तेह्रथुम । तेह्रथुममा हाते मेसिनबाट बुनेर तयार गरिने ढाका कपडामा महिला उद्यमीको आकर्षण बढ्दै गएको छ । वर्षौंदेखि ढाकाकै व्यवसायमा क्रियाशील रहेकाहरु पनि अहिले ढाकाको बजार प्रवर्द्धन गरी यहि व्यवसायमा भविष्य खोज्न थालेका छन् ।
पहिले केही क्षेत्रमा मात्रै सीमित बनेको ढाका व्यवसाय अहिले जिल्लाभर फैलिएको छ । गाउँ–गाउँमा पनि महिलाहरु ढाका बुनेरै व्यावसायिक बन्न थालेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमासमेत यहाँको ढाका कपडाको चर्चा चुलिँदो छ । यहाँका उद्यमीले हाते मेसिनबाट हातैले बुनेर तयार गरेको कपडा ‘तेह्रथुम ढाका’ नामले परिचित छ ।
हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टाहरु राखिएका कारण यहाँको ढाका एक हस्तकलाको रुपमासमेत लोकप्रिय छ । जिल्लाका गाउँ – गाउँमासमेत महिलाहरुले घरायसी कामसँगै न्यून लगानीमा हाते मेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी लिइरहेका छन् । उनीहरुको समय, सीप र मिहिनेतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाहरुको मूल्य निर्धारण र बजार व्यवस्थापनमा भने उनीहरुको आफ्नै पहुँच स्थापना हुन सकेको छैन ।
अहिले जिल्लाको अग्रणी गैरसरकारी संस्था देउराली सोसाइटीले गरिवी निवारण कोष अन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा ढाकाको बजार व्यवस्थापन र मूल्य निर्धारणबारे उद्यमीलाई ज्ञान दिइरहेको छ । ढाका कपडा व्यावसायिक रुपमै बुनिरहेका महिला उद्यमीहरुलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ्ग, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारण लगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवर्द्धन गर्ने प्रयास भइरहेको कार्यक्रम संयोजक प्रेमराज फोम्बोले बताउनुभयो ।
महिला उद्यमीहरुको परम्परागत सीपलाई केही आधुनिक र व्यवस्थित बनाएर उनीहरुको आयस्तरमा वृद्धि गर्न ढाका कपडाको व्यावसायिकरण र बजार प्रवर्द्धनको प्रयास थालिएको हो । ‘परम्परागत व्यवसायमा सीपको विकास, परिमार्जित प्रविधि नै बजारीकरणको निकास’ भन्ने नारासहित ढाकाको बजारीकरणमा उद्यमीहरुको आफ्नै पहुँच विकास गर्न प्रयत्न भइरहेको फोम्बोले बताउनुभयो ।
यो कार्यक्रम अन्तर्गत जिल्लाभरका ६ सय ३५ जना ढाका व्यवसायमा रुची भएका महिला उद्यमीहरुलाई ढाकाको आधुनिक सीप र बजारीकरणबारे तालिम दिइएको छ । ढाका बुनेर जीविकोपार्जन गरिरहेका महिलालाई व्यावसायिक बन्न प्रेरित गरिएको छ । ढाकाको आधुनिक सीप र बजारबारे थाहा पाएपछि आफूलाई ढाका व्यवसायमा लाग्न अझै उत्साह थपिएको आठराई गाउँपालिका –३, ह्वाकुको निमापौरखी ढाका उत्पादन सामुदायिक संस्थाकी अध्यक्ष अस्मिता राईले बताउनुभयो । ‘ढाकाबाट पनि उल्लेख्य आम्दानी हुने रहेछ, उहाँले भन्नुभयो, ‘पहिले बजारमा रुची हुने रङ्ग, बुट्टाबारे नै थाहा थिएन, अब त बजारीकरण र मूल्य निर्धारणबारे पनि सिकेकी छु ।’
गाउँका आफूजस्तै महिलाले बुनेका ढाका कपडाले यस अगाडि मूल्य नपाउने गरेको दुखेसो उहाँले गर्नुभयो । ‘ढाकाबाट पनि प्रशस्त आम्दानी गर्न सकिने रहेछ, कुटो कोदालो गर्नुभन्दा घरैमा बसेर ढाका बुनेर आम्दानी लिनै सजिलो’ राईले भन्नुभयो । आठराई गाउँपालिका–१, सक्रान्तिको आदर्श ढाका उत्पादन सामुदायिक संस्थाकी भीममाया लिम्बुको पनि अब ढाका कपडाको आधुनिक सीप र बजार व्यवस्थापनको ज्ञान लिएपछि व्यावसायिक बनेर ढाका बुन्ने योजना छ । ढाकाको बजार व्यवस्थापन हुन सके धेरै महिला उद्यमीहरु व्यावसायिक बन्ने र आर्थिक उन्नति हुने उहाँको भनाई छ ।
राई र लिम्बुजस्तै जिल्लाका ६ सय बढी महिलाले ढाका व्यवसायमै भविष्य खोज्ने निधो गरेका छन् । उनीहरुले व्यवसायसमेत थालिसकेका छन् । महिला उद्यमीहरुलाई व्यवसाय थाल्न सजिलो होस् भनेर जिल्लाका ६ वटै स्थानीय तहमा ३५ वटा ढाका उत्पादन समूह गठन गरी प्रति उद्यमी १० रुपैयाँ बढी अनुदानसमेत दिइएको छ ।
महिलाहरुलाई ढाकाको बजार, मूल्य र उत्पादनका विषयमा तालिम पछि लगानी गर्ने रुपैयाँ समेत समूहलाई नै अनुदान दिइएको सामाजिक परिचालक विष्णु राईले बताउनुभयो । उद्यमीहरुलाई समुहमार्फत सस्तो व्याजदरमा ऋण लिने र ढाका बुनाई व्यवसायमा लगानी गर्ने गरी अनुदान दिइएको हो । जिल्लाका ढाका उद्यमी र तिनीहरु सम्बद्ध विभिन्न संस्थाहरुले समय–समयमा ढाकाको बजार प्रवर्द्धनका सम्बन्धमा छलफल र सीप विकासका तालिम सञ्चालन गर्दै आएका थिए ।
तर लामो समयसम्म पनि ढाकाको बजार प्रवर्द्धन नहुँदा जिल्लाका ढाका उद्यमीले ढाका कपडाको चित्त बुझ्दो मूल्य पाउन सकिरहेका छैनन् । स्वदेश तथा विदेशमासमेत ढाकाको माग उच्च भए पनि बजार व्यवस्थापनको सीप उद्यमीहरु आफैमा विकास नहुँदा विचौलियाहरु हाबी छन् । बजारमा खुलेका दर्जनौँ सोरुमहरुले उद्यमीबाट न्यून मूल्यमा खरिद गर्ने र दोब्बर मूल्य लिएर बिक्री गर्ने गरेको उद्यमीहरु गुनासो गर्छन् ।
बिचौलियाकै कारण राम्रो मूल्य नपाउँदा ढाका व्यवसायबाटै विस्थापित हुने अवस्थामा रहेका उद्यमीहरु अहिले ढाका व्यवसायबाटै केही गर्न सकिने बताउन थालेका छन् । गाउँका महिलाहरुलेसमेत आधुनिक सीप, बजार व्यवस्थापनबारेको ज्ञान र लगानी गर्न सस्तो व्याजमा ऋणसमेत पाउने अवस्था सर्जना भएकाले ढाका व्यवसायबाट महिला उद्यमीले आम्दानी लिन सहज हुने फेदाप ढाका उत्पादन सामुदायिक संस्थाकी अध्यक्ष हरिमाया ढकालले बताउनुभयो ।
जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा हाल झण्डै पाँच हजार ढाका उद्यमीहरु रहेका छन् । जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजार बढी घरेलु ढाका उद्योगहरु सञ्चालनमा रहेको तथ्यांक छ ।
साभार – उज्यालो अनलाइनबाट ।