलित, मधेसी, जनजातिलगायत अन्य जातिको मौलिक सीप र संस्कृतिहरूको भण्डारण रहेको देखिन्छ। लेखकले अध्ययन गरेको विद्यावरिधीको शोधलाई आधार मान्दा ३ सय २६ वटा रैथाने सीप छन्। जो रैथाने पूर्खाहरूको वंशावलीअनुसार उत्पादन भइरहेका छन्।

रैथाने सीपमा सञ्चालन भएका अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू

विश्वको परिपेक्ष्यलाई मूल्यांकन गर्दा विभिन्न देशमा रैथाने सीपमा आधारित अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू सञ्चालन हुँदै आएका छन्। जस्तै, अरुवुरन, कोलम्बिया साउथन, ओरन्ज बिच्च, टोरी विश्वविद्यालयहरू रैथाने सीप र ज्ञानमा आधारित छन्। र, राज्यको बिँडो थामेका छन्। इतिहासलाई जोगाइराखेका छन्। रोजगारमूलक जनशतिm उत्पादन गरिराखेका छन्। नेपालमा पनि यसको निकै सम्भावना देखिन्छ। भूगोलमा भएको विविधता, जातजातिमा भएको सीप, भाषाभाषीमा भएको ज्ञान र समुदायबीचमा भएको मौलिकताको लागि अध्ययन संस्थाको आवश्यकता पर्छ।

राष्ट्रियता पहिचानको खम्बा

अमेरिकन नागरिक एल्फड लुइस कोवरले पहिलो पटक सन् १९०१ मा संस्कृति र मानवशास्त्रमा विद्यावरिधी गरे। त्यही बेला उनलाई मनमा एउटा ज्ञान पलायो मौलिक ज्ञान, कला र संस्कृतिमा आधारित भएर रैथाने सीपलाई जोड्दा यसले समाजमा निकै राम्रो प्रवाह पर्नेछ। आत्मसम्मान हुने कुराको निष्कर्षमा पुगी विश्वविद्यालयको स्थापना गरेका थिए। हाल त्यो विश्वविद्यालय विश्वकै नमुना भएको छ। नेपालमा त्यस्तो अध्ययन संस्थाको निकै सम्भावना देखिन्छ। त्यसका लागि राज्यको ध्यान जान जरुरी छ। राष्ट्रिय पहिचानका निम्ति भए पनि यसलाई मूर्तरूप दिन आवश्यक छ।

कला संस्कृतिको जगेर्ना गर्न

रैथाने सीपका पिता भनेर मानिने रिचार्ड हेनरी पार्टले सन् १८७९ मा एउटा स्कुलको स्थापना गरे। विश्वमा देश र भूगोलअनुसार भएका रैथाने ज्ञानलाई सुहाउँदो प्रविधिसँग जोड्नुपर्छ भन्ने मान्यता राखे। ती कुरालाई ध्यानमा राखी स्थानीय सीपको मूल फुटाई अग्रगामी बाटो तयार गरेका थिए। नेपालमा पनि त्यस्तै ज्ञानलाई मूर्तरूप दिन सकेको खण्डमा मात्र राज्यको पहिचान खुल्छ। त्यसले आम्दानीको स्रोत बढाउँछ। समाजमा भाइचाराको बानी बसाल्छ। रोजगारीको मेरुदण्ड हुनसक्छ। संस्कृति नीतिको दफा ८.१७ मा सांस्कृतिक सम्पदा क्षेत्रको मौलिक एवं ऐतिहासिक वातावरणको पहिचान र संरक्षणमा जोड दिइनेछ भनी उल्लेख गरिएको छ। त्यसबाट भने रैथाने सांस्कृतिमा आधारित वस्तुको जर्गेना गर्र्ने र पुर्खाको संस्कृतिलाई जोगाई राख्ने भन्ने बुझिन्छ।

मौलिक ज्ञानको उपयोग

विश्वका विकसित देशहरूले मौलिक ज्ञानमा आधारित भई रैथाने सीपको प्रयोग गरी निकै ठूलो परिवर्तन गरेका छन्। १९६९ जुलाई १६ का दिन निलको नेतृत्वमा पृथ्वीबाट उडेको टोली २१ जुलाईमा चन्द्रमा परिक्रमा गरी पुनः पृथ्वीमै फर्केको थियो। त्यसमा स्थानीय प्रविधि र हालको उदाउँदो प्रविधि दुवैलाई समिश्रण गरी सो कार्यलाई सफलता दिएको थियो। विकसित मुलुकहरूको जग नै रैथाने ज्ञान र सीप हो। त्यो ज्ञान र सीपमा शक्ति छ। तागतले भरिपूर्ण छ। यसकै जगबाट अन्य कुरा सम्भव भएको हो।

समाज रूपान्तरणको मूल खम्बा

विश्वभरि छरिएर रहेका नेपाली वस्तु तथा सेवाका क्रेता, बिक्रेता र उपभोक्तालाई जोड्ने जनशक्ति रैथाने ज्ञान र उत्पादन हो। उत्पादित वस्तुहरूको निर्यातले मात्र देशको मुहार फेरिन सक्छ। वस्तुसँगै सेवालाई उत्पादनमार्फत उनीहरूको व्यवस्थापन गर्नु आजको आवश्यकता हो। दीर्घकालीन योजनाले नेपालभित्र मात्र नभएर विश्वभरि नै महŒवपूर्ण सफलता पाउन सक्छ। अतः समाजलाई रूपान्तरणको दिशातर्फ उन्मुक्ति गराउन एक मत हुन सकिन्छ। नेपाली अर्थतन्त्र उकास्न योगदान पु¥याउन सकिन्छ। र, विश्वबजारमा उनीहरूको महŒवको दर्साउने भएकाले समाज रूपान्तरणको खम्बा हुने देखिन्छ।

आम्दानी र जीविकोपार्जनको मेरुदण्ड

रैथाने उत्पादन र व्यवसायलाई एक आपसमा आबद्धता गराई समान निर्यातकर्ता, थोक तथा खुद्रा क्रेता र उपभोक्ताबीच उत्पादन भएका वस्तुसँग हातेमालो गर्ने वातावरण पनि तय गर्नुपर्छ। यसरी अगाडि लैजान सकेको खण्डमा त्यसले भावी पिँढीलाई दिने शिक्षा उत्तिकै महŒवपूर्ण हुनेछ। विश्व बैंकको सन् २०७७ को रिपोर्टलाई आधार मान्ने हो भने नेपालले वार्षिक २ लाख २० हजार मात्र नयाँ रोजगारी सिर्जना गर्ने गरेको छ।

उक्त संख्यालाई दोब्बर बनाउन, आम्दानीमा वृद्धि गर्न र जीविकोपार्जनमा टेवा पुर्याउन विश्वविद्यालयको आवश्यकता पर्छ। राज्यको मूलधारमा ल्याउन पनि रैथाने एकेडेमिक शिक्षा आजको आवश्यकता हो। रैथाने सीप, कला र संस्कृतिको संरक्षण नहुनु दुःखद् कुरा हो। दक्ष जनशक्ति निर्यात गर्न नसक्नु र आयातमा मात्र भर पर्नु पर्ने अवस्था छ। जीविकोपार्जनका लागि मात्र सोचिनु यो दूरावस्था हो। समाजमा भएको ज्ञानलाई प्रयोग गरी त्यसलाई निरन्तरता दिन आवश्यकता छ। त्यसैले त्यो ज्ञान विकासको मेरुदण्ड हुनसक्छ।

युवा पिँढीलाई ज्ञानसँग जोड्ने

नेपालको कुल जनसंख्याको ४२.५ प्रतिशत युवा जनशक्तिको छ। यसमध्ये आधा युवा रोजगारीका लागि विदेशी भूमिमा छन्। यो राष्ट्रका लागि ठूलो विडम्बना हो। तिनीहरूलाई सानो लगानी, मौलिक ज्ञान, सीप र दक्षतासहितको कार्य दिन सकेको भए सायद विकासले एक प्रकारको गति लिन्थ्यो कि ? अर्कोतिर युवा जनशक्ति स्वदेशमा रगत र पसिना बगाउँथे। यही आवश्यकताको महसुस गरी रैथाने सीपमा योगदान होस्। पहिचान, उद्देश्य, वस्तुको परिपूर्ति र मूल्यांकन गरी एउटा उचित स्थान दिन रैथाने सीप कलामा युवा पिँढीलाई एकेडेमिक शिक्षाद्वारा जोड्न खोजिएको हो।

एकेडेमिक जनशक्ति उत्पादनको आधार

नेपालका हरेक कुना कन्दरादेखि सहरका गल्ली र चोकहरूमा मौलिक ज्ञानबाट उत्पादन भएका वस्तुहरू देख्न सकिन्छ। ती वस्तुलाई एकेडेमिक शिक्षासँग जोड्दै आधुनिक प्रविधिमैत्री बनाउनुपर्छ। राष्ट्र निर्माणमा जोड्न र विकासको मूलधारमा ल्याउन एकेडेमिक जनशक्ति नेपालको परिवेशमा नितान्त आवश्यक छ। राष्ट्रिय शिक्षा नीति २०७६ को दफा ८.५ ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तरमा अभिवृद्धि गर्ने भनिएको छ।

हो, त्यसैलाई आत्मसात गर्दै विभिन्न क्षेत्रमा सक्षम र रोजगारी दिने जनशक्ति प्रदान गर्न सकेमा यसले लिने बाटो निकै सहज हुने देखिन्छ। जसले योग्यताको मापन गर्ने छ भने दक्ष र वैज्ञानिक शिक्षालाई सुहाउँदो विधिसँग मिलान गर्नेछ। नवप्रवर्तनात्मक ज्ञानको खोजी हुने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी जनशक्तिको उत्पादन हुनेछ। अनुसन्धानमुखी अध्ययनको विकासबाट एकेडेमी जनशक्ति उत्पादन हुने देखिन्छ।

पहिचानका निम्ति रैथाने सीप

नेपालमा रैथाने उत्पादित ज्ञान र वस्तुको आफ्नै पृथक कथा छ। जो समाज रूपान्तरणका लागि कोसेढुंगा सावित भएको छ। आत्मनिर्भरका लागि जिउने आधार बनेको छ। त्यसमा उद्यमी गर्नेहरूको आआफ्नो छुट्टै अनुभव छ। भोगाइ र सिकाइ छ। उत्तिकै प्रयोगात्मक ज्ञान छ। हरेक कथाबाट जीवन जिउने साधन र साध्य दुवै बनेका छन्। हरेक भोगाइ र गराइले दिएको ज्ञान एकेडेमिक शिक्षाबाट उचित मूल्यांकन र कदर होस्। सिगो राष्ट्रको पहिचानका लागि रैथाने सीप आजको आवश्यकता हो।

स्वरोजगार र राष्ट्र पहिचानमा कोसेढुंगा

उत्पादनकर्ता, आपूर्तिकर्ता, निर्यातकर्ता र आयातकर्ताहरूको ज्ञानलाई एकबद्ध गराउनुपर्छ।  यसरी व्यवसायमा थोक तथा खुद्रा क्रेता र उपभोक्तालाई समेटी नेपाली रैथाने जनशक्तिलाई बजारमा ल्याउन सक्नुपर्छ। जसले दिने थप रोजगारीको आफ्नै मूल्य हुनेछ। आयमा वृद्धि र इज्जत हुनेछ भने स्वाभिमानमा टेवा पुग्नेछ। नेपालको औद्योगिक नीतिको दफा ७.३ नवीनतम् प्रविधि एवं वातावरणमैत्री उत्पादन प्रक्रियालाई प्रयोग गरी उद्योग व्यवसायलाई दिगो र भरपर्दो क्षेत्रका रूपमा स्थापित गर्ने भनिएको छ। त्यसका लागि रैथाने शिल्पकला र संस्कृति कोसेढुंगा हुन सक्छ। पुर्खाको ज्ञानले राष्ट्रका लागि योगदान गर्न सक्छ। लाखांैलाख रोजगारी सिर्जना गर्न सक्छ।

अन्त्यमा

यहाँका राज्यसञ्चालनकर्ताले किन आवश्यक रहेछ भन्ने बारेमा सोच्नु आवश्यक छ। शैक्षिक क्षेत्रका विविध व्यक्ति, समाज रूपान्तरणमा लागेका समाजसेवी र नीतिनियम बनाउने अनि कार्यान्वयन गर्नेहरूले पनि यसतर्फ ध्यान दिन जरुरी छ। मानवतावादीहरूले यसलाई आत्मसात गरुन्। रोलमोडेलहरूको भूमिका देखाइदिउन् कला र संस्कृतिकर्मीले पनि। लागिपरुन् हाम्रा युवा पिँढी। अनि, हुनेछ रैथाने सीप, कला र संस्कृतिको जर्गेना। फेरिने छ राष्ट्रको पहिचान। र, हुनेछन् नेपाली समृद्ध।

तपाईको प्रतिक्रिया