सल्यान । सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गरेको भन्दै नागरिकलाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्। बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सोही वडाका स्थानीय दिलबहादुर केसीलाई सेवा सुविधाबाट वञ्चित गरेका हुन्।

वडाध्यक्ष पुनले प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई फेसबुकमा छोटो राजा भनेको र अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै केसीले गल्ती नसच्याएसम्म वडाबाट दिइने सेवा सुविधाबाट वञ्चित गरिएको जनाएका छन्।

‘वडाध्यक्ष र वडा सदस्य जनप्रतिनिधि समेतलाई छोटे राजाको दमनको संग्या दिई सामाजिक सञ्जाल फेसबुममा चरित्रहत्या गर्ने, अनावश्यक शब्द प्रयोग गरि आरोपहरु लगाई भ्रमित पार्ने काम गरेकोले बागचौर नगरपालिकाका वडा नं. ४ सिमाखोली निवासी दिलबहादुर केसीलाई कमजोरी नसच्याएसम्म यस वडा कार्यालयको तर्फबाट दिइने सम्पूर्ण सेवामा वञ्चितसँगै वडा कार्यालय परिवार यस्तो अराजक तत्वबाट भ्रममा नपर्ने सम्पूर्ण जनसमुदाय, वडावासीप्रति अनुरोध गरिन्छ,’ वडाध्यक्ष पुनले जारी गरेको प्रेम विज्ञप्तिमा भनिएको छ।’

स्थानीय केसीले फेसबुकमा तीन दिनअघि कात्तिक २३ गते ‘बागचौर नगरपालिका वडा नं. ४ का छोटे राजाहरको दम’ भनेर स्टाटस लेखेका छन्। २४ गते वडा सदस्य तुल्सिराम घर्ती (जनक)ले केही वर्ष विदेश पठाउँछु भन्दै मोटो रकम असुल्ने र मानव बेचविखनमा संलग्न रहेको भन्दै अडियो टेप सार्वजनिक गर्ने भन्दै स्टाटस लेखका छन्। वडा सदस्य घर्तीले पैसाको बार्गेनिङका लागि विवाह भएको सात महिनापछि एक स्थानीय युवतीलाई बलात्कारको मुद्दा हाल्न लगाएको भनेर समेत उल्लेख गरेका छन्।

वडाध्यक्ष पुनले भने ती युवाले फेसबुकमा आफूहरूलाई निरन्तर गालीगलौज गर्न थालेपछि सेवासुविधाबाट बन्चित गरेको बताए। ‘त्यो केटोले जथाभाबी गर्न थाल्यो, नभएका आरोपहरू लगायर हाम्रो चरित्र हत्या गर्न थाल्यो,’ वडाध्यक्ष पुनले नेपाल समयसँग टेलिफोनमा भने, ‘अब गल्ती नसच्चयाएसम्म वडाले सेवा सुविधा दिन सक्दैन।’

तपाईको प्रतिक्रिया