बैतडी, ०७ पुस ।  फागुन महिना देखि अबरुद्ध अवस्थामा रहेको पाटन–पञ्चेश्वर सडकखण्ड निर्माण कार्य यही पुस महिनाको तेस्रो हप्ता बाटै पुनः सुचारु हुने भएको छ । पञ्चेश्वर गाँउपालिकाको कुँलाउका केही स्थानीयवासीले अवरोध गरेका कारण गत फागुनमा सडकको निर्माण कार्य अवरुद्ध भएको थियो । तल्लोसोराड वासीको वर्षौंदेखिको सडकको सपना पूरा हुन लागेका बेला केही स्थानीयवासीकै अवरोधले सडक निर्माण कार्य १० महिना देखि स्थगित भएपछि पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले सडग विभाग केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौँ, बैतडीका सांसद दामोदर भण्डारी र प्रदेशसभा ख का सांसद लिलाधर भट्टलाई बोधार्थ राखि सडक डिभिजन कार्यालय पाटन बैतडीमा लगातार लिखित र मौखिक दबाब सृजना गरेपछि अबको एक हप्ताभित्रै काम सुचारु गर्ने सहमतिमा सडक डिभिजन कार्यालय आएपछि निर्माण कार्य अघि बढाइने बताइएको छ ।

कुँलाउको तिचोरामा गत माघ महिनामै सडक पुगेपछि आ–आफ्नो वडाबाट लैजानुपर्ने भन्दै स्थानीयवासीबीच विवाद सुरु भएको थियो । केहीले सडक निर्माण गर्दा आफ्नो जग्गा मासिने भन्दै सडक निर्माणमा अवरोध पु¥याएको भएपनि अहिले ती अबरोधकर्ताले केही लचक्ता अपनाए र काम अगाडी बढाउन सहमति जनाएपछि पुनः सडक निर्माण कार्य तीब्रगतिले अगाडी बढाइने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो । १० महिनाको अवरोधपछि पुनः सडक निर्माणको कामले तीब्रता पाउँने भएपछि तल्लोस्वराडका स्थानीय हर्षित भएका छन् ।

वि.सं. २०३८ देखि निर्माण सुरु गरिएको पाटन–पञ्चेश्वर सडक ३६ वर्ष वितिसक्दा समेत हालसम्म पञ्चेश्वर गाँउपालिकाको कुँलाउसम्म मात्र पुगेको छ । कुल ६२ किलोमिटर सडकखण्डको हालसम्म ५३ किलोमिटर मात्रै खनिएको निर्माणको जिम्मा पाएको चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनीका ठेकेदार सुरेश चन्दलाई उद्दृत गर्दै कुँलाउका स्थानीय नरेश तिवारीले बताउनुभयो । पाटनदेखि ६२ किलोमिटरको दूरीमा रहेका पञ्चेश्वरलाई जोड्नका लागि पाटन–पञ्चेश्वर सडकको निर्माण कार्य सुरु गरिएको थियो । अब कुनै अवरोध नआए पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले शिलान्यास गरेको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

हालसम्म पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम भइरहेको छ ।  पाटन देखि स्याडीगाड सम्मको १३ किलोमीटर सडक कालोपत्रको काम संगै स्याडीगाड देखि मेलौली सम्मको थप १८ किलोमीटरलाई पनि कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्कोठगाड खोलामा पक्की पुलसमेत निर्माण भइसकेको छ ।

तपाईको प्रतिक्रिया