स्याङ्जा । कर्तव्य ज्यानमुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-८ का ७३ वर्षीय गणेशबहादुर कुमाल छन्। इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले बिहीबार कुमाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०३३ साल वैशाख २ गते चैते दसैंको पूर्णिमा मेलामा चापाकोट नगरपालिका-८ स्थित कालीगणडकी नदी किनारमा पाल्पाका २४ वर्षीय जितबहादुर रानाको हत्या भएको थियो।

उनी भारतीय सेनामा कार्यरत् थिए। बिदामा आउँदा चैते दसैंको मेला पुगेका रानालाई १२ जनाको समूहले हत्या गरेको थियो।

हत्यापछि अन्य अभियुक्त पक्राउ परे पनि कुमाल फरार रहँदै आएका थिए। हत्यामा संलग्न रहेको आरोपमा कुमाललाई २०३६ सालमा स्याङ्जा जिल्ला अदालतले जन्मकैद फैसला गरेको थियो।

तत्कालीन क्षेत्रीय अदालत पश्चिमाञ्चलले २०३९ साल र सर्वोच्च अदालतले २०४० सालमा कुमाललाई जन्मकैद सजाय नै कायम गरेको थियो।

कुमाल स्याङ्जाबाट भागेर नवलपरासीमा लामो समयदेखि बस्दै आएका थिए। परिवारसहित नवलपरासी बसिरहेका उनले त्यहाँ बस्दा आफ्नो नाम पनि परिवर्तन गरेका थिए।

दसैंमा पुरानो घरमा पुगेर फर्किँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले स्याङजाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

शुक्रबार कुमाललाई जिल्ला अदालत पेश गरेकोमा अदालतले कारागार पठाएको छ।

भारतीय सेनामा कार्यरत् राना पाल्ला गोदारछाप गाउँपञ्चायत-२ बस्ने रानाको शव हत्यापछि कालीगण्डकी नदीमा फालिएको थियो।

फरार अभियुक्त खोजीको सिलसिलामा प्रहरीले कुमाललाई खोजी गरिरहेको थियो। ‘पहिले-पहिले पनि खोजी भएको थियो वा खोजी गर्न छोडिएको थियो भन्ने यकिन भएन,’ बोगटीले भने, ‘अपराध गरेपछि जुनसुकै बेला पनि कानुनी दायरामा प्रहरीले ल्याउँछ।’

तपाईको प्रतिक्रिया