बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार २९ गते सर्वोच्च अदालतको फैसलाले सत्ताबाट बर्हिगमन भए। ओली सत्ताबाट बर्हिगमन भएको साढे तीन महिना पुग्यो। शक्तिशाली जनमतसहितको पार्टीका प्रधानमन्त्री थिए ओली। पाँच महिनामा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकै कारण शक्तिशाली पार्टी  पनि दुई चिरामा विभक्त भयो।

तत्कालीन एमाले र माओवादी केन्द्र अलग भए। त्यति मात्रै होइन नेकपा एमालेलाई करिब १५ वर्ष नेतृत्व प्रदान गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाए। झन्डै दुई-तिहाई जनमत रहेको पार्टीको अध्यक्ष अल्पमतमा परेर सरकारबाट बाहिरिएको कोही छ भने त्यो पात्र ओली नै हुन्। संघीय सरकार मात्रै होइन सातमध्ये ६ प्रदेशमा बनेको एकल सरकार  क्रमश: ढल्दै छन्। बागमती र प्रदेश न. १ मा मात्सर रकार परिवर्तनको अन्तिम कसरत भइरहेको छ।

यी घटनाक्रम नियाल्दा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो असर परेको छ। तर, अध्यक्ष ओलीको अभिव्यक्तिमा भने त्यो छनक देखिँदैन। बुधबार नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकको ओलीले दिएको अभिव्यक्ति सुन्दा लाग्छ- उनी अहिले पनि सत्ताको नेतृत्वकर्ता र शक्तिशाली पार्टीको अध्यक्ष नै हुन्।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको विषयलाई ओली स्वीकार्न तयार छैनन्। बरु अदालत र न्यायाधीशहरुको भूमिकामाथि प्रश्‍न उठाउँदै आएका छन्। सामान्यतया लोकतान्त्रिक पद्धति मान्‍ने देशमा न्यायालयको फैसलाको उच्च सम्मान गरिन्छ। तर, नेपालमा राजनीतिक दलहरुको गलत कदमलाई अदालतले सच्चाइदिए पनि त्यसलाई  विषयान्तर गर्ने प्रचलन नौलौ भने होइन।

ओली सत्ताबाट बाहिरिएका मात्रै होइनन्, आफ्नै पार्टी एकढिक्का राख्‍न सकेनन्। एमालेको जग बसालेका नेताहरुले नै नयाँ पार्टी गठन गरेका छन्। तर, ओलीको अभिव्यक्तिमा पार्टी विभाजन अनिवार्य थियो भन्‍ने आभास हुन्छ। बागमती प्रदेश कमिटीको बैठकको सम्बोधनमा ओलीले भने, ‘माधव नेपाललाई नो इन्ट्री।’ माधव नेपालप्रति निकै आक्रामक ओलीले थपे, ‘ माधव नेपाल गुटको कुनै गन्तव्य छैन। नेकपा एमालेलाई सिध्याएर प्रतिक्रियावादीलाई सत्तामा पुर्‍याउने हो, त्यो गरे।’ ओलीले कार्यकर्ताको थपडी जति बज्छ, त्यति चर्को स्वरमा माधव नेपाललाई गाली गर्छन्। ‘कसैले समाजवाद भन्ला, भन्दिनलाई के भयो र एउटा-दुईटा रौं झर्‍यो, त्यसले चुल्ठो भयो? एमालेबाट दुई-चार जना फुटे, त्यसको नाम एकीकृत रे’ ओलीले खिल्ली उडाए।

त्यसो त बागमती प्रदेश कमिटीको बैठकमा ओलीले आफैं सर्वेसर्वा भएको जिकिर गरेका छन्। उनले माधव नेपाल नेतृत्वको पार्टीले वडा पनि नजित्‍ने ठोकुवा गरे। नेपाली कांग्रेसलाई समेत चुनाव लड्ने तागत नभएको भन्दै खिसिट्युरी गरे। माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका अन्य कुनै पनि राजनीतिक पार्टीको अस्तित्व नै नरहेको बताउँदै ओलीले भने, ‘अरु पार्टी हडबडाएका छन, साँठगाँठ चुनावसम्मै लानुपर्छ भनेका छन, एमाले मात्रै ढुक्क छ।’

उनले साँठगाँठ नगरी गठबन्धन (कांग्रेस, माओवादी, जसपा, नेकपा (एस)) ले चुनाव नै नजित्‍ने ठोकुवा गरे।  ‘साँठगाँठ नगरी वडा जित्दैन, जनताको कुनै विश्वास छ र, अहिले कांग्रेसका पुराना नेताहरु पुर्पुरोमा हात राखेर बसेका छन्। उहिल्यैदेखि लागियो, भोट कसरी हाल्ने? फेरि भोट केमा हाल्ने थाहा छैन, पेन्सिलमा हाल्ने कि, डटपेनमा हाल्ने कि, गोलाकारभित्रको हसियाहथौडामा हाल्ने कि, रुखमा, लौरोमा हाल्ने, अचम्ममा छन्, हैरान छन्। ‘चितवनमा छोरीलाई जिताइयो, बाउलाई जिताइयो, के पाइयो?’ कांग्रेस कार्यकर्ताको गम्भीर प्रश्न छ।’

तथ्य र सत्यभन्दा बाहिरका विषयमा पनि ओलीले निर्धक्कसँग कुरा राख्नुलाई चुनावी फन्डा र जनतालाई भ्रम झार्नका लागि मात्रै गरिएको अभिव्यक्तिका रुपमा हेरेका छन्। तर, ओलीको बोलीलाई खण्डित गर्न अन्य दलहरु भने चुकेका छन्।

अर्काको अस्तित्व अस्वीकार

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन कटाइसकेको छ। तर, ओलीले देउवा सरकारलाई आलोचना गर्न पनि लायक नभएको टिप्पणी गरे। उनले वर्तमान सरकार नायबीद्वारा चलाइएको निमित्त सरकार भनेका छन्। ‘साँच्चिकै यो सरकार कसले चलाएको छ। भित्रैकाले चलाएका छन् कि बाहिरकाले चलाएका छन्, मैलै त मेसो नै पाएको छैन,’ उनको टिप्पणी छ। ओलीले एमालेबाहेकका दलहरुलाई प्रतिक्रियावादीको आरोप लगाएका छन्।

विपक्षीमाथि आलोचना गर्न माहिर ओलीको अभिव्यक्तिमा ‘अहम्, दम्भ र सर्वसत्तावाद’ को रुपमासमेत कतिपयले चित्रण गर्ने गर्छन। ओली सत्ताबाट बाहिरिए पनि एमाले बिना केही नहुनेसम्मका तर्क गर्ने गरेका छन्। उनले यतिसम्म भने, ‘मेरो नेतृत्वको सरकारले गरेको कामले गिनिज बुक अफ वर्ल्ड  रेकर्ड आधा भरिन्छ।’ तथ्य र सत्यबाहिरका विषयमा पनि ओलीले निर्धक्कसँग कुरा राख्नुलाई चुनावी फन्डा र जनतालाई भ्रम झार्न मात्रै गरिएको अभिव्यक्तिका रुपमा हेरेका छन्।

१० बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत  

माधव नेपालको साथ छाडेर १० बुँदे सहमतिका नाममा ओलीलाई साथ दिएका नेताहरु फेरि सशंकित भएका छन्। भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसालसहितका नेताहरु ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्ट छन्। बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई लक्षित गर्दै भनेका थिए,  ‘अब कति बजाउने ट्याङट्याङ, माधव नेपाल आउँछन् कि भनेर पो १० बुँदे गरेको, १० बुँदे, १० बुँदे भनेर ट्याङट्याङ नगर्नुस्।’

उनले पवित्र पार्टी बनाउन माधव नेपाल आउट हुनुपर्ने बताए। ओलीले योग्यता, क्षमताअनुसार केन्द्र, प्रदेश कमिटीमा राख्‍ने बताए। यो अभिव्यक्ति आएलगत्तै एमालेका उपाध्यक्षसमेत रहेका रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयन गर्न सुझाएका थिए। त्यतिमात्रै होइन, उनी १० औं महाधिवेशन तयारी छलफलमा स्थायी कमिटी  बैठकमा पार्टी अध्यक्षको जवाफ माग गरेका छन्।

 यति चाँहि भन्‍न सकिन्छ कि अब आउने चुनावबाट ओली नेतृत्वको एमाले बहुमतमा आए, अन्य दलहरुप्रति निषेध र दमन हुने स्पष्ट संकेत देखिएको छ।

त्यसो त ओलीको सबैभन्दा बढी आलोचक रहेका उपाध्यक्ष रावल अन्तिममा पार्टी एकताका लागि पार्टी विभाजनमा रहन नसक्ने भन्दै एमालेमै रहेका रावलको असुन्तुष्टि बेलाबेलामा पोखिन्छ। उनले ओलीको अभिव्यक्ति लगत्तै टि्वटरमा लेखेका थिए, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्‍नु स्वास्थ्यका लागि लाभदायक छ।’ बिहीबार बसेको बैठकमा रावल र घनश्याम भूसालले १० बुँदे कार्यान्वयन गर्न अध्यक्षको ध्यानाकर्षण गराएका थिए।

सत्ता र शक्ति गुम्दा पनि ओली शैली उस्तै 

सत्ताबाट बाहिरिएलगत्तै एमाले सक्रिय हुन थालेको हो। अध्यक्ष ओलीले आफूलाई नै शक्तिशाली बनाउने गरी हरेक गतिविधि गरिरहेका छन्। असोज १५ देखि १८ सम्म गोदावरीमा भएको विधान सम्मेलनलाई अध्यक्षलाई थप शक्तिशाली बनाएको छ। विधान सम्मेलनमा आफ्नो तस्बिर राखेर अध्यक्ष नै सर्वेसर्वा र व्यक्तिप्रदानलाई महत्त्व दिने सन्देशसमेत दिएको भन्दै आलोचना भइरहेको छ।

कम्युनिस्ट पार्टीमा व्यक्तिलाई देवत्वकरण गरिएको भन्दै बौद्धिक जमातले आलोचना गरेका हुन्। त्यसो त एमालेका हरेक कार्यक्रममा ओलीको तस्बिर अनिवार्य जस्तै भएको छ। माधव नेपाललाई कुहिएको आलु, माओवादी अध्यक्षलाई अवसरवादी र अस्थिर तथा देउवालाई परमादेशको सरकारको संज्ञा दिँदै खरो आलोचना गर्दै आएका छन्। ओलीको अभिव्यक्ति चुनाव केन्द्रित नै देखिन्छ। तर, सत्ता र शक्तिबाट ढल्दा पनि उही र उस्तै उन्माद आवश्यक हो की होइन? यसको परिणाम के हुन्छ? त्यो समयक्रमसँगै पुष्टि गर्ला। तर, यति चाँहि भन्‍न सकिन्छ कि अब आउने चुनावबाट ओली नेतृत्वको एमाले बहुमतमा आए, अन्य दलहरुप्रति निषेध र दमन हुने स्पष्ट संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया