काठमाडौं । चितवनकी ३५ वर्षीया विपना (नाम परिवर्तन)का दुई सन्तान छन्। ३० वर्षको उमेरभित्रै दुई सन्तान जन्माइसकेकी विपनाले पछिल्लो ५ वर्ष निकै पीडा भोग्नुपर्‍यो, कारण ३ पटकको गर्भपतन।

दुई सन्तानकै साथमा रहेकी उनलाई सन्तानको रहर पूरा भइसकेको थियो। तैपनि अनिच्छित गर्भ रहन पुगेकाले पतन गराउनु उनको बाध्यता बन्यो। यसरी पटकपटक गर्भपतन गराउँदा उनले आफैंलाई बाजी थापेकी छन्।

पहिलोटक गर्भपतन गराउन जाँदा श्रीमानलाई पनि सँगै लिएर गएकी विपनाले दोस्रो र तेस्रो पटक भने श्रीमानसँग गइनन्। दोस्रो र तेस्रो पटकको गर्भपतनका बेला पनि श्रीमान् साथमा जान सक्ने अवस्था हुँदाहुँदै पनि उनले श्रीमानलाई नलगेकी हुन्। किन त? अस्पतालमा चिकित्सकहरूले श्रीमानलाई गाली गर्ने डरले श्रीमान् हुँदाहुँदै पनि गर्भपतनका बेला उनले नलगेकी हुन्।

यति मात्र होइन, चिकित्सकले गर्ने गालीबाट बच्नकै लागि विपनाले अर्को कुरा पनि झुटो बोल्नुपर्‍यो। तेस्रोपटक गर्भपतन गराउँदा पनि आफूले दोस्रोटक मात्र गर्भपतन गराएको भने उनले चिकित्सकलाई पनि ढाँट्नुपरेको थियो। पटकपटक गर्भपतन असुरक्षित हुने कुरा उनलाई पनि थाहा थियो। यसै विषयमा चिकित्सकको थप गाली खान चाहन्नथिन्, असुरक्षित हुने थाहा हुँदाहुँदै पटकपटकको बाध्यताबारे उनी चिकित्सकसँग खुलेर कुरा गर्न सक्दिनथिन्, चिकित्सकदेखि उनलाई एक किसिमको डर पनि लाग्थ्यो।

000

तीनपटकको गर्भपतनपछि विपनाको शरीर कमजोर भएको छ। विपनाले श्रीमानलाई यौनसम्पर्कका समयमा अस्थायी साधन (कन्डम)को प्रयोग गर्न भने पनि श्रीमानले मान्दैनन्। श्रीमानले यौन सन्तुष्टिको मात्रा कम हुने भनेपछि विपनाले थप केही भनिनन्। श्रीमानको डर र समाजको इज्जतका लागि पनि उनले सबै पीडा चुपचाप सहिन्।

श्रीमानलाई स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्नका लागि विपनाले आग्रह गरेकी थिइन्। तर श्रीमानले मान्दैनन्। महिलाभन्दा पुरुषलाई स्थायी बन्ध्याकरण गर्न सजिलो हुन्छ भन्ने सुनेकी विपनाले श्रीमानलाई बन्ध्याकरण गर्न आग्रह गरेकी थिइन्। तर उनको उक्त प्रयास सफल भएन। अन्त्यमा विपनाले नै स्थायी बन्ध्याकरण (मिनिल्याप) गरिन्। मिनिल्याप गरेको एक वर्ष भएको छ। श्रीमानले बन्ध्याकरण गरिदिएका भए न त विपनाले पिडा सहनुपर्ने थियो, न त श्रीमानप्रति कुनै गुनासो नै हुन्थ्यो।

‘श्रीमानले अस्थायी साधनको प्रयोग नगरेपछि मैले आँफैले प्रयोग गर्न थालें। कहिले सुइ लगाएँ। कहिले पिल्स खाएँ। कहिले अरु उपाए अपनाएँ,’ विपना भन्छिन्, ‘यति हुँदाहुँदै पनि कहिलेकाँही गर्भ बस्दोरहेछ। अस्थायी साधन मेरो शरीरमा त्यति फिट भएजस्तो लागेन। सञ्चो गरेको जस्तो भएन। मेरो शरीरलाई गाह्रो हुने कुरा श्रीमानले बुझ्नुभएन। त्यसपछि आँफैले स्थायी बन्धाकरण गराएँ।’

000

करिब ४ महिना अगाडि काभ्रेकी सीमा भुजेल (नाम परिवर्तन) डा. तुम्ला शाहको क्लिनिकमा पुगिन्। दुई सन्तानकी आमा बनिसकेकी उनी अर्को सन्तान जन्माउने पक्षमा थिइनन्। गर्भ निरोधका लागि अस्थायी चक्की खाने गरेकी उनको महिनावारी नियमित भएन।

महिनावारी नियमित नभएकै कारण गर्भ बसेको तेस्रो महिनामा मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन्। यसपछि गर्भपतनका लागि सल्लाह लिन उनी डा. तुम्लासँग पुगेकी थिइन्।

नेपाल समय

डा तुम्ला शाह

डा तुम्लाले नेपालको विद्यमान कानुनी व्यवस्था अनुसार गर्भपतन नगर्न सल्लाह दिइन्। शल्यक्रियामार्फत् दोस्रो सन्तानलाई जन्म दिएकी उनले फेरि सन्तान जन्माउनुपर्ने भयो।

दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्नका लागि उनले श्रीमानसँग सल्लाह पनि गरेकी थिइन्। श्रीमानलाई भ्याक्सेटोमी गर्न आग्रह पनि गरिन्। तर श्रीमानले मानेनन्।

स्थायी बन्ध्याकरण गरे कमजोर भइन्छ भन्ने मान्यता उनका श्रीमानमा थियो। विदेशमा गएर काम गर्नुपर्ने भएकाले आफू कमजोर भए परिवारमा समस्या पर्न सक्छ भन्ने मानसिकता उनका श्रीमानमा थियो। कमजोर भइन्छ भनेर स्थायी बन्ध्याकरण नगरेका उनका श्रीमानले अस्थायी साधन पनि प्रयोग गर्दैनथे। सिमालाई आँफै सचेत हुनुको विकल्प थिएन।

सीमाले १२ वर्षसम्मको लागि उपयोगी हुने अस्थायी साधन कपर-टीको प्रयोग गर्न श्रीमानसँग सल्लाह गरिन्। तर कपर-टीमा हुने तारले यौनसम्पर्कमा बाधा उत्पन्न गर्ने भन्दै त्यसो नगर्न श्रीमानले दबाब दिए।

अस्थायी चक्की खाँदा आफू कमजोर भएको महसुस गर्थिन् सीमा। तर श्रीमानले कुनै पनि विकल्प नमानेपछि अर्को बच्चालाई पनि जन्म दिएपछि आँफैले स्थायी बन्ध्याकरण गर्ने निर्णयमा उनी पुगेकी छन्। ‘यौन सम्पर्कका क्रममा कपर-टीमा लगाइएको तामाको तारले यौन सम्पर्कका बेला कुनै बाधा गर्दैन,  सन्तुष्टिमा फरक पार्दैन,’ डा तुम्लाले भनिन्।

000

महाराजगञ्जका फार्मेसी सञ्चालक उमेश गिरी मासिक ३ सय प्याकेट कन्डम बिक्री गर्छन्। उनका अनुसार पिल्स, डिपो, आइयूसीडीलगाएत महिलाले प्रयोग गर्ने अस्थायी साधन भने कन्डमको तुलनामा तीन गुणा बढी बिक्री हुने गरेको छ।

परिवार नियोजनको अस्थायी साधन कन्डम।

महिलाले प्रयोग गर्ने अस्थायी साधनका अधिकांश ग्राहक घरजम गरेर बसेका विवाहित महिला हुन्। उनीहरूमध्ये धेरैजसो नियमित ग्राहक हुन्। तर पुरुषले प्रयोग गर्ने साधन कन्डमका ग्राहक नियमित हुँदैनन्। महिलाले प्रयोग गर्ने साधनको बिक्री बढी हुनु र उनीहरू नियमित हुनु तथा कन्डमका ग्राहक कम हुनु र उनीहरू नियमित पनि नहुनुले परिवार नियोजनको बढी भार महिलामा परेको उनको अनुभव छ।

000

नेपाली समाजमा यस्तो समस्या धेरै दम्पतीमा देखिन्छ। वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला शाहका अनुसार अझै पनि पुरुषहरू परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झट मान्छन्, स्थायी बन्ध्याकरण गर्न हिच्किचाउँछन्। ‘हाम्रो समाजमा पुरुषहरुले अस्थायी साधनको प्रयोग गर्न झन्झट मान्छन्। स्थायी बन्ध्याकरण गर्न पनि मान्दैनन्। जसको बोझ महिलाले बोक्नुपरेको छ,’ डा तुम्ला भन्छिन्।

स्वास्थ्य मन्त्रालय परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा तथ्यांक अनुसार नेपालमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने तथा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या बढी छ। शाखाकी प्रमुख कविता अर्यालका अनुसार परिवार नियोजनका साधनको प्रयोग गर्ने जिम्मेवारी महिला र पुरुष दुवैको भएपनि महिलाले बढी भार खेप्नुपरेको देखिएको छ।

‘परिवार नियोजनको जिम्मेवारी महिला र पुरुष दुवैको बराबर हो। तर हाम्रो समाजमा परिवार नियोजनका लागि महिलाले बढी भार बोक्नुपरेको छ,’ अर्याल भन्छिन्, ‘अर्को कुरा पुरुषका लागि अस्थायी साधन छनौट गर्ने विकल्प कम छ। महिलाका लागि विकल्प बढी छन्। तर बढी विकल्प भएका कारण बढी जिम्मेवारी महिलाका लागि हुने भन्ने चाहिँ होइन।’

पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डम हो। महिलाको लागि फेमिडोम (महिला कन्डम), गर्भनिरोधक पिल्स, तीन महिने सुई संगिनी (डिपो), आइयूसीडी, इम्पान्टलगायतका अस्थायी साधन छन्।

नेपाल समय

परिवार नियोजनका साधनहरू।

त्यस्तै पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनील्याप स्थायी बन्याकरणका उपाय हुन्। अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने डिपो, इम्प्लान्ट, पिल्स, आईयूसीडीभन्दा कन्डम सुरक्षित हुन्छ। तर पुरुषले महिलाको आफ्नो यौन सन्तुष्टिलाई मात्र प्राथमिकता दिँदै महिलाको शरीरलाई बेवास्ता गर्दा पटकपटक गर्भपतन गर्नुपर्ने बाध्यतामा पुग्छन्। यति मात्र होइन, यौनजन्य रोग संक्रमणको हुने सम्भावना कम गर्न पनि पुरुषले प्रयोग गर्ने कन्डम प्रभावकारी मानिन्छ। महिलाले परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेकै भएपनि यौनजन्य रोग संक्रमणबाट बचाउन सक्दैन।

000

महाशाखाको तथ्यांक अनुसार नेपालमा जम्मा ३७ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन्। तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ मा जम्मा २४ लाख ४४ लाख ४१७ जनाले स्थायी तथा अस्थायी साधन प्रयोग गरेका छन्। जसमध्ये स्थायी बन्ध्याकरण गर्नेको संख्या १२ लाख ९९ हजार ५५२ छ। अस्थायी साधन प्रयोग गर्नेको संख्या ११ लाख ४४ हजार ८६५ छ।

स्थायी बन्ध्याकरण गर्नेमा महिलाको संख्या ९ लाख ९२ हजार ३६ रहेको छ भने पुरुषको संख्या ३ लाख ७ हजार ५१६ छ। त्यस्तै ११ लाख ४४ हजार ८६५ अस्थायी साधनको प्रयोगकर्तामध्ये जम्मा १ लाख ६२ हजार ५३९ मात्रै पुरुष छन्।

डा तुम्लाका अनुसार नेपाली समाज पुरुषप्रधान भएपनि परिवार नियोजनका साधन प्रयोगमा भने महिला अघि छन्। यसको कारण चाहिँ अझै पनि परिवार नियोजनको विषयलाई घरायसी कामका रूपमा लिनु पनि हो, यद्यपि यो दम्पतीका दुवै सदस्यको समान जिम्मेवारी हो।

डा तुम्लाका अनुसार परिवार नियोजन तथा गर्भनिरोधक सामग्रीका विषयमा स्वास्थ्यकर्मीले दिने परामर्श प्रभावकारी छैन। ‘हाम्रोमा परामर्श दिने तरिका कमजोर छ,’ आफू कहाँ आउने दम्पतीलाई प्रभावकारी परामर्श दिने डा तुम्लाको दाबी छ।

बन्ध्याकरणबारे फैलाइएका मिथ्या मिथले स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम भएको डा तुम्लाको अनुभव छ। ‘परिवार नियोजनका साधनमा महिलाको सहभागिता बढी छ। परिवार नियोजनका साधनको प्रयोग महिलाको मात्रै जिम्मेवारीका रुपमा हेरिन्छ। पुरुषहरुले महिलालाई मात्रै साधनको प्रयोग गर्न लगाउँछन्,’ डा तुम्ला थप्छिन्, ‘यदि तिमीले साधन प्रयोग गरिनौ भने तिमीलाई नै गाह्रो हुन्छ भन्ने मानसिकताले पुरुषले महिलालाई अस्थायी साधनको प्रयोगमा दबाब दिन्छन्। यसकारण हाम्रो समाजमा प्रजनन स्वास्थ्य समस्या महिलाहरूले बढी भोग्नुपरेको छ।’

कतिपय अवस्थामा महिलाहरु सक्षम नहुँदा पनि यो समस्या देखिएको उनको विश्लेषण छ। ‘महिलाहरू विवाहपश्चात पनि पुरुषकै भर पर्न चाहन्छन्, काम गर्न खोज्दैनन्। जसले गर्दा आफूलाई नराम्रो हुने भएपनि पुरुषले भनेका सबै कुरा मान्नुपर्ने अवस्था छ,’ शाह भन्छिन्।

सन्तान जन्माउनु अघिदेखि पछाडिसम्म महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन्। शरीरमा हुने परिवर्तनप्रति महिला आफैँ सचेत हुनुपर्ने शाहको भनाइ छ। ‘महिलाहरु आँफैले चासो नदेखाएसम्म पुरुषले महिलाबारे महत्त्व दिँदैनन्। परिवार नियोजनका साधनको प्रयोगमा महिला र पुरुषको समान सहभागिता हुनु जरुरी छ,’ उनी बताउँछिन्, ‘पुरुषले गर्ने स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्दा आफ्नो श्रीमान् कमजोर हुने भ्रम मात्रै हो। तैपनि कतिपय महिला भने पुरुषलाई स्थायी बन्ध्याकरण नगराउन पनि चाहन्छन्। महिलाहरुकै कमजोरीका कारण पनि पुरुषहरुलाई दबाब दिन सजिलो पनि भएको छ।’

000

जनस्वास्थ्यविद्हरु परिवार नियोजनका अस्थायी साधनहरु महिलाको शरीर केन्द्रित भएकाले पनि महिलाको संख्या धेरै देखिएको बताउँछन्।

परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालका अनुसार पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डमको तुलनामा महिलाले प्रयोग गर्ने अस्थायी साधनको असर धेरै छ तर पनि पुरुषले यो कुरालाई बुझ्दैनन्।

त्यस्तै, पुरुष बन्ध्याकरणबारे विभिन्न अफवाहरु फैलाइन्छ, त्यसले गर्दा पनि पुरुषहरु बन्ध्याकरण गर्न मान्दैनन्। भ्यासेक्टोमी भन्दा मिनिल्याप जटिल हो तर पुरुषहरु यसलाई बुझ्न खोज्दैनन्। स्थायी बन्ध्याकरण गराएमा यौन क्रियाकलापमा ह्रास आउँछ भन्ने मानसिकता पुरुषमा देखिन्छ।

महिलाभन्दा पुरुषको शरीरलाई महत्त्व दिएकाले परिवार नियोजनको साधनमा पुरुष सहभागिता कम भएको विज्ञहरु बताउँछन्।  ‘परिवार नियोजनका साधन प्रयोगमा महिलाले निर्णय गर्न पाउँदैनन्। अधिकांश पुरुषहरु महिलाहरुलाई नै परिवार नियोजनको साधन प्रयोग गर्न बाध्य बनाउँछन्। यो विषयलाई महिला/पुरुष दुवैले समान रूपमा आत्मसात गर्न  सक्नुपर्छ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी ऐन २०७५ को दफा ११ मा बलपूर्वक परिवार नियोजनका साधन गराउन नहुने उल्लेख छ। यस्तै दफा १२ मा बलपूर्वक गर्भनिरोधकका साधन प्रयोग गराउन नहुने सोही ऐनको दफा १२ मा व्यवस्था गरिएको छ। पारिवारिक मामलाको विषय पनि भएकाले यसलाई बाहिर ल्याउन समस्या पनि रहेको अर्याल बताउँछिन्।

तपाईको प्रतिक्रिया