भीम माबुहाङ, 

मुर्दा बोक्नेले कुम फेरे जस्तै– वाद, तन्त्र, व्यवस्था र राजनीति दलहरु फेरिरहे । तर, हाम्रो जीवन फेरिएनँ, फेरिएको छैन । देशमा आन्दोलन, क्रान्ति र युद्वका हावा–हुरिहरु चलिरहे । तर विकाश र समृद्धिका झोकाहरुले हामीलाई कहिले छोएनन् ।

भोट हान्दा–हान्दा औंलाका चक्रहरु झरिसक्न आँटे । तर राम्रो नेतृत्व कहिले पाईएनँ । नेताहरुको भाषण सुन्दा–सुन्दा कानको जाली फुट्न आटिसक्यो । उनीहरुले दिएका संमृद्धिको आश्वासनहरु पर्खन्दा–पर्खन्दै ज्यान चन्दनको ठेका जस्तै खिएर जान आंटिसक्यो । तर अझ एक छाक जोहो गर्न धौधौ नै छ । नेपालको राजनीति दुर्गन्धित भयो । फोहरी भयो । राजनीतिकर्मीहरूले यसलाई दुर्गन्धित बनाए ।

सबैले हेक्का राख्नु पर्ने कुरा के छ भने, जाँड खाएर जाहेर गरेको मतले जंडिया नेता पाईन्छ । पैसा खाएर हानेको भोटले घुसिया नेता पाईन्छ । जे रोप्यो त्यहि फल्छ । सिस्नु रोपेर तुलसी उम्रिदैन । नत्र फेरि पाँच वर्षसम्म घाम तापेर बस्नुपर्ने हुन्छ । हाम्रो धमिलो राजनीति, भोलि पनि धमिलै रहनेछ । हामी गरिब छौं, र गरिब नै रहिरहनेछौं ।

नेपाल देश त धर्तीको एक टुक्रा हिरा नै हो, तर के गर्ने सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध बनाउने नेतृत्व कहिले जन्माउन सकेनँ । प्राकृतिक रूपले स्वर्ग जस्तो देश राजनीतिक रूपले सधैं नर्क जस्तो भयो । अक्सर आम सर्वसाधरणहरुको मुख बाट यस्तै गुनासाहरु चारैतिर सुनिन्छन् । भञ्ज्याङ्ग, चौतारी, चिया पशल, भट्टीहरुमा हुने बहस र हल्लाहरु प्राय यस्तै छन् । सामाजिक सन्जालको भित्ताहरुमा पनि यस्तै टिकाटिप्णीहरु रंगिएका देखिन्छन् ।

कहिले काँही आवेग र आक्रोसहरु अनियन्त्रित भएपछि अराजक भएर सडकका गल्लीहरूमा छताछुल्ल भएका पनि देखिन्छन् । तर राजनीतिलाई जति दुकारेपनि सरापे पनि देश र जनतालाई सुखी, सम्मन्न, समृद्ध, सभ्य बनाउने मुल नीति भनेको राजनीति नै हो ।

सबै नीतिहरुको राजा नीति राजनीति भएकाले यो नसुध्रिई अरू क्षेत्र सुध्रिन्नन् । अन्य यावत् क्षेत्रहरूको सुधार पनि राजनीतिमै निहित हुन्छ । त्यसैले हाम्रो राजनीति जस्तो सुकै दुर्गन्धित शौचालय जस्तै भएपनि नाक थुनेर होइनँ, हिम्मत जुटाएर यो गन्धे शौचालयलाई सफा बनाउने प्रयास गर्ने बाहेक अर्को विकल्प नेपाली जनतासामु केही छ जस्तो लाग्दैन । त्यसैले आसन्न चुनावहरुले फोहोर हिलो भित्र पनि कमलको फुलाउने सुनौलो मौका आमजनता लाई प्रदान गर्दैछन् ।

यो चुनावमा बैमानी, वदमास र भ्रष्ट नेताहरुलाई रोक्ने, थप्पड हान्ने, फ्याँकेर पाखा लगाउने र सजाय दिने साथै सुझवुझ र विवेकपुर्ण ढंगबाट आफ्नो पवित्र अभिमत जाहेर गरी ईमान्दार, योग्य र निष्ठावान जनप्रतिनिधिहरु चयन गर्ने स्वर्णिम अवसर आउँदैछ ।

तर, हामीले भनेजस्तै , कल्पना गरेजस्तै पवित्र, शुद्व र निष्कलंक नेता पाउन र नेतृत्व चयन गर्न सजिलो भन्ने पक्कै छैन । अशल, स्वच्छ, इमान र जमानले भरिएका नेता भन्दा खराव प्रवृति भएका, कपटी, षडयन्त्रकारी, लोभी, स्वार्थी पाखण्डी, मिथ्या, लुटने, धुत्ने, ठग्ने, लुकाउने नेताहरुको भिंड बाक्लै छ । भोटको वेला म्याउ गर्दै विरालो रुपधारण गरेर जनताको ढोका ढोकामा जाने र चुनाव जिते पछि बाघ बनेर गर्जने नेताहरु पनि बग्रेल्ती छन् ।

परिस्थिति जस्तो भएपनि जनताले सही नेतृत्व छनोट गर्नुको विकल्प छैन । जसले जे भनेपनि, गाउँ समाज र देशको सर्वाङ्गिण विकासको लागि खरो र स्मार्ट नेता नेतृत्वविना कल्पना गर्न सकिन्दैन । त्यसैले परालको थुप्रोबाट सियो केलाएर निकाले झैँ खराबहरुको हुलभित्र लुकेका थोरै अशल नेताहरु चयन गर्ने जिम्मा फेरि एकपटक जनताको हातमा आउँदैछ ।

शुक्राचार्यले भनेका छन्– जहाँ पापी राजा हुन्छन्, जनता (प्रजा) पनि अधर्मी नै हुन्छन् । अर्थात् जस्तो समाज उस्तै नेता ।

गाउँ, समाज, वजारमा उपलब्ध स्रोत साधन पहिचान गर्ने सक्ने । सामाजिक, आर्थिक सम्बन्धका तन्तुहरू केलाउन सक्ने । गाउँठाउँ माटोको कंण–कंण बुझ्न सक्ने । इतिहास र वर्तमानलाई पढेर भविष्यलाई देख्न सक्ने । एक ग्राम कुरा, तर हजार टनको काम गर्ने । जनता संगसंगै दुःखमा रुने, खुसीमा नाच्ने । आफनो ठाउँलाई सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध बनाउने सक्ने ।

जनजीवन, जाति, भाषा, धर्म र संस्कृति रंगहरुलाई जोडेर इन्द्रेणी समाज र राष्ट्रको निर्माण गर्न सक्ने गुणस्तरीय, सक्षम, सवल र स्मार्ट नेतृत्व छनोट गर्न सके मात्र स्मार्ट सरकार पाउन सकिन्छ । अनि मात्र गाउँठाउँले काँचुली फेर्न सक्छ । देशले चोला फेर्छ । समृद्धिको सुर्य उदाउँनेछ । यी सारा कुराहरु अशल नेता र अशल नेतृत्वबाट मात्र सम्भव हुन्छ । हाम्रो राष्ट्र यो अवस्थामा रही रहनुमा हामी जनता पनि उतिकै जिम्मेवार छौँ ।

पटक–पटक भुल गरेका छौँ । शुक्राचार्यले भनेका छन्– जहाँ पापी राजा हुन्छन्, जनता (प्रजा) पनि अधर्मी नै हुन्छन् । अर्थात् जस्तो समाज उस्तै नेता । त्यसैले सबैले हेक्का राख्नु पर्ने कुरा के छ भने, जाँड खाएर जाहेर गरेको मतले जंडिया नेता पाईन्छ । पैसा खाएर हानेको भोटले घुसिया नेता पाईन्छ । जे रोप्यो त्यहि फल्छ ।

सिस्नु रोपेर तुलसी उम्रिदैन भन्ने कुरा सवैले ख्याल गर्न एकदम जरुरी देखिन्छ । नत्र फेरि पाँच वर्षसम्म घाम तापेर बस्नुपर्ने हुन्छ । हाम्रो धमिलो राजनीति, भोलि पनि धमिलै रहनेछ । हामी गरिब छौं, र गरिब नै रहिरहने छौं । हाम्रा प्रणाली भ्रष्ट छन्, भ्रष्ट नै रहिरहनेछन् । उहि भट्टीको गफ दोहोरिने छ । त्यहि सडकको नाटकहरु फेरि देखिनेछन् ।

तपाईको प्रतिक्रिया