काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिले एकैपटक ४० उद्योग सञ्चालनमा ल्याउने भएको छ । वित्तीय संस्थाहरुसँगको सहकार्यमा पाँचखालले सो महत्वकांक्षी योजना अघि बढाउन लागेको हो । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोना महामारी सुरु भएर रोकिएको उक्त योजना कोरोना महामारी कम हुँदैगर्दा फेरि अघि बढाउन लागिएको नगरप्रमुख महेश खरेलले बताए ।

चालू आर्थिक वर्षदेखि नै कम्तीमा एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको छ । यसका लागि आवश्यक उद्यमशीलताको विकास र प्रवद्र्धनका वित्तीय संस्थासँग सम्झौता सुरु गरिएको छ । नगरपालिकाको सिफारिसमा स्थानीयवासीलाई सरल कर्जा उपलब्ध गराउन नबिल बैंकसँग सम्झौता भइसकेको नगरप्रमुख खरेलले बताए । बैंकले सरकारको दीगो विकासका लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यामशीलताका लागि दीगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

“पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौँ” उनले भने, “उद्योग स्थापनाले स्थानीयस्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नाका साथै करिब चार हजार स्थानीयवासीले रोजगारी पनि पाउनेछन् ।”

 उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकता दिने नगरपालिकाको योजना छ । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहे पनि साझेदारीका लागि वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । “उद्योग स्थापना पछि स्थानीयवासीलाई प्राथमिकता दिइन्छ, सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय भइरहेको छ” उनले भने ।

 त्यसो त नगरपालिकाले पाँचखाल नगरमा ‘स्मार्ट सिटी’ बनाउन गत भदौमा नेपाल इन्फ्राक्स्चर बैंकसँग सम्झौता गरिसकेको छ। स्मार्ट सिटीको पूर्वाधार लगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिएको हो । नगर प्रमुख खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो ।

पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न विगतका  दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको थियो । पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । विशेषगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण गराउने योजना बनाइएको थियो । लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका पाँचखालका स्थानमा सडक पु¥याइएको र पु¥याउने काम भइरहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा तथा प्रविधि विस्तार,  पर्यटकीयस्तरका ठूला होटल निर्माण र  उद्योग स्थापनाका लागि सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ ।पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ ।

पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइएको वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषदद्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’का साथै एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक भएको छ ।

२०७१ सालमा साविकका पाँच गाउँ विकास समिति जोडेर पाँचखाल नगरपालिका बनाइएकोमा दुई वर्षअघि दुई गाविस थपेर यसलाई नगरपालिकालाई अझै वृहत बनाइएको छ । १३ वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल १ सय ३ वर्ग किलोमिटर छ भने जनसङ्ख्या ३७ हजार ७ सय ९७ जना रहेको छ ।

तपाईको प्रतिक्रिया