पाँचथर, पुस १४ –फिदिममा जारी नवौँ रुस्लान फाल्गुनन्द गोल्डकफको उपाधिका लागि मोरङ–११ र सुनसरी ११ को भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा साविक विजेता विर्ता युनाईटेड झापालाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै मोरङले सुनरीसँगको भेट पक्का गरेको हो ।

फिदिम माविको खेलमैदानमा सम्पन्न आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको नतिजा टाईवेकरमा धकेलिएको थियो ।

खेलको २५ औँ मिनेटमा झापाका कर्ण लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८२ औँ मिनटमा सुनसरीका अशोक खवासले बराबरी गोल गरे । बराबरीपछिको टाईवेकरमा झापाका कर्ण लिम्बू, योगेश गुरुङ, सुमिन मैनाली, दिलेन लोक्तान र बिक्की चौधरीले गोल गरे भने आशिष चापागाईको प्रहार सुनसरीका गोलकिपर सूर्य अधिकारीले रोकिदिएका थिए ।

सुनसरीका अभिषेक लिम्बू, मिक्सचेन तामाङ ,बुद्धिमान राई, अशोक खवास , मिन धिमाल र सुरेन्द्र खवासको प्रहारले जाली चुमेको थियो ।फाइनल खेल पुष १६ हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ पाउनेछ ।

पूर्व राष्ट्रिय खेलाडी लावती सम्मानित

यसैबीच फिदिम स्पोर्टिङ क्लव र अखिल नेपाल फुटबल संघ (एन्फा) पाँचथरले पूर्व राष्ट्रिय खेलाडी गणेश लावतीलाई सम्मान गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा जन्मेर गाउँको स्थानीय क्लब र फिदिम स्पोर्टिङ क्लबबाट खेल्दै राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा राम्रो फुटबल खेली जिल्लाको प्रतिष्ठालाई उच्च राखेको भन्दै लावतीलाई ताम्रपत्रसहित १२५ सिसीको यमाहा मोटरसाइकल प्रदान गर्दै सम्मान गरिएको हो । नेपालको राष्ट्र टोलीमा खेलेका तथा विभागीय टोली एपिएफको लामो समयसम्म कप्तानी गरेका लावतीले आफ्नो जिल्लामा सम्मानित हुन पाउँदा खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया