काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग  शुक्रवार भएको छलफलमा आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने गरी सरकार समक्ष प्रस्ताव गरेको हो ।

कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने आयोगले बताएको छ । पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । संविधानको धारा २ सय २५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ ।

कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।

यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया