तेह्रथुम (गुफाबजार), पुस ११ – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमामा रहेको पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको तीनजुरे र मिल्के डाँडाबाट आकर्षक दृश्य देख्न पाइन्छ । गुराँस फुल्दा आकर्षक गुराँसको अवलोकनका लागि पुग्ने पर्यटक अरु बेला त्यति देखिँदैनन् । तर यो क्षेत्र बाह्रै महिना आकर्षक र रमणीय लाग्छ ।
तीन जिल्लाको संगमको रुपमा रहेको मेन्छ्यायेम डाँडाबाट पुर्वका दश बढी जिल्लाको भुभाग अवलोकन गर्न पाइन्छ । तीनजुरे डाँडा, मिल्के डाँडा, गुफापोखरी, मंगलबारे लगायतका क्षेत्रबाट देखिने मकालु, कञ्चनजंघासहितको हिमश्रृंखला र पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।
गुफाबजार, मंगलबारे, चौकी, जोरपोखरी, सुकेबजार र यहाँ आसपासको लेकाली क्षेत्रको जनजीवनले बाहिर बाट आइपुग्नेहरुका लागि थप आकर्षण हुन् । बिहानपख चौकीबाट माथिको सबै क्षेत्रमा तुसारोले सेताम्मे हुन्छ । यो वर्ष अहिलेसम्म हिउँ परेको छैन । हिउँ नपरेपनि बिहानीपखको तुषारो हिउँभन्दा कम लाग्दैन । यहाँका लेकाली जंगलमा पालिएका चौरी, याक सहितका गोठ र त्यहाँको दैनिकी, चिसोसँग जुध्दै स्थानीय बासिन्दाले गरेका उद्यम र बस्तीहरु रमाइला लाग्छन् ।
अहिले तेह्रथुमको बसन्तपुर हुँदै मिल्के नजिकैको जोरपोखरी बजारसम्म सवारी सुविधा छ । ताप्लेजुङबाट आउनेहरुले साँघुबाट सवारी चढेर गुफाबजार हुँदै बसन्तपुरसम्मको यात्रा गर्न पाउँछन् । बसन्तपुरदेखि दुई दिन लगाएर पैदल यात्रा गर्दैपनि यो क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको मौषम भने अचम्मको छ ।
आकाश खुल्दा वरिपरि हेर्न पाइन्छ । भने क्षणभरमै फेरि आकाशमा वादल छाउँछ । आकाश ढाकेको बादल हट्न फेरि धेरै बेर लाग्दैन । यो क्षेत्रका बस्तीहरुमा अहिले आलु रोप्नका लागि तयारी हुँदैछ । स्थानीय बासिन्दा आलु र मकै एकै ठाउँमा रोप्छन् । आलु जेठपछि खान पाइन्छ भने मकै असोज मसान्तमा मात्रै पाक्छ ।