तेह्रथुम । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजार नजिकै साप्ताहिक कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगमा आउने भएका छन् । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि प्रयोगमा नआएका कृषि भवनहरु स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै प्रयोगमा आउने भएका हुन् ।
जिरिखिम्तीमा हरेक सोमबार लाग्ने साप्ताहिक हटिया वर्षौँदेखि बजारको सडक पेटीमै लाग्ने गरेको छ । व्यपारीले सडकमै व्यापार फिँजाएर बसेपछि सडक साँघुरिएर सडक दुर्घटनाको जोखिम बढ्ने गर्छ । त्यही जोखिम कम गर्न तत्कालिन जिल्ला विकास समिति र कमर्सियल एग्रिकल्चरले कृषि हाटबजारका लागि पाँच वटा सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पानी ट्याङ्की र फोहोर संकलन गर्ने भवन बनाइदिएका थिए ।
ती भवन लामो समयसम्म प्रयोगमा नआउँदा त्यतिकै भत्किने अवस्थामा पुगेका थिए । शुक्रबार म्याङलुङ्ग नगरपालिका पुगेको जिरिखिम्ती नागरिक समाजको एक टोलीसमक्ष मेयर सन्जय तुम्बाहाम्फेले लाखौँ खर्च गरेर बनाइएका ती कृषि प्रयोग गर्न आफुले निर्देशन दिने प्रतिवद्धता जनाउनुभयो ।
मेयर तुम्बाहाम्फेले निर्माण भइसकेका कृषि हाटबजारका भवन प्रयोग विहीन रहेको र हाटबजार सडक पेटिमै लगाउँदा समस्या भइरहेकाले तिनको समाधानको एउटै उपाय हाटबजारलाई सार्नु भएको बताउनुभयो । ‘सडक पेटिमा हटिया लगाउँदा ट्राफिक जाम बढेको छ, हाट लगाउन बनाएका भवन प्रयोगविहीन छन्,’ मेयर तुम्बाहाम्फेले भन्नुभयो, ‘अब यी दुवै समस्याको समाधान हाटबजारलाई भवनमा लगाउने व्यवस्था गरेपछि सहजै हुन्छ ।’
तत्काल नगर कार्यपालिकाबाट निर्णय गरी हाटबजारलाई कृषि भवनमा सार्न निर्देशन दिने मेयर तुम्बाहाम्पले बताउनुभयो । अब जनप्रतिनिधि नहुँदा वेवास्तामा परेका कृषि भवन प्रयोगमा आउने भएका छन् । ती भवन र ट्रष्टहरु पाँच वर्षअघि स्थानीय उपभोक्ताको समेत लगानी गरी कुल ७२ लाख ३८ हजार रुपैयाँमा निर्माण भएका थिए ।
कृषि हाटबजारका भवनहरु तत्कालिन जिरिखिम्ती, पिप्ले, साब्ला र आम्बुङ गाविसका किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि निर्माण गरिएको थियो । तर बजार भन्दा टाढा भएको भन्दै किसान र व्यापारीले हाटबजारलाई माथि सार्न अटेरी गरेका थिए । नगरपालिकाले हाटबजारलाई व्यवस्थित गर्ने भनेपछि आफुहरु ढुक्क भएको जिरिखिम्तीका श्रीकृष्ण दाहालले बताउनुभयो । ‘हटियाका दिन बीच सडकमा तरकारी फिँजाउँछन्, सडकमै माछा, मासु र पसल राख्छन्’ उहाँले भन्नुभयोे, ‘एकातिर तरकारी धुलो–मैलोले भरिएको बस्तु किनेर खानुपर्छ भने अर्कोतिर सडक जामको समस्या पनि ।’
अब दुई वटै समस्याको समाधान एकैपटक हुने भएकाले बजारको सडक व्यवस्थित हुने उहाँले बताउनुभयो । जनप्रतिनिधि आएपछि पहिलो पटक हुन लागेको नगर परिषद्को सम्मुखमा जिरिखिम्तीबासीले मेयर तुम्बाहाम्फेलाई भेटेर बजार व्यवस्थापन र विकासका लागि ध्यानाकर्षण समेत गराएका थिए । सर्वदलीय, सर्वपक्षीय जिरिखिम्तीबासीको टोलीले बजार क्षेत्रमा सिसि टिभी जडान, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन, पार्किङ स्थल, सार्वजनिक शौचालय, प्लाष्टिक तथा सिसामुक्त शहर, ढल निकास, घुम्ती पसल र टहरा हटाउनुपर्ने आदि माग राखेका छन् ।
ध्यानाकर्षण–पत्र मार्फत उनीहरुले बजार नजिकको धार्मिक महत्वको स्थल शिव थानको उत्थान तथा विकास गरी पर्यटकीय स्थल बनाइनुपर्ने, जिरिखिम्ती–चौकी सडक निर्माण, रिङ–रोड निर्माण लगायतका महत्वाकांक्षी योजनाहरु समेत अघि सारेका छन् ।
मेयर तुम्बाहाम्फेले अब हुने नगरपालिकाको नगर परिषद् मार्फत सिंगो नगरपालिकालाई पाँच वर्षभित्र नमुना बनाउने लक्ष्यसहितका योजनाहरु स्वीकृत गरेर अघि बढाउने भन्दै समृद्ध नगर निर्माणका लागि ढुक्क भएर नगरपालिकालाई साथ दिन आग्रह गर्नुभयो ।