काठमाडौँ । सत्तारुढ दल नेपाल कांग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत सात बुँदे धारणा सार्वजनिक गर्दै दुई देश बीचका सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यही विषयलाई लिएर कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको दोहोर्‍याएको छ । महामन्त्रीद्वय थापा र शर्माले यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्नेमा समेत कांग्रेस स्पष्ट भएको दाबी गरेका छन् ।

कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेको छ ।

लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

पौष ३०, २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।

नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहो¥याउन चाहन्छ ।

१) लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।
२) नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।
३) कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।
४) नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।
५) दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।
६) नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।
७) दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा                      गगनकुमार थापा
महामन्त्री                                  महामन्त्री

तपाईको प्रतिक्रिया