काठमाडौं । चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । शुक्रबार नेपाल आएका उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग औपचारिक भेटघाटसहित द्विदेशीय वार्तामा सहभागी भएका छन् ।
शुक्रबार दिउँसो ३ बजे नेपाल ओर्लिएका मन्त्री वाङ बत्तीसपुतलीस्थित होटेल द्धारिकाजमा बसेका छन् । मन्त्री वाङले शनिबार शिवपुरी संरक्षण क्षेत्रमा हाइकिङमा सहभागी भए । दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए ।
लगत्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री वाङले नेपाली प्रतिनिधिमण्डलसँग वार्ता गरे । त्यसक्रममा नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशका प्रतिनिधि मण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।
त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर गरेका थिए ।
त्यसपछि साँझ ६ बजे मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शिष्टाचार भेटवार्ता गरे । प्रधानमन्त्री देउवालाई भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । देउवा र वाङबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटका क्रममा विदेशमन्त्री वाङले चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको पाेखरा विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।
विदेशमन्त्री वाङले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनी स्वदेश फिर्ता हुनेछन् ।