काठमाडौं । कुनै बेला शेरबहादुर देउवाको पक्षधर भएको कारण तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबाट कांग्रेसको काठमाडौं जिल्ला सभापतिबाट समेत हटाइएका प्रकाशमान सिंहले अब देउवाको नेतृत्व खोस्ने कसरत सुरु गरेका छन् ।

कोइरालाले काठमाडौं सभापतिबाट हटाए पनि पोखरा महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएपछि कोइराला क्याम्पसमा हल्लिखल्ली चलेको थियो । नेपाली कांग्रेस विभाजन हुँदा देउवाको नेतृत्वमा गठन भएको प्रजातान्त्रिक कांग्रेसको नेता भएका सिंह देउवाबाट पार्टी नचल्ने निचोड निकाल्दै फेरि कोइराला क्याम्पमै फर्किएका थिए ।

कोइराला क्याम्पसमा गएपछि देउवाबाट धेरै पेलिएका सिंहले अब भने देउवाको नेतृत्व खोसेर आफैं संसदीय दलको नेता र पार्टी सभापति बन्ने कसरत थालेका छन् । काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंहले संसदीय दलको नेता बन्न एउटा गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग तालमेल थालेका छन् ।

आफ्नो गुटको रामचन्द्र पौडेल नै पराजित भएपछि गणेशमान सिंहको विरासत धान्न पनि प्रकाशमानले संसदीय दलको नेता ताकेका हुन् । यदि अहिले केही गरी संसदीय दलको नेता बन्न नसके पनि पार्टीको नेतृत्व लिने विश्वासमा सिंह पुगेका छन् ।

यदि संसदीय दलको नेता बन्न सकेमा भने सजिलै पार्टी सभापति देउवा वा उनको पक्षबाट खोस्न सकिने निष्कर्षमा सिंह छन् । देउवाले आफूपछि पार्टी सभापति र प्रधानमन्त्री श्रीमती आरजु राणालाई बनाउने प्रयास गरे पनि कैलालीबाट उनी पराजित भएपछि फेरि एनजीओकर्मीको भूमिकामा आरजु पुगेकी छिन् ।

आरजु एनजीओकर्मीबाट श्रीमान् शेरबहादुरपछि लागेर राजनीतिमा हामफालेकी हुन् । राजनीतिमा वामे सर्दै गरेकी आरजु एक्कासी राजनीतिको समुद्रमा फालहालेपछि उनी त्यतै डुबेकी छिन् । उनी अब निस्केर पार्टी र संसदीय दलको नेतृत्व गर्ने सम्भावना धेरै नै कम भएको छ ।

उनी राजनीतिमा आएको देउवा पक्षकै धेरै नेताहरुलाई मन परिरहेको थिएन । यही बेला उनी पराजित भएपछि धेरै नेताहरुलाई कुचो लगाउनुपर्नेमा हावाले उडायो जस्तै भएको छ । सिंहले कांग्रेसको नेतृत्व कब्जा गरेमा भ्रष्टाचारीहरु पाखा लाग्ने देखिन्छ ।

सिंहमाथि शाहीकालमा अख्तियार लगाएर तत्कालीन राजा ज्ञानेन्द्रले छानबिन गरे पनि ती सबै कारण दे उवा थिए । सिंह आफैंले कुनै भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नुपर्ने अवस्थाका नेता पनि होइनन् । देउवाको दबाबमा मेलम्चीसम्बन्धी केही निर्णय गरे पनि पैसा बुझ्ने काम भने सबै देउवा पक्षले गरेको कारण उनी देउवासँग टाढिएका हुन् ।

केही  नेताहरुले सिंहलाई प्रयोग गरेर राष्ट्र लुट्ने प्रयास गरे पनि तिनीहरु त्यति सफल हुँदैनन् । अहिले नेपाली कांग्रेस भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । कांग्रेस भन्नासाथ भ्रष्ट र डनहरुको अखडा भएको सन्देश गएको बेला यदि सिंहले पार्टी कब्जा गरे पनि धेरै स्वार्थी समूह पाखा लाग्ने भन्दै कृष्णप्रसाद सिटौला समूह पनि सकारात्मक नै देखिन्छ ।

तर, सिटौला समूह ठूलो नभएको कारण उसले आफ्नो स्वार्थीको लागि अन्तिम समयमा जता पनिसाथ दिनेछ । कोइराला पक्षधरहरु भने देउवालाई भन्दा सिंहलाई मान्न तयार देखिन्छ । गणेशमान सिंहको योगदानको  कारण अहिले कोइराला परिवारको तर्फबाट राजनीतिको नेतृत्व गर्न तम्सिएकाहरु पनि प्रकाशमान सिंहको अगाडि झुक्न बाध्य हुने देखिन्छ ।

कांग्रेसलाई सपार्न अब सबैले स्वीकार्य सिंहबाहेक अर्को विकल्प तत्काल आउने सम्भावना पनि कम छ । किनकि धेरैले कोइरालाहरुको इतिहासबारे विरोध गरेको र देउवालाई विश्वास नभएको नेताको रुपमा हेरिरहेको बेला सिंहलाई भने विश्वासिलो र कुनै दाग नलागेको नेताको रुपमा लिएका छन्, त्रिशुली प्रवाहमा उल्लेख छ ।

सिंहले देउवाको नेतृत्व जसरी पनि खोस्ने योजना बनाएर अगाडि बढेको कारण देउवा पनि झस्कन पुगेका छन् । किनकि कोइरालाहरुको बारेमा एक किसिमको धारणा बनिसकेको छ । समर्थन गर्नेहरु अन्धभक्त र विरोध गर्नेहरु पनि पू्रै विरोधमा छन् । तर, सिंहलाई पूर्णतः विरोध गर्ने सामर्थ कसैसँग पनि देखिँदैन । त्यही भएर सिंहप्रति देउवा बढी डराएका छन् ।

तपाईको प्रतिक्रिया