काठमाडौँ । वाग्मती प्रदेश सरकारको नेतृत्वमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आलोपालो गर्ने सहमति गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा नेताहरुबीच वाग्मती प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । ०७४ को मंसिरमा प्रदेशसभाको निर्वाचन भएको थियो । संविधानअनुसार प्रदेशसभाको आयु ५ वर्षको हुन्छ । त्यस आधारमा प्रदेशसभाको कार्यकाल सकिन अब एक वर्ष बाँकी छ ।

सहमतिअनुसार प्रदेशसभाको बाँकी कार्यकालमध्ये पहिलो आधा कार्यकाल अर्थात् छ महिना एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नेछन् । त्यसपछिको बाँकी कार्यकालमा कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रधानमन्त्री देउवानिकट एक नेताले जानकारी दिए । केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम बिहीबार वाग्मती प्रदेशसभा बैठकअघि गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरुबीच समेत छलफल भएको थियो ।

छलफलका क्रममा नेताहरुबीच केन्द्रमा गठबन्धनका नेताहरुबीच भएको सहमतिको कार्यान्वयन गर्ने सहमति जुटेको थियो । ‘पहिलो छ महिना पाण्डेजीले सरकारको नेतृत्व गर्नुहुनेछ, त्यसपछि बानियाँजीले नेतृत्व गर्नुहुन्छ । त्यहीअनुसार मन्त्रालयहरु समेत बाँडफाँड गरेर अघि बढ्ने गठबन्धनमा सहमति भएको छ,’ कांग्रेसका एक वाग्मती प्रदेशसभा सदस्यले कान्तिपुरसँग भने । हाल वाग्मती प्रदेशमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । तर, उनी नेतृत्वको सरकार अल्ममतमा परेर २४ असोजमै उनले प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरिसकेकी छिन् ।

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत मागिन् भने गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवारका रुपमा नेकपा (एस)का नेता पाण्डेलाई अघि सारेको छ । बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसपछि बोल्नेक्रममा कांग्रेसका संसदीय दलका नेता बानियाँले पनि पाण्डेको नाममा समर्थन जनाएका थिए ।

एमालेले पार्टीको महाधिवेशनलाई कारण देखाएर समय मागेपछि सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय सहमतिमै विश्वासको मतको बाँकी प्रक्रियाका लागि कात्तिक १० गते दिउँसो १ बजेका लागि अर्को बैठक राखेका छन् । प्रदेशसभा बैठकमा विश्वासको मतको छिनोफानो हुनेछ । अहिलेकै राजनीतिक परिस्थितिमा फेरबदल नभए शाक्यले विश्वासको मत पाउने छैनन् । प्रदेशसभामा हाल १०९ (सभामुखसहित) सांसद छन् । त्यसमध्ये विपक्षी गठबन्धनले बहुमत जुटाइसकेको छ । गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।

तपाईको प्रतिक्रिया