काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार पूर्ण रुपमा असफल  भएको बताएका छन्। पत्रकार सम्मेलनमार्फत विपक्षी दलको धारणा प्रस्तुत गर्ने भनिएपनि कोरोना संक्रमणका कारण ओलीले विज्ञप्ति जारी गर्दै सरकारमाथि विभिन्न आरोप लगाएका छन्।

उनले अदालतको साँठगाँठमा संविधानको  अपव्याख्याको जगमा वर्तमान गठबन्धनको सरकार बनेको र त्यसका दुष्प्रभाव प्रकट हुँदै गइरहेको बताएका छन्।  सरकार गठन भएको ६ महिना हुँदा पनि देश अगाडि बढ्नुको सट्टा थप पछाडि परेको ओलीको भनाई छ।

सभामुखका कारण प्रतिनिधि सभा लामो समयदेखि अवरुद्ध भएको र आम नागरिकको दैनिक समस्याका बारेमा संसदमा छलफल हुन नसकेको ओलीले बताएका छन्। यसमा प्रमुख प्रतिपक्षी दललाई दोष दिएर सरकार आफ्नो कमजोरीबाट पछि हट्न खोजेको उनको भनाई छ।

राज्यका तीनै अंगहरुलाई संकटोन्मुख दिशामा धकेलेर राष्ट्रलाई नै असफलतातर्फ  उद्वत गर्न सरकार लागि परेको ओलीको आरोप छ। पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापन गरेर नयाँ बजेट ल्याएको र यसले अर्थतन्त्रको सबै सूचकहरुलाई गम्भीर अनिष्टतर्फ धकेलेको उनले बताए।  सरकार गठन भएपछि कुनैपनि ठूला विकास निर्माणका कामहरु अघि बढ्न नसकेको विज्ञप्तिमा उल्लेख छ।

नागरिकहरुले थेग्नै नसक्ने गरी महंगी बढेको, मुद्रास्फिती नियन्त्रण हुन नसकेको, अर्थतन्त्र नकारात्मक हुने क्रममा रहेको लगायत विभिन्न आरोपहरु सरकारमाथि लगाएका छन्। ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनमा झुठा विवरण र पूर्ववर्ती सरकारकै कामलाई आफूले गरेको भनेर प्रचार गरेप्रति पनि ओलीले असन्तुष्टि जनाएका छन्।

त्यस्तै सरकारले समयमै निर्वाचन गर्न नचाहेको पनि उनले बताएका छन्। संविधानले स्थानीय तह रिक्त हुने परिकल्पना नगरेको बताउँदै ओलीले संविधानले निर्दिष्ट गरेको समयमा नै निर्वाचन गर्न सरकारलाई चेतावनी दिएका छन्।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि सरकार असफल भएको उनको दाबी छ। पूर्ववत् सरकारले ल्याइदिएको खोप समेत सबै नागरिकको पहुँचमा पुर्याउन नसकेको भन्दै ओलीले गम्भीर आलोचना गरेका छन् ।

पूर्णपाठ यस्तो छः 

तपाईको प्रतिक्रिया