काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ।

बिहीवार ललितपुरस्थित च्यासलमा बसेको स्थायी समिति बैठकले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

यसअघि असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व  छान्ने महाधिवेशन बुटवलमा गर्ने बताएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

बादलको समेत गृह जिल्ला रहेको चितवनमा महाधिवेशन गर्ने एमालेको निर्णयलाई राजनीतिक रुपमा पनि अर्थपूर्ण मानिएको छ।

एमालेले माओवादी आएका बादललाई महाधिवेशन व्यवस्थापन समिति संयोजक बनाएर एउटा राजनीतिक सन्देश पनि दिन खोजेको छ। बादलले यसअघि चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने बताइसकेका छन्।

उनले एमालेले निर्णय गरेको अवस्थामा प्रचण्डविरुद्ध चुनाव लड्न आफू तयार रहेको बताएका थिए। यसअघि एमालेको नवौँ महाधिवेशन काठमाडौंमा भएको थियो।

तपाईको प्रतिक्रिया