काठमाडौँ । उनीहरूको नाम मिल्छ। काम मिल्छ। र, लक्ष्य पनि मिल्छ।

दुवैले हिँडेको बाटो पनि एउटै छ। यो सातादेखि त जिम्मेवारी पनि उस्तै आइलागेको छ।

मुलुककै सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय सभापति पदमा आसिन हुन दुवैले चुनावी प्रतिस्पर्धाको बाटो रोजेका थिए।

आ–आफ्नो क्षेत्रमा भएको पार्टीको आन्तरिक चुनावबाट नेतृत्वमा पुगेका उनीहरू दुवै जना जिल्ला प्रदेश अधिवेशनको व्यस्ततामा छन्।

पाँचथरकी मैया श्रेष्ठ लावती र इलामकी मैया लिम्बू प्रदेश १ भरिमै क्षेत्रीय पार्टी नेतृत्वमा पुगेका दुई मात्र महिला हुन्।

५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ मा उनीहरू दुई जनाबाहेक कांग्रेस नेतृत्वमा सबैतिर पुरूष वर्चश्व दोहोरिँदा यी दुई महिलाले भने चुनावमा भिडेरै सफलता पाएका छन्।

पाँचथरकी मैयाले प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट र इलामकी मैयाले इलाम १ को प्रदेश निर्वाचन क्षेत्र ‘क’ को नेतृत्वमा बाजी मारेका हुन्। पाँचथरकी मैयाले पुरूष प्रतिष्पर्धीलाई पछि पारेर जिम्मेवारी हात पार्दा इलामकी मैयाले त्रिपक्षीय भीडन्तबाट सफलता हात पारेकी छन्।

पाँचथरमा मैयाले २९३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नगेन्द्र लामाले २२९ मत पाएका थिए। इलामकी मैयाले अर्की महिला प्रतिस्पर्धी पुनम गुरूङलाई पराजित गरेर क्षेत्रीय सभापति पदसम्मको यात्रा तय गरेकी हुन्। मैयाले १२३ मत पाउँदा पुनमले १०४ मत पाएकी थिइन्। उनीहरू दुवैसँग चुनावी प्रतिस्पर्धा गरेका कांग्रेसका पूर्व क्षेत्रीय सभापति रमेश सुवेदीले ८१ मत मात्रै पाएका थिए।

संघीयता कार्यान्वयनमा गएपछि पहिलोपटक संघीय अभ्यासमा जुटेको कांग्रेसमा यसपटक वडा तहबाटै लोभलाग्दो शैलीको चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छानियो। यद्यपि प्रदेश १ मा वडाहरूमै पनि नगन्य महिला मात्रै नेतृत्वमा आए।

वडा तहबाटै सक्रिय नेतृत्वमा छेकबार लगाइएका महिलाले चुनावी प्रतिस्पर्धाबाटै क्षेत्रीय सभापति जित्दा उनीहरू यतिबेला बधाई र शुभकामनाका फोनकलले हैरानजस्तै भइसकेका छन्।

धेरैलाई त्यसरी वडामै छेकिँदा उनीहरूलाई छेक्ने प्रयास भएन?

‘किन नहुनू? भए नि,’ दुई जनाकै साझा अनुभव छ, ‘तर भिड्न, लड्न तयार हुनुपर्‍यो। अनि बलियो पारिवारिक साथ र समर्थन हुनुपर्‍यो।’

सेतोपाटीसँगको कुराकानीमा दुवैले पारिवारिक सहजता र खुला समर्थनले नै सक्रिय राजनीतिक जीवनमा रमाउन सम्भव भएको सुनाए।

सक्रिय जिम्मेवारी पाएपछि यी दुवै कांग्रेस नेतालाई अहिले ‘काम गरेर देखाउने’ चुनौती स्वीकार गरेको अनुभव भइरहेको छ।

दुवैको एकै स्वर छ, ‘पार्टीका साथीहरूले विश्वास गरेर मत दिँदै जिम्मेवारी दिनुभएको छ। अब आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउने लक्ष्य छ।’

यसबाहेक कम्तीमा आफ्नो क्षेत्रमा सकेसम्म धेरै महिलालाई पार्टी नेतृत्वमा स्थापित गर्ने अभियान चलाउने योजना पनि दुवै सभापतिको छ।

नामदेखि काम र जिम्मेवारीदेखि पार्टीसम्म एकै भएका उनीहरूबीच अर्को पनि समानता छ।

दुवैले स्कुल जीवनबाटै नेपाल विद्यार्थी संघमा आबद्धता जनाए। त्यहाँ ठूलो जिम्मेवारी त पाएनन् तर राजनीतिप्रतिको आकर्षण त्यहीँबाट भरियो। दुवै जनाले छिट्टै बिहे गरे। जब बिहे गरे र बालबच्चा भए, दुवैको राजनीतिक जीवनमा एक खालको ‘ब्रेक’ लाग्यो। छोराछोरी हुर्किएपछि भने दुवैले राजनीतिक जीवनमा शक्तिशाली ‘कमब्याक’ गरे। र, केही वर्षमै पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसरसम्म आइपुगे।

‘बिहेपछिको दुई दशक राजनीतिक रूपमा ‘ब्रेक’ को समयजस्तै भयो,’ पाँचथर प्रदेश निर्वाचन क्षेत्र ‘ख’ की सभापति मैया श्रेष्ठ लावतीले भनिन्, ‘त्यो बेला स्थानीय तह जनप्रतिनिधिविहीन थियो। माओवादी द्वन्द्व उत्कर्षमा थियो। राजनीतिक गतिविधि पनि शून्यप्रायः थियो।’

त्यस बेला उनले बालबच्चा र परिवारलाई समय दिइन्। २०७० को संविधानसभाको दोस्रो निर्वाचनताका पाँचथर कांग्रेसले उनलाई जिल्लाको आर्थिक विभाग सदस्यमा चयन गर्यो। नयाँ संविधानअनुसार २०७४ मा भएको स्थानीय तहको निर्वाचन उनको राजनीतिक जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।

पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा उनका ससुराबुबा खड्गसुन्दर लावती कांग्रेसबाट उम्मेद्वार थिए। ससुरा बुबाको चुनावी अभियानमा उनी दिनरात खटिएकी थिइन्। तर लावतीले चुनाव जित्न सकेनन्।

‘ससुरा बुबाले चुनावमा पराजय व्यहोरेपछि मलाई राजनीतिक अभियानमा फेरि सक्रिय हुने रहर पलाइसकेको थियो,’ अर्थशास्त्रमा स्नात्तकोत्तर तह अध्ययनको तयारीमा रहेकी उनले भनिन्, ‘त्यसपछि म लगातार राजनीतिक अभियानमै सक्रिय रहेँ।’

राजनीतिक परिवारकी सदस्य मैयालाई रियल स्टेट व्यापारमा व्यस्त पति र ससुरा दुवैले ‘गो-अहेड’ भन्ने संकेत दिए। ‘राजनीतिक चेत स्कुल कलेजबाटै रोपिएको थियो,’ उनले थपिन्, ‘परिवारका अगुवा र छोराछोरीले पनि समर्थन जनाएपछि राजनीतिमा कमब्याक हुन सहज भयो।’

त्यसपछि उनी निरन्तर कांग्रेसको स्थानीय गतिविधिमा सक्रिय भइन्।

‘यसबीच मैले पाँचथरका सबै वडा घुमेँ, पार्टीका साथीहरूसँग भेटघाट गरेँ,’ उनले भनिन्, ‘सबैले हौसला दिएपछि पार्टीको नेतृत्व दाबी गर्ने सोच आयो। क्षेत्रीय प्रतिनिधिहरूले अघि बढ्न प्रेरित गरेपछि म दृढ भएर नेतृत्व दौडमा सामेल भएँ।’

उनका अनुसार जुनसुकै राजनीतिक दलमा पनि महिलाले नेतृत्व गर्न सक्दैनन्, निर्णय क्षमता कमजोर हुन्छ जस्ता धारणा व्याप्त हुन्छ। कांग्रेसमा पनि त्यसले घर नगर्ने कुरै भएन।

‘तर म दृढ थिएँ, हामीले अवसर पाए अरूले जत्तिकै वा त्योभन्दा राम्रो काम गरेर देखाउन सक्छौं भन्ने आत्मविश्वास थियो,’ उनले भनिन्, ‘त्यसमा क्षेत्रीय प्रतिनिधिहरू, पार्टीका अग्रजहरू र परिवारको हौसला पनि थपिँदा म चुनाव लड्ने निधोमा पुगेँ।’

उनका अनुसार पार्टीमा लामो योगदान गरेका महिलाहरूलाई पनि हतपत नेतृत्वमा जान दिइन्न।

‘कि चुनावमा उठ्नै दिइन्नँ, उठे पनि घेराबन्दी गरेर हराइन्छ,’ अधिकांश महिला कार्यकर्ताहरू पार्टी नेतृत्वमा स्थापित हुन नसक्नुको कारणबारे उनले आफ्नो ठहर सुनाइन्, ‘त्यसरी निरन्तर राजनीतिक गतिविधिमा लाग्दा पनि घेराबन्दी गरेर हराएपछि मान्छेमा स्वतः फ्रस्टेसन आउँछ। यही कारणले धेरै महिलाहरू लामो समय राजनीतिमा टिक्न सक्नुहुन्न।’

आफूलाई पार्टीका साथीहरूले त्यो मामिलामा भाग्यमानी तुल्याएको उनको भनाइ छ।

‘अब मैले आफूलाई प्रमाणित गर्नुछ,’ उनको लक्ष्य छ, ‘मेरो क्षेत्रको २८ वटै वडामा पार्टीलाई बलियो बनाउने अनि महिला नेतृत्व स्थापित गर्न अभियान चलाउने।’

इलाम १ प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट सभापतिमा निर्वाचित मैया लिम्बूले २०५६–५७ देखि स्कुलबाटै नेविसंघमार्फत राजनीतिक यात्रारम्भ गरेकी थिइन्।

बिहेपछि केही समय उनको राजनीतिक यात्रामा रोकावट आयो। खोटाङ घर, इलामको सूर्योदय नगर गोर्खे माइती भएकी उनले त्यस बेला नेविसंघ र तरूण दलका सक्रियता देखाइसकेकी थिइन्।

राजनीतिक रूपमा सक्रिय भएकै ठाउँमा स्थायी बसोबास गर्न चाहन्थिन् उनी। प्रहरी सेवामा रहेका पतिले पनि हुन्छ भनिदिएपछि उनलाई झनै सहज भयो।

‘मेरो बुबा बिपीको अनुयायी हो, उहाँको प्रेरणा सबभन्दा महत्वपूर्ण रह्यो,’ राजनीतिक सक्रियताबारे उनले खुलाइन्, ‘जनताको माझमा काम गर्न, उहाँहरूसँगै रमाउन बुबाले सिकाउनुभयो। पछि पतिले पनि त्यसमा बलियो साथ दिनुभयो। दुई छोराहरू हुर्किसकेका थिए। म २०७० देखि सक्रिय राजनीतिमा लागेँ।’

वैवाहिक जीवनमा प्रवेश गर्दागर्दै उनको पढाइ बिथोलिएको थियो। नानीहरू हुर्किंदा वर्दा उनी फेरि सक्रिय राजनीतिमा तरूण दलमार्फत फर्किएकी थिइन्।

‘२०७० मा तरूण दलको महाधिवेशन प्रतिनिधि भएपछि म पूर्ण रूपमा पार्टीमा सक्रिय भएँ,’ उनले भनिन्, ‘त्यसपछि २०७३ मा एसएलसी पास गरेँ। २०७४ को स्थानीय चुनावमा नगर सदस्यमा विजयी बनेपछि झनै सक्रिय रुपमा लागेँ।’

इलाममा खेतीपाती र कृषि वस्तुकै व्यापार पनि गरिरहेकी मैयाले यसबीच गाउँलेका समस्या लिएर सयौंपटक मालपोत कार्यालय धाएकी छन्। जिल्ला प्रशासन, प्रहरी, अदालत, शिक्षा कार्यालयको चक्कर काटेकी छन्।

‘अरूलाई सहयोग गर्न पाइएन भने दिन त्यसै बितेजस्तो हुन्छ,’ आफ्नो यही स्वभावले राजनीतिमा टिकाएको बताउँदै उनले थपिन्, ‘बुबाले सिकाएको कुरा नै यही थियो। र, म जीवनभर कुनै पदमा रहे पनि नरहे पनि यस्तै गरेर रहन चाहन्छु।’

उनको विचारमा राजनीतिक दलहरूमा महिला सक्रियता धेरै भए पनि नेतृत्वमै स्थापित हुन नसक्नुका अनेक कारण छन्।

‘सबभन्दा पहिलो कुरा त समाजमा महिलालाई नेतृत्वमा ल्याउनै हुन्न भन्ने पुरूषवादी सोच हाबी छ। त्योसँग निरन्तर लड्न सक्दा सफलता पाउन सकिन्छ,’ उनले भनिन्, ‘त्यसबाहेक नेतृत्वमा दाबी गर्ने उत्सुकता र उत्साह दुवै लिएर आउनुपर्छ।’

कठिनाइहरूसँग जुध्ने साहस राजनीतिको सबभन्दा आवश्यक तत्व रहेको उनको भनाइ छ।

‘यसका लागि महिलालाई पारिवारिक साथ पहिलो सर्त हुनुपर्छ,’ उनले भनिन्, ‘धेरै क्षमतावान महिला पारिवारिक साथ अभावमा नेतृत्वसम्म पुग्नै पाउँदैनन्।’

उनी यसपटकको कांग्रेस अधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न चाहन्थिन्। तर उनको समूह (कांग्रेस संस्थापन पक्ष) ले क्षेत्रीय सभापतिमा उठ्न आग्रह गर्‍यो।

‘मभन्दा सिनियर नेताहरू धेरै हुनुहुन्थ्यो, उहाँहरूलाई सभापति बनाऔं, म महाधिवेशनमा जान्छु भनेर धेरै आग्रह मैले गरेँ,’ चुनावताकाको कुरा उनले सुनाइन्, ‘तर टिमका नेता र साथीहरूले तपाईं नउठे चुनाव जितिन्न भन्ने कुरा आएपछि टिमको कुरा सुनेर म उम्मेद्वार बनेँ।’

अब उनको काँधमा क्षेत्रका १८ वटा वडाको पार्टी संगठनलाई बलियो बनाउने चुनौती छ। ‘म सबै अग्रज र साथीहरू, नयाँ पुस्ताको साथ लिएर यो चुनौती पार लगाउनेछु,’ उनले आत्मविश्वासी स्वरमा भनिन्।

उनका अनुसार स्कुलदेखि सुरू भएको राजनीतिक यात्राले उनलाई सबभन्दा ठूलो कुरा आत्मविश्वास दिएको छ।

‘म अहिले प्रधानमन्त्रीदेखि सरकारका उच्च अधिकारीहरूसम्म, अन्य दलका नेताहरूदेखि प्रहरीका हाकिमहरूसम्मलाई जनताको समस्याबारे खुलेर कुरा राख्न सक्छु,’ उनले भनिन्, ‘यो राजनीतिले सिकाएको हो। यसबाहेक मलाई बोल्न, सोच्न र आफ्नो मात्रै होइन, सबैका लागि सोच्ने र काम गर्नुपर्छ भन्ने शिक्षा पनि राजनीतिले दिएको हो।’

प्रदेशभरमै कांग्रेसको क्षेत्रीय नेतृत्वको अवसर पाएका यी दुवै नेताको दाबीअनुसार उनीहरुलाई पदीय महत्वाकांक्षा छैन।

‘पार्टी बलियो बनाउने, पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्ने,’ उनीहरूले भने, ‘यति गर्न सकियो भने म यो पदमा जान्छु भन्नै पर्दैन। पार्टी, कार्यकर्ता र जनताले आफैं उपयुक्त जिम्मेवारी दिन्छन्।’

यसपटक पार्टीको चुनावमा विजयी तुल्याएर पार्टीका नेता–कार्यकर्ताले त्यसको प्रमाण दिएको उनीहरूको भनाइ छ।

 

सेतोपाटीबाट साभार ।

तपाईको प्रतिक्रिया