काठमाडौं। भारतको दिल्लीमा बढेको वायु प्रदूषणको असर नेपालतर्फ पनि देखिन थालेको छ। भारतसँग सीमा जोडिएका तराईका भू-भागमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) राष्ट्रिय मापदण्डभन्दा माथि देखिएको छ।

विगत २४ घण्टाको अवधिमा पोखरा, विराटनगर, महेन्द्रनगरको भीमदत्त र धनगढीमा प्रदूषणको मात्रा बढेको पाइएको छ। सोमबार अपरान्ह्रसम्ममा विराटनगरमा एक्यूआई १९४, पोखरामा १८०, भीमदत्तमा १७४ र धनगढीमा १५४ पुगेको वातावरण विभागको तथ्यांक छ।

हरेक घण्टाको तथ्यांकमा पनि यी भेगसहित जनकपुर, सिमरामा एक्यूआई एक सयभन्दा माथि छ। जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० सम्मलाई उत्तम र ५० देखि एक सयलाई सामान्य मान्ने गरिन्छ। एक सयदेखि दुई सयलाई मध्यम र दुई सयभन्दा माथिलाई निकै जोखिम मानिन्छ।

नेपालको सन्दर्भमा दम लगायत अन्य स्वास्थ्य समस्या भएका बिरामीका लागि ५० भन्दा माथिको एक्यूआई जोखिम मानिएको छ। केही दिनयता तराईका भू-भागमा प्रदूषण बढ्न थालेको वातावरण विभागका अधिकारी बताउँछन्।

प्रदूषण बढ्ने मौसम शुरु भएको बताउँदै विभागका उप-महानिर्देशक इन्दुविक्रम जोशीले भने, “अहिले देखिएको समस्या भारतीय भू-भागबाटै आएको हो या हाम्रै आन्तरिक कारणले बढेको भनेर पहिचान भएको छैन। तर, तराईका धेरै ठाउँमा धेरथोर प्रदूषण भने बढेको पाइएको छ।”

धनगढीको भीमदत्त र आसपासका भेगमा प्रदूषण बढाउने प्रकृतिका उद्योग कलकारखाना नभएकाले त्यहाँ भारतीय भूमिहुँदै प्रदूषित वायु नेपालतर्फ भित्रिएको हुनसक्ने जोशीको ठहर छ। विभाग मातहत मुलुकका विभिन्न भेगमा २७ वटा स्वचालित प्रदूषण मापन स्टेसन छन्।

सोमबार अपरान्ह्रसम्ममा पाकिस्तानको लाहोर, भारतको दिल्ली, चीनको छेन्दु र बंगलादेशको ढाकामा एक्यूआई सबैभन्दा धेरै छ। यी भेगमा एक्यूआई प्रतिघण्टा क्रमशः २८८, २१४, २०१ र १९४ छ। भारतको दिल्ली र अन्य क्षेत्रमा तिहारका बेला अत्यधिक मात्रामा पटका पड्काउँदा, खेतबारीमा पराल, गहुँको छ्वाली लगायतका वस्तु जलाउँदा प्रदूषण बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार गत शुक्रबार (२६ कात्तिकमा) दिल्लीको एक्यूआई ४७० सम्म पुगेको थियो। प्रदूषण उच्च भएपछि सो बोर्डले वायुको खस्कँदो अवस्थासँग जुध्नका लागि तयारी अवस्थामा रहन राज्य र स्थानीय तहको ध्यानाकर्षण गराएको थियो।

विज्ञहरुका अनुसार वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या बढाउँछ। विश्वस्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा वार्षिक २३ हजारभन्दा बढीको मृत्यु घरभित्रको वायु प्रदूषणले हुने गर्छ। प्रदूषणका कारण वार्षिक ३७ हजार हाराहारी नेपालीले ज्यान गुमाउने गरेका संगठनले जनाएको छ।

वायु गुणस्तर परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयले २०६९ मा राष्ट्रिय मापदण्ड तयार गरेको थियो। वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ फागुन दोस्रो साताको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

भूमध्य र अरब सागरको वायुले नेपालसहित दक्षिण एशियाको हिउँदे मौसम प्रभावित हुन्छ। उद्योग, कलकारखाना, सडक र पूर्वाधार निर्माण, सवारीबाट निस्कने धुलो, धुँवाले वायु प्रदूषण बढाउने गरेको पाइएको छ। इँटाभट्टा, घरभित्रको धुँवा, सार्वजनिक स्थलमा जलाइने घरायसी एवं कृषिजन्य फोहोर, वन डढेलोले पनि पनि प्रदूषण बढाउने गरेको विभागका अधिकारी बताउँछन्।

शीतलहर शुरु भएपछि प्रदूषण झनै बढ्ने विभागका वरिष्ठ केमिस्ट शंकरप्रसाद पौडेलले बताए। तीनवटै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय नभएसम्म प्रदूषण नियन्त्रण असम्भव रहेको बताउँदै उनले भने, “प्रदूषण भारत र अन्यत्रबाट पनि भित्रिने गर्छ। तर हाम्रो आन्तरिक अवस्थामा सुधार गर्न सबै निकायबीच समन्वय आवश्यक छ।”

खुला स्थानमा जलाइने फोहोर र अन्य प्रकृतिको प्रदूषण नियन्त्रणका लागि स्थानीय तह र वडा कार्यालयले नियमित अनुगमनसहित कारबाही प्रक्रिया अघि बढाउनुपर्ने पौडेल बताउँछन्।

तपाईको प्रतिक्रिया