दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते बाट सुरु हुँदैछ ।
wiman Anant

राष्ट्रिय टोलीका नियमित सदस्य विमल र अनन्तले थ्री स्टारसँग ६ महिनाको सम्झौता गरेका छन् । ‘थ्री स्टारसँग जोडिन पाउँदा निकै नै खुशी छु’ , विमलले हाम्रो खेलकुद डट कमलाई भने , ‘अहिले ६ महिनाको लागि सम्झौता गरेका छौं । पछि थपिन पनि सकिन्छ । विभिन्न उमेर समूह नेपाली टोलीको कप्तानी समेत गरिसकेका विमलले भने, थ्री स्टारलाई धेरै भन्दा धेरै उपाधि जिताउने लक्ष्य छ ।’

मोफसलका विभिन्न प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी लगायतका क्लबबाट खेलेका अनन्त पनि सम्झौताबाट उत्साहित छन् । ‘थ्री स्टारबाट पहिलो पटक खेल्न लागेको छु । यसमा उत्साहित छु ‘,अनन्तले भने , ‘हरेक खेलाडी आफ्नो क्लबलाई उपाधि जिताउन दृढ हुन्छन् , म पनि दृढ छु ।’

एन्फा एकेडेमीका उत्पादन रक्षक अनन्त र स्ट्राइकर विमलले युरोपमा समेत प्रशिक्षण गर्ने अवसर पाइसकेका छन् । विमलको कप्तानीमा नेपालले दुई वर्षअघि साफ यू १९ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा अनन्त पनि टोलीका महत्वपूर्ण सदस्य थिए । त्यसपछि बंगलादेशमा बंगबन्धु गोल्ड कप, नेपाली यू २३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र गत वर्ष एएफसी सोलिडारिटी कप जित्दा विमल र अनन्त दुवै टोलीको महत्वपूर्ण सदस्य थिए ।

ए डिभिजन लिगलाई लक्षित गर्दै विमल र अनन्तसँग सम्झौता गरेको जनाउँदै थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘अब लिगको टुंगो नलागेपनि हामीले विमल र अनन्तसँग सम्झौता गरेका छौं । उनीहरुको आगमनपछि टोली थप मजबुद हुने विश्वास लिएका छौं ।’

विमलले यसअघि थ्री स्टारबाट भारतमा एक नकआउट प्रतियोगिता खेलिसकेका छने भने अनन्तले खप्तडबाट थ्री स्टारबाट डेब्यू गर्नेछन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खप्तडका लागि सुदूरपश्चिम जानुअघि खेलाडीको अन्तिम छनोट गरिने जानकारी दिए । खप्तडलाई लक्षित गर्दै थ्री स्टारले गत महिनाको अन्त्यबाट प्रशिक्षण थालेको थियो ।

तपाईको प्रतिक्रिया