संखुवासभा । स्वास्थ्यका लेखा अधिकृतलाई नगरपालिकाका निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि दूई वटै कार्यालयमा समस्या बढ्दै गएको छ । एकै व्यक्ति जिल्ला स्वास्थ्य र खाँदबारी नगरपालिकामा काम गर्न थाले पछि समस्या बढ्दै गएको हो । जिल्ला अस्पताल खाँदबारीका लेखा अधिकृत लोकबहादुर बोहरालाई एकमहिना यता नगरपालिकाका निमित्त कार्यकारीका रुपमा जिम्मेवारी दिइएको छ ।
बोहराले नगरपालिकालाई बढी समय दिँदा जिल्ला स्वास्थ्य कार्यालयका दैनिक काम प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकामा दैनिक उपस्थिती हुन थालेपछि स्वास्थ्यका कर्मचारीले मंसिरको तलब समेत समयमा पाएका छैनन् । एक कर्मचारीका अनुसार पुसको १६ सम्म स्वास्थ्य र खाँदबारी अस्पतालमा मंसिरको तलब वितरण गरिएको छैन ।
लेखा अधिकृत नगरपालिकामा व्यस्त भएपछि अस्पतालको विद्युत महशुल तिर्न पनि सकिएको छैन । विद्युत प्राधिकरणले जुनसुकै बेला अस्पतालको विजुली काट्ने चेतावनी दिइसकेको छ । अस्पतालले २०७३ फागुन महिना यता महशुल तिरेको छैन । एकै व्यक्ति दुवैतिर जिम्मेवारी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
नगरपालिकामा काम लिएर आएका सेवाग्राहीले निमित्त कार्यकारी नहुँदा समस्यामा पर्ने गरेका छन् भने यता स्वास्थ्य कार्यालयमा पनि प्रत्यक्ष असर परेको छ । शाखा अधिकृत सुवास श्रेष्ठ सरुवा भएपछि नगरपालिकाले हालसम्म रिक्त पद पूर्ति गर्न सकेको छैन