काठमाडौं । जिल्ला अस्पताल तेह्रथुममा दुई जना डाक्टर थपिएका छन् ।

केही डाक्टरहरुको करार अवधि सकिएसँगै जनशक्ति अभाव रहेको भन्ने गुनासो आएपछि स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको निर्देशनमा हालै दुई जना डाक्टर थपिएका हुन् ।

राज्यमन्त्री खापुङको हालै सम्पन्न जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालका कर्मचारीहरुले करार अवधि सकिएका र केही डाक्टरहरु अध्ययन बिदामा रहेकाले उपचारमा समस्या भएको गुनासो गरेपछि जनसख्या राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकारमार्फत थप दुई जना डाक्टरको व्यवस्था भएको हो ।

अस्पतालमा यसअघिका केही डाक्टरहरु अध्ययन विदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था आएको भन्दै राज्यमन्त्री खापुङसमक्ष गुनासो राखेका थिए ।

 

खापुङले काठमाडौं फर्किएलगत्तै प्रदेश सरकारसँग समन्वय गरेर जिल्ला अस्पतालका लागि डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरीलाई खटाएको उनका प्रेस सल्लाहकार भगिश्वर लिम्बूले जानकारी दिए ।

राई जिल्ला अस्पतालमा हाजिर भइसकेका छन् भने चौधरी पनि केही दिनभित्रै हाजिर हुने अस्पतालका मेसु अनुपम घिमिरेले जानकारी दिए ।

मन्त्री खापुङले जिल्लामा अब थप एक एमडी र एमडिजीपी डाक्टरको व्यवस्था गर्नका लागि स्वास्थ्य मन्त्रालयका निर्देशकलाई निर्देशन सकेका छन् ।

तपाईको प्रतिक्रिया