काठमाडौँ । कांग्रेसका युवा नेता उदय शमशेर राणाले आशन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष हुन्। उनी १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका नेतामा पर्छन्।
खुलातर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २६ औं भएका थिए।

राणाले केन्द्रीय सदस्यमा जिते पछि महाधिवेशन हुनु भन्दा २ वर्ष अगावै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउने विषयलाई मुद्दाका रुपमा अघि बढाउने बताए।

महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र वितरण गर्दा पार्टीमा विवाद बढ्ने भएका कारण यो विषयलाई मुद्दाका रुपमा अघि लैजाने उनको भनाइ छ।

राणाले ७/७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे।

‘७/७ तहको चुनाव गर्दा पार्टीमा विग्रह देखियो। तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन। तह कम गरेर हुन्छ कि कार्य समितिहरुमा पद घटाएर कसरी हुन्छ विग्रह म्यानेज गर्ने इस्युमा योगदान पुर्याउँछु’ उनले भने।

अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे।

युवाले मागेर होइन जितेरै पदमा पुग्नु पर्ने मान्यतामा आफू रहेकाले जितेरै पदमा पुग्नका लागि आफू संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको पनि बताए।

तपाईको प्रतिक्रिया