धनकुटा, पुस १३ –आपसी झगडामा कुटपिट भएपछि बेपत्ता भएका धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक युवाको सदरमुकामबाट गएको युवाटोली र स्थानीयबासीले उद्दार गरेका छन् ।
गाउँपालिकाको थलथले र पिल्लेको सिमानामा रहेको पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं. ६ का २८ वर्षीय प्रदिप(सागर) राई बेपत्ता भएका थिए । उनलाई धनकुटाबाट गएको युवा संघ नेपालको टोली र स्थानीयबासीले मामफिङबाट उद्दार गरेका थिए । स्थानीयको एक घरमा लुकेर बसेका राईलाई खोजी गर्दै गएका युवाले उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याएका छन् । राईको टाउको, ढाड, र खुट्टामा चोट रहेको छ ।
नेपाली कांग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचनमा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा उम्मेदवार बनेका साजन राईको नेतृत्वमा गएको युवा टोलीले प्रदिप र उनका साथीहरुलाई कुटपिट गरेका थिए । थलथलेको मोबाइल मर्मत तालिमबाट फर्कदै गरेका राईलाई सडकबाट २ सय मिटर तल अम्रिसोघारीमा लगेर बाँस र ढुंगाले कुटपिट गरेको उद्दारमा गएका युवा मनोज राईले बताए ।
झडपपछि बेपत्ता भएका राईको मोबाइल र जुत्ता अम्रिसो घारीमा भेटिएपछि खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको थियो । राईलाई कुटपिट गर्ने साजन राई र कविराज राईको समूह फरार रहेको छ ।
फरार युवालाई पक्राउ गरी कारवाही गर्न घाइते राईका मामा अजित राई र बुवा सुरेन्द्र राईले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिको खोजीकार्य र अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।