पाँचथर । नेपाल एपिएफ क्लबको फुटबल टोलीका कप्तान गणेश लावती गृह जिल्लामा सम्मानित भएका छन् । फुटबलको माध्यमबाट जिल्लालाई चिनाउँन योगदान गरेको भन्दै पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले उनलाई संयुक्त रुपमा शुक्रबार सम्मान गरेको हो । सम्मानमा गणेशले १ सय २५ सिसीको मोटरसाइकल र ताम्रपत्र प्राप्त गरे ।

फिदिम स्पोर्टिङको आयोजनामा फिदिममा नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । शनिबार हुने फाइनलमा सुनसनरी ११ र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ ।

पाँचथरको यासोकका गणेशको खेल जीवन दुई दशकभन्दा लामो भइसकेको छ । २०५२ सालमा सौखिन रुपमा फुटबल खेल्न सुरु गरेका उनले २०५५ /०५६ मा इलाममा हुने खुकुरी कप, पाँचथरमा हुने युवा कप खेल्दै फुटबल यात्रा अघि बढाएका थिए । परिवारको लाहुरे बनाउने सपना लत्याउदै फुटबल खेलाडी बनेका गणेशले ए डिभिजन क्लब फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबाट पनि खेलेका थिए ।

उनले पोखराको संगम क्लबबाट पनि खेलेका थिए । २०५९ मा एपिएपमा आबद्ध गणेश क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । २०६० सालमा भुटानविरुद्ध खेल्दै गणेशले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनको नाममा एउटा अन्तर्राष्ट्रिय गोल छ । उनले प्यालेस्टाइनविरुद्ध गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया