तेह्रथुम । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको जस्तो सुन्तला नफलेको किसानहरुले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तला नफलेको किसानले बताए ।
यसवर्ष गतवर्षभन्दा कम मात्रै सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवनसिंह बुढाथोकीले बताउनुभयो । ‘सुन्तला यसपालिका खासै फलेन, किसान खेतीप्रति नै निराश देखिएका छन्,’ उहाँले भन्नुभयोे । फूल खेल्ने समय र फल लाग्ने समयमा असिना पानी परेका कारण सुन्तला उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो ।
केही किसानको बगानमा स्याहार नपुग्दा रोगको संक्रमण रहेको समेत उहाँले स्वीकार्नुभयो । सुन्तलामा यो वर्ष ऐजेरुको समस्या बढी देखिएको छ । यो वर्ष गतवर्षको आधा मात्रै सून्तला फलेको आठराई गाउँपालिका–४, इवाका किसान प्रल्हाद उप्रेतीले बताउनुभयो । ‘यसपालिका सुन्तला त्यति फलेनँ, तर भाउ चाँहि राम्रो छ,’ उहाँले भन्नुभयो । गतवर्षको तुलनामा यसवर्ष ५० प्रतिशत नै कम सुन्तला फलेको मेन्छ्यायेम गाउँपालिका–५ का किसान भीम भट्टराईले बताउनुभयो ।
सुन्तला खेती लगाएका जिल्ला सबै क्षेत्रका किसानको भनाइ अनुसार यो वर्ष गतवर्षभन्दा आधा मात्रै सुन्तला फलेको छ । उत्पादन घटेपछि मूल्य भने उच्च देखिएको छ । गतवर्ष ४० रुपैयाँ प्रति केजीले कारोबार भएको सुन्तला यो वर्ष ७० रुपैयाँमा कारोबार भइरहेको छ । बीस रोपनी जमीनमा सुन्तला खेती लगाएका कृषक उप्रेतीले भन्नुभयो, ‘गतवर्ष पनि सुन्तलाबाट राम्रो कमाई भयो, यो वर्ष अझै आश गरेको थिएँ, तर मुल्य बढेपनि उत्पादनचाँहि घट्यो ।’
यो वर्ष विगतभन्दा स–साना दाना लागेको छथर गाउँपालिका–४, फाक्चामाराका किसान खगेन्द्रराज दाहालले बताउनुभयो । ‘सुन्तला नपाकी झर्ने, पात पहेँलो हुने र बोटै मर्ने, ऐजेरु लाग्ने लगायत रोगका कारण यो वर्ष सुन्तला राम्रो फलेनँ,’ उहाँले भन्नुभयोे । दाहालले पनि करिब २५ रोपनी जमिनमा सुन्तला खेती लगाएका छन् । खेतीको क्षेत्र बर्सेनि बढाए पनि रोग किराको संक्रमणका कारण राम्रो आम्दानी लिन नसकेको उहाँले बताउनुभयो ।
‘रोगको निदानका लागि कृषि प्राविधिकलाई देखाए पनि समाधान भएन, माटो परीक्षण गरेरै खेती थालेको थिएँ’, उहाँले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार सबै स्थानीय तहमा सुन्तला खेती हुन्छ । तर त्यसमध्ये पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ्ग नगरपालिका तथा छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ ।
जिल्लाका १ हजार १३ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको कार्यालयको तथ्यांक छ । गतवर्ष जिल्लामा ५ हजार ८ सय ४२ मेट्रिक टन सुन्तला फलेको थियो । यहाँ उत्पादित सुन्तला पुर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुदै भारततर्फ समेत निर्यात हुने गरेको छ ।