काठमाडौं । सडक दुर्घटनाका कारण नेपालले प्रतिवर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतसम्म आम्दानी गुमाउने तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपालमा हरेक वर्ष सडक दुर्घटनाका कारण दुई हजार मानिसको मृत्यु हुँदा ५० हजार भन्दा बढी मानिसहरू घाइते हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

विश्व सडक यातायातपीडितको सम्झना दिवसको सन्दर्भमा संयुक्त राष्ट्र संघको सडक सुरक्षा सम्बन्धी योजनाको राष्ट्रिय लोकार्पण कार्यक्रममा स्वतन्त्रता अभियान नेपालका प्रमुख रितु भटट्ले तथ्य सार्वजनिक गर्दै सडक दुर्घटनामा सबैभन्दा धेरै पैदल यात्रुको मृत्यु हुने बताइन् ।

तथ्याङ्क सार्वजनिक गर्दै भटट्ले नेपालमा सडक दुर्घटना अकाल मृत्युको चौथो कारण भएको बताइन् । सडक सुरक्षाका सम्बन्धमा संयुक्त राष्ट्रसंघले सन् २०२० को फेब्रुअरीमा स्विडेनको स्टकहोममा साझा घोषणापत्र सार्वजनिक गरेको भन्दै उनले सडक सुरक्षाका ५ आधार स्तम्भ भएको बताइन् ।

“सडक सुरक्षा व्यवस्थापन, सडक पूर्वाधार विकास, सुरक्षित सवारी, सुरक्षित सडक व्यवहार र दुर्घटनापछि सेवा यी पाँच आधार सन्दर्भ हुन् जसले सडक दुर्घटना न्यूनीकरएण गर्छ,” उनले भनिन् ।

कार्यक्रममा बोल्दै अभियन्ता गोविन्द भट्टराईले बाँच्न पाउने आम नागरिकको अधिकार भएकाले नागरिकहरूको ज्यान सुरक्षा गरिदिन सरोकारवाला निकायहरूलाई आग्रह गरे । सडक दुर्घटनापछि विभिन्न समिति बने पनि समितिले तयार पारेको प्रतिवेदन लागु गराउन सरकार चुकेको उनले बताए । “सडक दुर्घटनापछि छानबिन समिति बन्छ, बालुवाटारमा हाहाकार मचिन्छ । समिति बनाएर जनतालाई उल्लु बनाउने काम बाहेक अरू केही भएको छैन । समितिको प्रतिवेदननै लागु हुँदैन,” उनले भने ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया