ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाँउ पालिकाका प्रमुख नवराज केसीले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् ।

प्रमुख केसीले बिहीबार राति गाउँपालिकाका प्राविधिक मिनबहादुर कार्कीलाई कुटपिट गरेका हुन् । केसीको कुटाईवाट त्यसै गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक मिनकुमार कार्की घाइते भएका हुन् । घटना बिहीबार राति भएको र घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताइएको छ ।

बेलुकीको खानपानका बेला विवाद भई सामान्य झगडा भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । घटनाको बारेमा टेलिफोनवाट जानकारी भए पनि जिल्ला प्रशासन कार्यालयमा कुनै पनि उजुरी नआएको तथा घटनाबारे गाँउपालिकामा नै छलफल भएको जानकारी आएको प्रजिअ पन्तले बताउनु भयो । गाँउपालिका प्रमुख केसीको कुटाईवाट घाइते भएका कर्मचारी कार्कीले बिना कारण आफूमाथि कुटपिट भएको बताएका छन् ।

गाँउपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि लागत अनुमान पास गर्न दबाब दिएको र काम नभएको योजनाको सम्पन्न लागत अनुमान गर्न नमानेकाले आफूमाथि कुटपिट गरेको पीडित कार्कीले आरोप लगाएका छन् ।

घटनाको बारेमा गाँउपालिका प्रमुख नवराज केसीले टेलिफोनमा यसबारे प्रमुख कार्यकारी अधिकृतसँग कुरा भएको बताउँदै घुमाउरो तरिकाले स्वीकार गरे पनि आफुले नकुटेको दावी गर्नुभयो । आफ्नै कर्मचारी भएको बताउँदै बाहिर आएका कुरा वाहियात भएको तर्क गर्नुभयो ।

यस अघि पनि चम्पादेवी गाँउ पालिकाका प्रमुख केसीले सोही गाँउपालिका वडा नं. ९ का सर्वसाधारण काजी सार्कीलाई वाम गठबन्धनमा लागेको आरोपमा कुटपिट गर्दा सार्कीको दाँत नै भाँचिएको थियो । केशीको अराजक व्यवहारले गाउँपालिकाका कर्मचारी त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया