सुदाप र जलजले पुर्ण सरसफाई उन्मुख गाउँ घोषणा

तेह्रथुम । तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाईयुक्त बनाउन अभियान थालिएको छ । खुला दिशामुक्त, धुँवामुक्त जस्ता अभियानहरुको सफलतासँगै विभिन्न वडाहरुलाई पुर्ण सरसफाई उन्मुख वडाको रुपमा घोषणा गरी पुर्ण सरसफाई अभियान थालिएको हो ।
जिल्लामा हाल दुई नगरपालिका र चार वटा गाउँपालिकामा ४३ वटा वडा छन् । ती स्थानीय तहहरुमा पुर्ण सरसफाई सम्बन्धी प्रारम्भिक सूचकहरु पुरा गरी सरसफाई उन्मुख घोषणा अभियान सुरु भएको छ ।

खानेपानी तथा सरसरसफाई कोष विकास समितिको सहयोग तथा जिल्लामा क्रियाशील गैरसरकारी संस्था देउराली सोसाइटीको सहजीकरणमा स्थानीय तह र जनप्रतिनिधिहरु समेतको पहलमा जिल्लाका स्थानीय तहहरु लाई पुर्ण सरसफाई उन्मुख बनाउने अभियान सुरु भएको हो । हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । जलजलेका ७ सय ७५ घरधुरी र सुदापका ६ सय २१ घरधुरीमा व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाईका सुचकहरु पुरा गरी पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको कार्यक्रम निर्देशक कपिलदेव सिंगकले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न रोगहरु बाट बच्न ‘पुर्ण सरसफाई युक्त हाम्रो घर, अब छैन हामीलाई रोगको डर’ भन्ने नारासहित ती गाउँहरुलाई पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । प्रारम्भिक चरणमा जिल्लाका तत्कालिन सात गाउँ विकास समिति अर्थात् सात वटा वडाहरुमा सन्चालित पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएका छन् । ती नै समितिमार्फत गाउँका टोल बस्तीसम्म पुगेर सर्वसाधारण नागरिकलाई व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई सम्बन्धी सचेतीकरण गरी आफु, आफ्नो घर र वरपरको वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्न भनिएको छ ।

स्थानीयबासीहरुले समेत सरसफाईका ती सूचकहरु पुरा गर्न प्रतिवद्धता जनाउँदै व्यवहारिक प्रयोगको थालनीपछि वडाहरुलाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्न थालिएको कार्यक्रम निर्देशक सिंगकले बताउनुभयो । हाल सो कार्यक्रम जिल्लाको सुदाप, जलजले, सिम्ले, इसिवु, सक्रान्तिबजार, हमरजुङ र पन्चकन्यामा सन्चालित छ । पुर्ण सरसफाईयुक्त गाउँ बनाउन टोलबस्तीसम्म पुगेर व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाईका उपायहरुबारे जनचेतना फैलाउने अभियान नै चलेको सामुदायिक कार्यकर्ता सन्जु तुम्बाहाम्फेले बताउनुभयो ।

उहाँका अनुसार व्यक्तिगत सरसफाईमा जस्तैः दाँत माझ्ने, कपाल कोर्ने, नुहाउने, नङ काट्ने आदि पर्दछन् । यस्तै घरायसी सरसफाईतर्फ चर्पीको नियमित प्रयोग, सुधारिएको चुलोको नियमित प्रयोग, भाँडा माझेपछि सुकाउने चाङको प्रयोग, जुठ्याँनको व्यवस्था, पिउने पानी छोपेर राख्ने, खानेकुराहरु छोपेर राख्ने, बाँसी नखाने, घरआँगन र भान्सा कोठाको सरसफाई जस्ता कुराहरु पर्दछन् ।

वातावरणीय सरसफाईतर्फ भने गाउँ वरपर रहेका मन्दिर, चौतारा, बाटोघाटो र विद्यालयको सरसफाई आदि कुराहरु रहेका छन् । दुर्गम गाउँहरुमा सरसफाई सम्बन्धी सचेतीकरणको अझै खाँचो रहेको छ । जिल्लालाई खुला दिशामुक्त घोषणा गरिसकेको भएपनि अझैसम्म कतिपय गाउँका बासिन्दालाई नियमित चर्पी प्रयोगबारे ज्ञान छैन । जनचेतनाका लागि विद्यालयहरुमा कार्यक्रम गरी विद्यार्थीहरु मार्फत सूचना सम्प्रेषण गरिएको छ ।

पुर्ण सरसफाई उन्मुख घोषणाका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगानाले आफु र आफ्नो गाउँको पहिचान त्यहाँको सरसफाईले दिने भन्दै त्यसतर्फ ध्यान दिन जिल्लाबासीलाई आग्रह गर्नुभयो । उहाँले विभिन्न रोगबाट बच्न तथा सिंगो गाउँ, स्थानीय तह हुँदै जिल्लाकै इज्जत र प्रतिष्ठाका लागि समेत पुर्ण सरसफाईयुक्त जिल्ला बनाउने अभियान चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पुर्ण सरसफाई उन्मुख अभियानको निरन्तरताका लागि जनप्रतिनिधिको भूमिका महत्वपुर्ण हुने प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँले जनप्रतिनिधिको अभियानबाट मात्रै पुर्ण सरसफाईयुक्त गाउँ बनाउन सम्भव रहेको धारणा राख्नुभयो । जलजले स्थित शंकर माविको प्राङ्गणमा भएको घोषणा सभामा फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, देउराली सोसाइटीका अध्यक्ष मोहन भण्डारी, संघीय समाजवादी फोरमका नेता मानध्वज सम्बाहाम्फे र शंकर माविका प्रधानाध्यापक भुपेन्द्र बुढाथोकीले मन्तव्य राख्नुभयो ।

तपाईको प्रतिक्रिया