काठमाडौँ । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी प्रदेश १ मा ६०, वाग्मती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १ मा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। बाढीपहिरोमा परी  प्रदेश १ मा १३ जना, प्रदेश २ मा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेकाे प्रहरीकाे भनाइ छ। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन्।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।

तपाईको प्रतिक्रिया